नागरिक पोष्ट News


सलुट ! डा. दुर्गा थापा नेपालको पहिलो महिला एआइजी

3.9K

काठमाडौं । नेपाल प्रहरी अस्पतालकी निमित्त मेडिकल डाइरेक्टर डा दुर्गा थापा पुन नेपालको पहिलो महिला एआइजी (प्राविधिक अतिरिक्त महानिरीक्षक) हुन् । मन्त्रिपरिषदले २५ कात्तिकमा उनलाई एआईजीमा बढुवा गरेको हो । नेपाल प्रहरीको स्थापनाको ६३ वर्षे इतिहासमा महिला एआइजीमा बढुवा भएको यो नै पहिलो हो । यसअघि पार्वती थापा र विमला थापा डीआइजी पदसम्म पुगेका थिए ।

दन्त चिकित्सकका रुपमा ०४६ सालमा प्रहरी संगठनमा प्रवेश गरेकी दुर्गा थापा पुन ०३५ को एसएलसी परीक्षामा बोर्ड थर्ड र छात्रातर्फ प्रथम हुन् । कक्षा आठसम्म हङ्गकङ्गको गोर्खा हाईस्कुलमा पढेकी उनी काठमाडौंको कन्या मध्यामिक हाईस्कुलबाट एसएलसी परीक्षामा सहभागी भइन् । अस्कल साइन्स क्याम्पसबाट आइएस्सी गरेपछि उनले पाकिस्तानमा शिक्षा मन्त्रालयको छात्रवृत्तिमा ब्याचलर अफ डेन्टल सर्जरी (विडिएस) पढ्ने मौका पाइन् ।

त्यसपछि दक्षिण भारतको चेन्नईबाट एमडीएस गरिन् । उनका बुवा ब्रिटिस गोर्खा पल्टनमा ब्याण्ड मास्टर थिए । उनी रिटायर्ड भएर नेपाल आएपछि तत्कालीन महानिरीक्षक ­(आईजीपी) खड्गजीत बरालले नेपाल प्रहरीमा पनि ब्याण्ड स्थापना गर्न भर्ती गरेको एआइजी पुन बताउँछिन् । ‘बीडीएस सकेर पाकिस्तानबाट फर्कँदा बाबा एसएसपी हुनुहुन्थ्यो’, उनी भन्छिन्, ‘उहाँले नै मलाई पनि नेपाल प्रहरीमा सेवा प्रवेश गर्न प्रेरित गर्नुभयो ।’

त्यसरी उनी ०४० सालमा स्थापना भएको नेपाल प्रहरी अस्पतालमा इन्पेक्टरको रुपमा प्रवेश गरिन् ।

एआइजीमा बढुवापछि दुर्गा थापा पुनको पदस्थापन स्वतः प्रहरी अस्पतालकै डाइरेक्टरको रुपमा भयो । अस्पतालमा करिब ७०० जनशक्ति कार्यरत छन् । जसमध्ये १६५ जना प्रशासनतर्फ कार्यरत छन् । अस्पतालमा थप ४८१ दरवन्दी आवश्यक भएको पुन बताउँछिन् । प्रहरी अस्पतालको सेवा विस्तार हुँदै गएको छ । सार्वसाधरणले पनि विशेषज्ञ सेवा लिँदै आएका छन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम र स्वास्थ्य शिविरहरुले अस्पतालको सेवा विस्तारमा दबाव बढाएको अनुभव एआइजी पुनले गरेकी छन् । अहिले दैनिक ३०–४० जना सार्वसाधरण प्रहरी अस्पताल पुग्न थालेका छन् । यो संख्या बढ्ने क्रममा छ । तर, अस्पतालमा पर्याप्त ठाउँ र उपकरणहरु छैनन् । २५ बेडबाट सुरु भएको यो अस्पतालको क्षमता १५० बेड पुगे पनि अपर्याप्त छ । आगामी आर्थिक वर्षमा अस्पतालको स्तरोन्नती गरेर बेड संख्या ३०० पुर्‍याउने लक्ष्य राखेको एआईजी पुनले बताइन् ।

Must View