नागरिक पोष्ट News


'नो इन्भेष्टिगेसन सर्कुलर'पछि प्रचण्ड झन् शक्तिशाली

2.6K

अमेरिका उडेका पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ । अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न भनिएको छ । 

जनयुद्ध पछि पक्राउ पर्ने डरले पटक पटक अमेरिका जान डराएका प्रचण्ड यस पटक भने निश्चिन्त भएर श्रीमती सीता दाहालको उपचारको लागि अमेरिका गएका थिए । उनी गएकै दिन अमेरिकाको गुप्तचर संस्थामा उनी विरुद्ध उजुरी परेको थियो । उजुरीमा प्रचण्डलाई परिचित आतंकवादी समेत भनिएको छ । उनले जनयुद्धको समयमा १७ हजार नेपालीको ज्यान लिएको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकोले उनलाई पक्राउ गरी कारबाही गर्नको लागि आग्रह गरिएको छ । 

यस्तो उजुरी परेपनि अमेरिकामा उनी पक्राउ पर्ने सम्भावना भने कम देखिएको छ । सामान्य अवस्थामा थियो भने प्रचण्ड पक्राउ पर्ने सम्भावना थियो । तर, प्रचण्डले यस पटक भने नेपाल स्थित अमेरिकी दूतावासबाट पूरा विश्वास लिएर गएकोले उनी यस पटक अमेरिकामा पक्राउ पर्ने सम्भावना कम रहेको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ । 

स्रोतका अनुसार प्रचण्ड अमेरिका उड्नु अघि सानेपा स्थित एक होटलमा प्रचण्ड र अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको वार्तामा बेरीले दूतावासले नो इन्भेष्टिगेसन सर्कुलर जारी गरेपछि अमेरिकामा पक्राउ पर्ने सम्भावना नहुने स्पष्ट पारेका थिए । सोही वार्ता पछि प्रचण्डकालागि राजदूतावासले सो सर्कुलर जारी गरेको थियो । 

सो सर्कुलर अमेरिकाको गुप्तचर एजेन्सी, प्रहरी प्रशासन, अध्यागमन लगायत सबै सम्बन्धित निकायमा पठाईन्छ । सो सर्कुलर निश्चित समयको लागि हुन्छ र सो समय सकिएपछि भने ती निकायहरुले सो व्यक्तिलाई समाउन पनि सक्छ । त्यसैले प्रचण्ड यस पटक उजुरी परेपनि अमेरिकामा पक्राउ पर्ने सम्भावना नरहेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको हो । 

Must View