म्याग्दीका लेकमा ढकमक्क फुलेका लालीगुराँसको रौनक
म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ । कहिल्यै पनि वन जङ्गलमा नपुगेका युवायुवतीको लर्को अहिले जङ्गली क्षेत्रमा पुग्दा गाउँलेले अचम्म मानेका छन् भने युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख परेका छन् ।
म्याग्दीका ग्रामीण क्षेत्रका जङ्गलमा यस वर्ष विगतका वर्षभन्दा राम्रोसँग लालीगुराँस फुलेको छ । राताम्यै फुलेका लालीगुराँसको लालिमाले हरियो वनजङ्गलमा थप सुन्दरता प्रदान गरेको छ । त्यही सुन्दरतामा रमाउन र तस्वीर खिच्न युवकयुवती लालीगुराँस फुलेका जङ्गली क्षेत्रमा पुगेका छन् । म्याग्दीको पर्यटकीयस्थल टोड्के, बरङ्जाको झाँक्रीपानी, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)अन्तर्गतको प्रमुख आकर्षक मानिने घोडेपानीमा मात्रै होइन बेनी नगरपालिकाभित्रका गुराँसे पाखामा समेत तस्वीर खिच्न युवकयुवती पुगेका हुन् ।
माघ दोस्रो सातादेखिको हिमपात र त्यसलगत्तै वनजङ्गल नै ढाकिने गरी फुलेको लालीगुराँसमा रमाउन यस वर्ष सयौँ युवकयुवती जिल्लाका ग्रामीण क्षेत्रमा पुगेपछि गाउँको रौनक नै फेरिएको मङ्गला गाउँपालिका–३ झाँक्रीपानीका कोमल थापाले बताउनुभयो ।
समुद्री सतहदेखि एक हजार ५७० मिटरको उचाइमा अवस्थित झाँक्रीपानी, एक हजार ३२० मिटरको उचाइमा रहेको बेनी नगरपालिका–२ को ज्यामरुकोट, बेनी नगरपालिका– ३ भकिम्लीको तोराखेत क्षेत्र, बेनी नगरपालिका–१ रत्नेचौरको अर्जमलगायत जिल्लाको सदरमुकाम बेनीबजारबाट नजिकै रहेका जङ्गलमा राताम्यै लालीगुराँस फुलेको छ ।
यी सबै ठाउँबाट धौलागिरि, नीलगिरि, माछापुच्छ«े, गुर्जा, पुथालगायत सात वटा हिमाल देख्न सकिन्छ ।