नागरिक पोष्ट News


२५ वर्षदेखि सेवारत ‘ओके बाजे’ लाई पाल्पालीद्वारा अभिनन्दन

2.7K

 पूर्वी पाल्पाको ग्रामिण वस्तीमा पच्चीस वर्षदेखि सेवारत जापानी नागरिक काजुमासा काकिमी ‘ओके बाजे’लाई बिहिबार तानसेनमा अभिनन्दन गरियो । उनलाई आज तानसेनमा एक समारोहका अभिनन्दन गरिएको हो । ओकेबाजेले वि.सं. २०४९ सालदेखि पाल्पामा सामाजिक, शैक्षिक तथा अन्य सुधारात्मक क्षेत्रमा सक्रियताका साथ योगदान पुर्‍याएकोले उनलाई अभिनन्दन गरिएको आयोजकले जनाएको छ । यसअघि दुईपटक अभिनन्दित भएका ओकेबाजेको यो तेस्रोपटको अभिनन्दन हो । आकेबाजेलाई उनकै नामबाट गठित नागरिक अभिनन्दन मूल समारोह समिति पाल्पाले अभिनन्दन गरेको हो ।

ओकेबाजेले पाल्पाको स्वास्थ्य, शिक्षा, संचार, खेलकुद, स्वरोजगार लगायत सीपमूलक तालिम तथा जिल्लाको शैक्षिक क्षेत्रमा पूर्वाधार तयार गर्न उल्लेख्य योगदान गरेका छन् । 

‘ओके बाजेले पाल्पाका बिभिन्न बिद्यालयहरूको भवन निर्माण, क्लवहरूको भवन निर्माणका अलावा गरिव तथा बिपन्न समुदायका बालबालिकाहरूको शैक्षिक बिकास र जिल्लाको स्वास्थ्य क्षेत्रको बिकासका पनि आर्थिक सहयोग गर्दै आएका छन् ।

 

  • सीता डोटेल/Hamrakura.com
को हुन् ओके बाजे ?

सन् १९३९ मा जापानको टोकियोमा जन्मिई बासोदा बिश्वबिद्यालयबाट स्नातक तह उत्तीर्ण गरि टोकियोमै एक उच्च माविमा २३ वर्ष अध्यापन गराई अवकासपछि सन् १९९३ बाट पाल्पाको जल्पा गाविसस्थित ढोलीमारा गाउँमा आएर पाल लगाएर बस्न थालेका थिए । गरिवी, अशिक्षा र चेतनास्तरको कमीका कारण गाउँमा अधिकांश बालबालिकाहरू बिद्यालय नजाने, सरसफाईमा खासै ध्यान नदिने गरेको देखेपछि ओकेबाजीले यही बसेर समाजसेवा गर्दै आएका हुन् । उनको जापानी नाम काजुमासा काकिमी भएपनि उनले जनताको दुःखका बेला जस्तो सुकै प्रस्ताव राखेपनि ओके ओके भन्ने भएकोले पाल्पालीहरूले नै उनको नेपाली नाम ओके बाजे राखिदिएका हुन् । ओके बाजे जापानबाट अंग्रेजी विषयका सेवानिवृत्त शिक्षक हुन् । आफ्नो जापानबाट जागिरको पेन्सनबाट आउने सवै रकम ओकेबाजेले नागरिकको सेवामा खर्चिने गरेका छन् ।

बिहिबार तानसेनमा अभिनन्दन गर्नुअगाडि गरिएको पत्रकार सम्मेलनमा अभिनन्दन मूल समारोहका संयोजक सुन्दर श्रेष्ठले जनाए अनुसार ओकेबाजेले जापानमा रहेको आफ्नो घरसमेत बेचेर पाल्पाली शैक्षिक क्षेत्रको सेवामा रकम खर्चिएका छन् । श्रेष्ठका अनुसार ओकेबाजेले पाल्पामा एक अर्ब बढी खर्च गरिसकेका छन् ।

उनकै सहयोगमा अहिले जिल्लाका २ सय बढी बिद्यालयहरूमा पक्की भवन बनेका छन् । सयौं बालक्लवहरूले क्लवको भवन बनाई रचनात्मक काम गर्दै आएका छन् भने पढाईप्रति रुचि भएर पनि आर्थिक अभावले पढ्न नपाएका बालबालिकाहरूले समेत ओकेबाजीकै सहयोगमा उच्च शिक्षा हासिल गरेका छन् । त्यस्तै गरिव तथा विपन्न समुदायका ब्यक्तिहरूले सहज रूपमा स्वास्थ्य सुविधा लिएका छन् । सुरुसुरुमा ओके बाजे गाउँमा आएर बस्दा जासुस आयो भनेर शंका गर्नेहरूले समेत यतिबेला ओकेबाजीलाई भगवान सावित मान्दै आएका छन् ।

उनले जापानमा रहेका सामाजिक तथा युवा क्लवहरूले थोरै थोरै गरि संकलन गरेको रकम नेपाल ल्याएर समाजसेवाको क्षेत्रमा लगानी गर्दै आएका छन् । उनको अभिनन्दन कार्यक्रममा जापानबाट समेत ७० बढी जापानी नागरिकहरू समेत सहभागी थिए । ओकेबाजेले पाल्पामा कृषि, सडक, सिंचाइ, खानेपानीमा समेत सहयोग गर्दै आएका छन् । तानसेनमा भएको अभिनन्दन समारोहमा जापानी र नेपाली विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुती समेत राखेका थिए ।

Must View