नागरिक पोष्ट News


फागुन ३० गते विप्लवको आमहडतालसहित नेपाल बन्दको घोषणा

2.6K

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता, कार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा, कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, कपिलवस्तु, कालीकोटलगायत जिल्लामा भएको अप्रेसनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको र सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् । विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘केपी—प्रचण्ड सरकारले केही समयदेखि देशभरि फासिस्ट दमन अभियान तीव्र बनाएको छ ।

हाम्रो पार्टी  दमनको घोर भत्र्सना गर्दछ । साथै घाइते कमरेड दुर्गा रोकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यी सम्पूर्ण राज्यआतङ्क, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टा मुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’ महासचिव विप्लवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सबैलाई थाहा छ– हाम्रो पार्टीले दलाल पुँजीवादी सत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध सङ्घर्ष गरिरहेको छ ।

हामी स्पष्ट गर्न चाहन्छौँ– उनीहरूले जस्तोसुकै दमन गरे पनि हाम्रो पार्टीको वैज्ञानिक समाजवादप्रतिको निष्ठा, श्रमिक जनताको मुक्ति, देशको स्वाधीनताका लागि गरिने सङ्घर्षमा केही फरक पर्नेवाला छैन, न त उनीहरूको दमन नै सफल हुनेछ बरु क्रान्तिकारीहरूलाई अरू दृढ र समर्पित हुन प्रेरित गर्नेछ । अन्ततः दमन र विद्रोहको इतिहासमा केपी—प्रचण्ड होइन, नेपाली श्रमिक जनता नै विजयी हुनेछन् । आउनुहोस्, सामाजिक दलाल पुँजीवादी सरकारको फासिवादी दमनको चौतर्फी सशक्त प्रतिरोध गरौँ १ फागुन ३० गते नेपाल बन्द गरौँ ।

Must View