नागरिक पोष्ट News


यसकारण सीके राउतसँग सुटुक्क सहमति गरिएको हो - प्रधानमन्त्रीको खुलासा

2.3K

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनबादी एजेण्डा बोकेर हिँडेका सीके राउतसँग सुटुक्क सहमति गर्नुको कारण खुलाएका छन्। सरकार नियन्त्रित नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको जनतासँग प्रधानमन्त्री नामको कार्यक्रममा ओलीले सीकेसँगको ११ बुँदे सहमतिको आफ्नै पाराले ब्याख्या गर्ने क्रममा सीकेसँग सुटुक्क सहमति गर्नु पर्नाको कारण खुलाएका हुन्।

अन्तरवार्ताका क्रममा उनले भने, जहाँ छलफल गर्नुपर्ने हो त्यहाँ गरिएको छ र जहाँ कुरा गर्दा भाँडिने अवस्था हुन्थ्यो त्यहाँ कुरा गरिएन। “निहँ खोज्ने मान्छेहरुको कुरा हो। पार्टीभित्र र बाहिर बृहद सहमतिको कुरा गर्नुभनेको। जो मान्छे यसको बिरोध गरेर हिँडेको छ, उल्लेख छलफल भएन पार्टीमा भन्छ भने उसले छलफलका नाउँमा बिथोल्न खोज्थ्यो। 

भाँड्न खोज्थ्यो भन्ने कुरा त देखिन्छ नि त। जो बिरोध उछालेर हिँडिराख्या छ नि ऊ माग गरिराख्या छ छलफल हुनुपथ्र्यो भनेर”। त्यो भनेको हुँन हुँदैन्थ्यो भन्ने न हो, उनले थपेः “यो बुझेर नै, जहाँ आवश्यक छ, त्याँ छलफल गरियो, जसको क्षेत्राधिकार हो त्यहाँ छलफल गरियो, जसको होइन र आवश्यक छैन, त्यहाँ गरिएन, जहाँ बिर्गाछ बिगार्ने ठाउँमा गरिएन। जहाँ सपार्नु छ, त्यहाँ त कुरा भएर नै त निश्कर्षमा पुग्यो नि, यत्ति कै त निश्कर्षमा पुगेन”। 

पहाडमा टर्च लाइट बालेको कथा हाल्दै सीकेसँगको सम्झौता अथ्र्याउने प्रयास गरेका ओलीले, आम जनताले यसकामलाई अत्यन्तै खुशीका साथ प्रशन्नता पूर्वक, ठूलो उपलब्धिका रुपमा लिएको जिकिर पनि गरे। यो सम्झौता सबैले एकैचोटी नबुझ्ने र बुझ्न समय लाग्ने उनको भनाइ छ। 

सम्झौताको बिरोधमा उत्रनेहरुलाई उनले मुलुकमा पृथकताबादको अस्तित्व भजाएर जीविका चलाउनेहरुको पेटमा लात हानियो पनि भने। उनले थपे, “केहीको त स्वार्थमा धक्का पर्‍यो होला, धक्का परेपछि छटपटाए, टेलिभिजन तिर कुदे, क्लब तिर कुदे, कसैले सानातिना गच्छे अनुसारका जुलुस निकाले। गाली गरे। यो अनौठो कुरा होइन”। कसैको आय आम्दानी रोजगारीमा धक्का पर्न गएको भए, म के भन्न सक्छु र, उनले जिज्ञासा राखे।

सीके राउतसँग गरिएको सम्झौताको बुँदा नम्बर २ को विषय (नेपालको संबिधानमा प्रयुक्त जनतामा निहित सार्वभौत अधिकारको प्रयोग गर्दै तराई–मधेश लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं) मा बहस गर्नु भनेको लोकतन्त्र सम्बन्धी सामान्य ज्ञान समेत नभएको टिप्पणी गरे।

यो विषयमा, सरकारको हरेक कदममा बिरोध गर्नेहरुको विवेक बोलेको भन्दा स्वार्थ चिच्याइरहेको आरोप पनि उनले लगाए। सीके राउतसँगको सम्झौताको विषयमा पार्टीभित्र कुनै छलफल नगरिएको भन्दै बरिष्ठ नेता माधव नेपाल, भीम रावल, घनश्याम भुषाल लगायतका नेताहरु तीव्र असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्रीको यो अभिव्यक्तिले स्पष्ट अर्थ दिन्छ, यदि पार्टीभित्र छलफल गरिएको थियो भने, यो सम्झौता हुने थिएन, उनकै भाषामा ‘भाँडिने थियो’।

Must View