यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली, भक्तपुरमा भीमसेन लिङ्ग दर्शन गर्न आउनेको भीड
- रमेश गिरी, भक्तपुर
“भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्युवाने म्वायक सो झायाला”
नेवारी भाकाको यो गीतको अर्थ “भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की” हो । भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा एक सातादेखि यो गीत गुञ्जिरहदाँ यहाँ भीमसेनको लिङ्ग दर्शन गर्न आउँनेको उत्तिकै भीड लागेको छ । होली पूर्णिमासम्म हरेक दिन बिहान यसैगरी यो गीत गुञ्जिने गरेको छ ।
भक्तपुरमा भीमसेन लिङ्ग दर्शन गर्न आउनेको भीडहोली पर्वका अवसरमा भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा बसेर भीमसेन गुठीका गायजुहरुले होलीको दिनसम्म यही गीत गाएर होलीको आगमनसँगै बिदाई गर्दछन् । होली पूर्णिमासम्म सात दिनसम्म भक्तपुरमा चल्ने फागु अर्थात होली पर्व हेर्न र सङ्गीतमा रमाउन स्थानीय सधैँ जम्मा भएर यसरी नै होलीको परम्परालाई धान्दै आएका छन् ।
फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई दुई जनाले काँधमा बोकेर इनाचो, वाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा घुमाउने परम्परा छ । यसरी टोलटोलमा ल्याएपछि भीमसेनको लिङ्गका रुपमा दर्शन गर्ने परम्परा छ । नेवारी परम्परा अनुसार यसलाई चीर स्वायगु भनिन्छ । चीरस्वायगू अर्थात् लिङ्ग घुमाएपछि यहाँ फागु शुरु हुने परम्परा रहेको छ ।
काठको यो लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिएको छ । भीमसेन र द्रौपदीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र यौनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिको रुपमा नभई सांस्कृतिक महत्वको रुपमा संरक्षण गर्दै आएको उनि बताउँछन् ।
बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेन पाटीमा झुण्ड्याउने परम्परा छ । झुण्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ भने यसलाई भीमसेन र द्रौपतीको यौन समागमको रुपमा लिइने संस्कृतकर्मी धौभडेल बताउँछन्।
साङ्केतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एशियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने भए पनि विशेषत भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको छ ।