मान्छेको जिन्दगी ! एउटा दर्दनाक पीडा भित्रको मर्मस्पर्शी कथा सुन्दा आँखाबाट आँसु नै झर्छ
काभ्रे भकुण्डेबेसीका बसन्त र सिन्धुपाल्चोक मुडेकी चेलीको भेट १५ वर्षअघि काठमाडौंमै भएको थियो । त्यतिबेला बसन्त लोकन्थलीमा मार्केटिङ कम्पनीको गाडी चलाउँथे, चेली जडिबुटीमा दाइको होटलमा खाना पकाउँथिन् । होटलमा जाँदाआउँदा भएको चिनजान प्रेममा बदलियो । त्यसको दुई वर्षमा बिहे गरे । उनीहरुको बिहे घर परिवारलाई चित्त बुझेन । अहिलेसम्म पनि राम्ररी स्वीकारेका छैनन् ।
परिवारले नस्वीकारे पनि उनीहरुले आफ्नो संसार बसाईसकेका थिए । आठ वर्षकी छोरी समेत छन् उनीहरुको । सानो घर बनाउने र छोरीको भविष्य पनि उज्जवल बनाउने सपना बोकेर विदेशीएका बशन्तको सबै सपना चकनाचुर भयो । चेलीलाई मोटरसाइकलले ठक्कर दिएर घाइते बनाए पछि उनी विदेशवाट फर्केर आए । अहिले भएको सम्पत्ती पनि सकियो ।
२०७३ साल चैत २५ गते मलेसियाबाट फर्केका उनी सिकै नर्भिक अस्पतालमा अचेत अवस्थामा रहेकी श्रीमतीलाई भेट्न पुगे । नर्भिक अस्पतालमा ४५ दिनको उपचारपछि चेलीलाई ट्रमा सेन्टरमा ल्याइएको थियो । ट्रमामा ६ महिना आईसीयुमा राखेपछि ५१४ नम्बर बेडमा सारिएको हो ।
उनको उपचारमा संलग्न डाक्टरले ‘मेरुदण्डको दुईवटा नशा च्यापिएको छ’ भनेको बसन्तले बुझेका छन् ।श्रीमती चेलीको उपचारमा बसन्तले कुनै कसर छाडेका छैनन् । तर, एकातिर स्वास्थ्यमा सुधार भएको छैन भने अर्कोतिर आर्थिक अभावले पनि थिच्दै लगेको छ ।दिनहुँ बढ्दै गएको खर्च र कमाई शून्य उनले उपाय निकाले, अस्पतालमै सेक्युरिटी गार्डको काम गर्ने । त्यसो गरे ड्युटीको समय नजिकै हुने भइयो र ड्युटी सकेपछि सँगै ।
‘एक टाइम सेक्युरिटीमा बस्छु र अर्को टाइम श्रीमतीलाई हेर्छु भन्ने सोचेको थिएँ तर, कम्पनीले त्यो सम्भावना पनि मेटाइदियो,’ नमजा मानेर उनले सुनाए । कम्पनीले डबल ड्युटी गर्न भनेपछि बसन्तले त्यसो गर्न नसक्ने बताए ।अहिले आयल निगमका एक कर्मचारीको कार चलाउने काम गरिरहेका छन् । ‘बिहान ९ बजेतिर गएर कहिले ५ बजे कहिले ८ बजे फर्कन्छु र चेलीको रेखदेख गर्छु,’ बसन्तले आफ्नो दैनिकी सुनाए ।