नागरिक पोष्ट News


सवारी नियम कडा बन्दै, अबदेखि लेन मिच्नेदेखि हर्न बजाउनेसम्मको लाइसेन्स प्वाल पर्ने

2.8K

सवारी चलाउँदा सडक नियम उल्लंघन ब्यापक बढेको र त्यसले दुर्घटना समेत निम्त्याए पछि सरकार अझ बढी कडा नियम बनाएर ब्यवस्थित गर्न लागेको छ । सडकमा सवारी नियम उल्लंघन नियन्त्रण गर्न लेन मिच्नेदेखि हर्न बजाउनेसम्मको लाइसेन्स प्वाल पार्ने कानुन बनाउन लागेको हो ।

कानुन बनाउन संसदको विकास तथा प्रविधि समितिले दिएको निर्देशन अनुसार सरोकारवालाहरु छलफलमा जुटेका छन् । यो कानुन तत्काल कार्यान्वयन गर्ने भन्दा पनि चुस्त सडक पूर्वाधार बनिसकेपछि कार्यान्वयनमा ल्याइने छ ।

काठमाडौंका सडकमा हर्न बजाउने र लेन मिच्ने ब्यापक लापरवाही छ । जसका कारण दुर्घटना समेत बढेको छ । महाशाखाले ट्राफिक व्यवस्थापन मजबुद बनाउने उद्देश्यसहित जुनसकै नियम उल्लंघन गर्ने चालकको लाईसेन्स प्वाल पार्ने नियम बनाउन लागेको हो । हाल, प्रहरीले मादक पदार्थ सेवनगरी सवारी चलाउने चालकको मात्रै लाइसेन्स प्वाल पार्ने गरेको छ । महाशाखाका एसएसपी बसन्त पन्तले सडकको सुधारसँगै सबै सडक पुर्वाधारको व्यवस्थापन पश्चात उक्त नियम लागु गर्ने जानकारी दिए ।

हर्न बजाउने, लेन क्रश गर्ने, सवारी चलाउँदा मोबाइल प्रयोग गर्ने, जथाभाबी पार्किङ गर्नेलगायतका गतिविधी गर्नेहरु कारवाहीको भागिदार हुनेछन् । सुरुमा जरिवाना गर्ने र त्यस पछि पनि सुधार नआए लाइसेन्स प्वाल पार्ने सम्मको कानुन सरकारले ल्याउन लागेको हो । पाँच पटकसम्म लगातार नियम उल्लंघन गरे चालकको लाइसेन्स नै प्वाल पार्ने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।

Must View