फागु पूर्णीमाको नालिबेली : प्रेम दिवसदेखि तिरसम्म, भारतलगायत अन्य देशमा पनि होली मनाइन्छ
काठमाडौं। फागु अर्थात् होली पर्व काठमाण्डौ उपत्यका लगायतका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइन्छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै मनाइने यो चाड अबीर, पानी र थरिथरिका रङहरू दलेर होली पर्व मनाईंदैछ । फागुन शुक्ल पूर्णिमाका दिन फागु पर्व मनाउने परम्परा छ । बसन्त ऋतुको आगमनका रुपमा पनि यो पर्व मनाउने गरिएको छ । यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाने र विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै समूह समूह बनाएर बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्ने चलन पनि छ ।
होलीको सांस्कृतिक महत्व होलीको सांस्कृतिक महत्व 'मधु' अर्थात 'मदन' सँग जोडिएको छ । संस्कृत, नेपाली तथा हिन्दी साहित्यमा यो मदनोत्सवलाई वसन्त ऋतुको प्रेम(आख्यान मान्ने गरिएको छ । वसन्त अर्थात् शीत तथा ग्रीष्म ऋतुको सन्धि(वेला अर्थात एक ऋतुको प्रस्थान तथा अर्काे ऋतुको आगमनको बेलाको रुपमा यो पर्व मान्ने गरिउको छ । यो वेला एक यस्तो प्राकृतिक परिवेश रच्ने गरिउको छ । जुन् मधुमय हुनेछ । मधु शब्द ऋग्वेदमा एकदमै बढी उल्लेख गर्ने गरिएको छ । किनकी यसको अर्थ हुन्छ सञ्चय गरेर राखिएको मिठास।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीत कालमा शरीरमा उत्पन्न कफको विनाश हुने मान्यता छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।
कहाँ कसरी ? फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटलीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ ।
यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।
थाकालीको फागु: यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोशाकमा सजिएर स–परिवार भेला भई तीर हान्ने प्रतियोगिता गर्छन् । यसलाई तोरनल्ह भनिन्छ, जुन आजदेखि शुरु भएको छ । फागु पूर्णीमालाई थकाली भाषामा तोरनल्ह भनिन्छ । थकालीहरुले यो पर्व एक सातासम्म विभिन्न कार्यक्रम गरेर मनाउने गर्छन् । कामको सिलसिलामा बिदेश गएका थकालीहरु समेत यो पर्वमा घर फर्कने गर्छन् । प्रकृति पूजक, सिवेभूमे र पितृपूजक मान्ने थाकाली समुदायले यो पर्वमासम्पूर्ण काम थाँति राखेर मीठो खाने, नाच्ने, गाउने र रमाउने गर्छन् । तोरनल्हमा तीन दिनसम्म बिहानै उठेर नुहाँई धुवाई चोखोनीतो भएर पितृहरुलाई जाँड, फलफूल, अन्नलगायतका बस्तुहरु चढाउने चलन छ ।
यो पर्वमा पुरुषहरु शिकार खेल्छन् भने महिलाहरु कई खेल खेल्छन् । यस पर्वमा धनुषकाणको पूजा गरेर तीर हान्ने परम्परा छ । थकाली सेवा समाजले राजधानीमा थकालीहरुको भेला गराई यो पर्व मनाउँछन् । कास्की, मुस्ताङ, रुपन्देही, चितवन लगायतका जिल्लामा बसोबास गर्ने थकालीहरुले समेत मेलमिलाप र उन्नतीको कामना गर्दे यो पर्व मनाउँदै आएका छन् ।
नेवार मुदायको प्रेम दिवस: नेवार समुदायमा भने यो पर्वलाई प्रेम दिवसका रुपमा मनाउँछन । यस दिन युवा युवतीहरुले एकअर्कालाई मन पराएको स्वीकार्ने दिनका रुपमा मनाउँछन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा पकाएर खाई रमाइलो गरिन्छ । भक्तपुरमा भने, व्यापारका देवताका रुपमा भिमसेनलाई पुज्दै भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको प्रसिद्ध भिमसेन मन्दिरको पाटीमा बसेर नेवारहरु नेवारी भाषाको गीत गुञ्जाउँदै पर्व मनाउँछन्।
भिमसेन मन्दिरमा काठबाट बनेको भिमसेनको लिंग र द्रौपदीको योनीको रुपमा रातो कपडालाई प्रतीक मानेर मन्दिरमा झूण्ड्याएर यौन समागमको रुपमा एकसातासम्म प्रर्दशनमा राख्ने गरिन्छ । चिर स्वायगू अथार्त लिंग घुमाएपछि फागु सुरु हुने परम्परा रहेको संस्कृतिविद ओम धौभडेलको भनाइ छ । चिर ठड्याएपछि यहाँका नेवार समुदायमा भिमसेन मन्दिरमा गई गुठी भोज खाने चलन छ । घुमाएको लिंगलाई स्थानीय बासिन्दाले पूजा गर्ने, ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास गरिन्छ। साथै पूर्णिमाका दिन उक्त लिंगलाई बोकेर ब्रह्मायणी नदीमा लगेर धोएमा सन्तानमा छोरा जन्मिने जनविश्वास पनि छ । यहि विश्वासका आधारमा लिंग बोक्न चाहनेकोे प्रतिष्पर्धा पनि चल्नेगर्छ ।
बजार घुमाएपछि भिमसेन मन्दिरमा काठको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा झुण्ड्याईन्छ । भिमसेन र द्रौपदीको यौन समागमलाई विकृतिको रुपमा नभई साँस्कृतिक महत्व मानेर संरक्षण गरिदै आएको सँस्कृतिविद धौभडेल बताए।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ।
चीरको प्रसंगः कृष्ण र गोपिनीहरुसंग पनि यो पर्व जोडिएको छ । गोपिनीहरुले निर्वस्त्र भई पोखरीमा नुहाउँदा कपडा लगाइ मात्र नुहाउने प्रतिबद्धता जाहेर गराएको सन्र्दभसंग चीर ठडयाउने प्रसंग जोडिएको छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुडिखेलमा लगी जलाउछन् । यो चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ ।
रंगहरुको पर्व होली गएको बिहीबार हनुमानढोकामा चीर ठड्याइएसँगै औपचारिक रुपमा सुरु भएको हो । फाल्गुन शुक्ल अष्टमीका दिन काठमाडौंको हनुमानढोकामा ३२ हात अग्लो बाँसमा मयलको हांगा साथै विभिन्न रंगका रंगीबिरंगी कपडा राखेर ठड्याइएसंगै देशभर होली पर्व सुरु भएको मानिन्छ ।
होली सुरु भएको भन्दै मयलको रुखको मूल हांगा चढाउने परम्परा छ । बाँकी हांगा त्यहाबाट हनुमानढोका ल्याएर चीर ठडयाउने गरिन्छ । हनुमानढोकामा ठड्याइएको चीर पुर्णिमाका दिनमा राति ९ बजेर २३ मिनेटमा ढालिनेछ । हनुमानढोकामा ढालिएको चीरलाई आज राति नै दोहन गरेपछि यसबर्षको उपत्यकाको होली पर्व समापन हुन्छ ।