नागरिक पोष्ट News


पढाईलाई उमेरले छेक्दैन : ८ कक्षाको परीक्षामा सहभागी ४८ वर्षीय शान्ति चौधरी

3.1K

लमही,  पढाइलाई उमेर र कामले पनि छेक्दैन । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी हुनुभएको कुराले यही भनाइलाई पुष्टि गर्छ ।

वडा नं ६ निवासी चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट यस वर्षको कक्षा ८ को परीक्षामा संलग्न हुनुभएको हो । कक्षा ५ मा पढ्दापढ्दै विसं २०५३ मा पढाइ छाड्नुभएका उहाँ यसै वर्ष कक्षा ८ मा भर्ना हुनुभएको हो ।

दाङको गढवा गाउँपालिका उपाध्यक्ष शान्ती चौधरीले ४८ वर्षमा कक्षा ८ को परीक्षा दिँदै । गढवा ७ का जनत उच्च माध्याममिक विद्यालयबाट उहाँले परीक्षा दिँदै हुनुहुन्छ । 

चार भाइ र चार बहिनीले उच्च शिक्षा अध्ययन गरेपनि आफूले बीचमै पढाइ छोडेको उहाँको भनाइ थियो । “जेठो भाइ मेटमनी चौधरी सांसद हुनुभएको छ”, उहाँले भन्नुभयो । जनप्रतिनिधि भइसकेपछि पढाइको महत्व बुझेर निरन्तरता दिन लागेको उहाँले सुनाउनुभयो ।

उहाँका एक छोरा र दुई छोरीले पनि उच्च शिक्षा अध्ययन गरिरहनुभएको छ । “जेठो छोेराले सब इञ्जिनीयर पढ्छ”, उहाँले भन्नुभयो, “जेठी छोरीले कम्प्युटरमा स्नातक गर्दैछ भने कान्छी छोरीले ल्याब पढिरहेकी छ ।”

उपाध्यक्ष भएर न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा पढाइ नहुँदा धेरै कमजोर बनाउने महसुस गरेकोले यसलाई निरन्तरता दिएको उपाध्यक्ष चौधरीले बताउनुभयो । “राजनीति गर्दा पनि शिक्षा महत्वपूर्ण हुने रहेछ”, उहाँले भन्नुभयो, “त्यसैले राजनीतिक हिसाबले पनि अगाडि बढ्न पढाइलाई निरन्तरता दिएकी हुँ ।”

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले पढेको सुनेपछि आफूलाई पनि पढ्नुपर्छ भन्ने थप भावना पैदा भएको उहाँको भनाइ थियो ।

धेरै ऐन, नियम, कानून, राजनीतिक दलका विभिन्न पुस्तक तथा व्यवहारिक ज्ञान सिक्नुभएकी उहाँलाई गणित, विज्ञान र अङ्ग्रेजी केही अप्ठ्यारो लागेको छ ।

Must View