बृद्धाश्रममा आमाहरुको आश: साँझ पर्दा पनि आफन्त लिन आउँछन् भनेर बाटो हेरिरहेकै हुन्छन्
काठमाडौं। माया, ममता अगाध स्नेहका पर्याय नारी, आमा अर्थात आधा आकाश। सन्तान प्रति सदैब निश्वार्थ प्रेमभाव दर्शाउन सक्ने एकमात्र व्यक्ति आमा जसको प्रेम संसारमा कसैसँग तुलना गर्न सकिँदैन। तर उही आमाको कोखबाट जन्मि एका सन्तानहरुले समयको अन्तरालसँगै उमेर बढ्दै गएपछि आफ्नै आमाप्रति गर्ने व्यबहार कति फरक पर्ने रहेछ ।
उमेरले ६० कट्न थाल्यो की बृद्धा श्रममा पुर्याएर थन्क्याउने सोच्न थालछन् आफ्नै सन्तानहरु । खुसीको कुरा गरौँ जहाँ शरीर होस् तर मन अन्तै कतै डुलि रहन्छ, मेरो आफन्त कोही लिन आउँछ की भन्ने मीठो आशामा । झ्याल, छत र बारदलीबाट चिहाएर हेरि रहन्छन् आँखाहरु तर अहँ हेर्दाहेर्दै आखाँ थाकि सक्दा पनि कोही आफन्तको अत्तोपत्तो हुँदैन । साझँ छिप्पिँदै जान्छ, आशाहरु धमिलिँदै जान्छन् यसरी नै चल्छ शास आशैआशाको परिधिमा ।
गोंगबु स्थित हिमालयन बृद्धाश्रम केन्द्रमा पुग्दा । बृद्धा श्रमकी अध्यक्ष सरला पन्थीलाई फोन गरेपछि गेट खुल्यो ।
सुरुमा आश्रममा ल्याइने आमा बुबाहरु स्वस्थ्य भएपनि बिस्तारै आश्रममा बस्दै जाँदा मानसिक सन्तुलन गुम्ने समस्या धेरैमा देखिन्छ, पन्थीले भनिन् । नाम नानुमैयाँ बताउने उनलाई थर सोध्दा जबाफ भनिन् मगर्नी नी । घर याद छ ? भन्ने प्रश्नको जबाफमा नानुमैयाँले भनिन् मगर्नी हो घर याद हुन्न त ? गोर्खा हो घर । गोरखा घर बताउने नानुमैयाँ मगर हिमालय बृद्धाश्रममा धेरै समय अगाडी देखि नै बस्दै आएकी हुन् ।
गाउँमा भदैनी र बुहारीसँग बस्ने बताउने उनी बाटो हेर्दै भन्दै थिइन्, ‘आज भदैनी र बुहारी लिन आउने भनेको खोइ आइ पुगेका छैनन् ।’ काठमाडौं भन्दै ल्याएर छडिदिए, लिन आउँछु भनेर लिन आएनन् । भनिन्छ नि, शास रहेसम्म आश रहन्छ, उनमा वर्षौ देखिको आश ताजै झै थियो । आफन्त लिन आउँछन् भनेर बाटो हेरिरहेकै थिइन् । उनले आफू सधै बृद्धाश्रममा नै बस्नुपर्छ भन्ने सोचेकै थिइनन् ।
आफन्त लिन आउँछन् र घर जान्छु भन्ने आशमा पर्खिरहेकी थिइन् । बृद्धाश्रमको एउटा कक्षमा थुप्रै खाली बेडहरु राखिएका थिए । त्यसैको नजिकै एउटा बेडमा लगभग ९० वर्ष जति उमेरकी आमा सिसाको झ्याल नजिकै बसिरहेकी थिइन् । ढोका बज्यो, आमाका आँखा पुलुक्क ढोका तिर गए । शिवलक्ष्मी खरेल नाम बताउने आमालाई घर कहाँ हो भनेर सोध्दा जबाफमा भनिन्, घर भए यहाँ किन आउनु ? फेरि थपिन् जन्मेको चैँ प्लान्चोक भगवतिमा ।
उनका श्रीमान् उनी ३० वर्षकी हुँदा बिते। श्रीमान् बितेपछि गाउँमा बस्दै आएकी शिवलक्ष्मीले पछि बिहे गरिनन्। उनका आफ्नै सन्तान त कोही पनि छैनन् । योभन्दा अगाडी आफन्तकोमा बस्दै आएको बताउने उनले भनिन्, ‘रोजिना डाक्टरका आमाबुबाले पकाएर खान दिन्थे ।’ गोंगबुको नजिकै आफन्तकैमा बस्दै आएकी उनी लडेर अशक्त भएपछि हिमालय बृद्धाश्रममा पुगिन् ।
‘समयमा औषधि खानुपर्छ यहीँ बस्नु भनेर छाडेर गए, २÷३ दिनमा नै लिन आउँछु भनेका थिए, १२ दिनभन्दा बढी भइसक्यो कोही आउँदैनन् ।’ उनी अझै बाटो हेर्दै थिइन्। मलाई त यहाँ बस्ने रहर छैन, बाध्यताले बस्नुपरेको छ, लिन आउँछु भनेर खोइ लिन नै आउँदैनन्, भावुक हुँदै भनिन् । कतिवर्ष हुनुभयो भन्ने प्रश्नको जबाफमा भनिन्, ‘उमेर बताउने सबै स्वर्ग पुगिसके आफूलाई थाहै छैन, ८४ वर्षको भएपछि ८४ पूजा गरेको थियो धेरै वर्ष भइसक्यो ।’
बेडमा बसिरहेकी शिवलक्ष्मीको नजिकै बटुकामा थोरै फुक्का चिउरा राखिएको थियो, झोलामा केही बिस्कुटहरु, हातमा रित्तो गिलास । खाजा खानुभयो आमा भनेर सोध्दा, बटुका तिर देखाएर भनिन्, ‘यस्ता चिउरा राखि दिएका छन्, निलिँदैन, गिलास देखाइन्, कालो चिया दिएका थिए खाँए, गिलास पखाल्दिने मान्छे पनि छैनन् आउलान् नी एक छिनमा अनि दिन्छु ।’ शिवलक्ष्मी आश्रममा आउनु अगाडी लडेर उनको खुट्टाको हड्डी फुटेर अप्रेसन गरेको थियो ।
दिनभरि बृद्धाश्रमको बेडमा नै पल्टिरहनुपर्दा निकै दिक्क लाग्छ उनलाई। आश्रममा भेटिएका प्रायजसो बृद्धबृद्धाहरु आश्रम भित्र खुसी भने, देखिँदैनन् पीजडाको चरी जस्तै भएर उनीहरु आश्रममा जीउन संघर्ष गरिरहेका छन्। आफ्नै आमाबुबाहरुको सेवा गर्न असमर्थ रहेका लाखौँ छोराछोरीका भिडमा एक महान् छोरी हिमालय बृद्धाश्रमकी सञ्चालिका लमजुङकी सरला पन्थी, जसले हजारौँको संख्यामा बृद्ध आमाबुबाहरुको सेवा गरिरहेकी छिन् ।
उनी भन्छिन्, ‘लमजुङबाट काठमाडौं आउँदा सडकमा बृद्धबृद्धाहरु अलपत्र परिरहेको हेरिरहन मनले मानेन आश्रम खोलेर सेवा गर्ने भावना पलायो, यस्तै सेवा गर्न पाउँदा निकै खुसी लाग्छ।’ उनले थपिन्,आफूलाई धर्ती देखाउने आमाबुबालाई सेवा गर्नु छोराछोरी को कर्तब्य हो, तर जो आफ्नै सन्तानबाट टाढिएर बाँच्न बाध्य हुनुहुन्छ उहाँहरुसँग नजिकिएपनि आफ्नै छोरी जस्तै माया गर्न त नसकिएला तर धेरै मायालाग्छ । ०६२÷०६३ सालको आन्दोलन पछि सञ्चालनमा ल्याएको हिमालय बृद्धाश्रमले थुप्रै असहाय आमा बुबाहरु को पालनपोषण र रेखदेख गर्दै आइरहेको छ ।