नागरिक पोष्ट News


अर्बपतिको सूचीमा विनोद चौधरी २१२ स्थान माथि, अम्बानीसँग बराबरी

5K

काठमाडौं। नेपाली उद्यमी विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । उनको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर (एक खर्ब ७० अर्ब रुपैयाँ) पुगेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको २०१९ का विश्वका अर्बपतिको सूचीमा उनी २१२ स्थान माथि उक्लिएर १३४९ औं स्थानमा परेका छन् । अघिल्लो वर्ष उनी १.५ बिलियन अमेरिकी डलरसहित १५६१ औं स्थानमा थिए ।

रोचक त के भने उनले अर्बपतिको सूचीमा एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीका भाइ अनिल अम्बानीलाई भेटेका छन् । अनिल अम्बानीको सम्पत्ति पनि १.७ बिलियन डलर छ र उनी पनि चौधरीसँगै १३४९ औं स्थानमा छन् । फरक यत्ति हो कि विनोद चौधरीको सम्पत्ति बढिरहेको छ र अनिल अम्बानीको सम्पत्ति घटिरहेको छ । विनोद चौधरी पहिलो पटक २०१३ मा फोब्र्सको अर्बपतिको सूचीमा पर्दा उनको सम्पत्ति ११ बिलियन डलर मात्र थियो । त्यी वर्ष अनिल अम्बानीको सम्पत्ति भने १३.७ बिलियन डलर थियो । त्यसपछि हरेक वर्ष ओरालो लाग्दै जाँदा अम्बानीको सम्पत्ति १.७ बिलियन डलर मात्र रहेको हो । उनका दाजु मुकेश अम्बानी भने विश्वका अर्बपतिको सूचीमा १३ औं स्थानमा छन् । मुकेशको सम्पत्ति ५० बिलियन डलर छ ।

विनोद चौधरी चर्चित व्यावसायिक घराना चौधरी समूहका अध्यक्ष हुन् । चौधरी परिवार सन् २०१३ देखि फोब्र्सको अर्बपति सूचीमा पर्दै आएको छ । नेपालबाट अर्बपतिको सूचीमा पर्ने चौधरी एकमात्र व्यवसायी हुन् । डलर अर्बपति चौधरीको बैंक, फुड, इलेक्ट्रोनिक, बियर, होटेल, सिमेन्ट, हाइड्रो, शिक्षा लगायतका क्षेत्रमा लगानी छ । उनको नबिल बैंकबाटै वर्षमा डेढ अर्बभन्दा बढी रुपैयाँ आम्दानी हुन्छ । चौधरीले सबैभन्दा बढी सफलता पाएको वाइवाइ चाउचाउ र हस्पिटालिटी बिजनेसमा हो । उनी वाइवाइ र होटेलको विश्वव्यापी विस्तारमा लागेका छन् । वाइवाइ र होटेलको विश्वव्यापी विस्तारले नै उनलाई फोब्र्सको अर्बपत्ति सूचीमा उभ्याएको हो ।

नेपाल र भारतमा बजार पिटिरहेको वाइवाइ विश्वका तीन दर्जन मुलुकमा पुग्छ । निकट भविष्यमा साउदी अरेबिया र बंगलादेशमा पनि वाइवाइ उत्पादन हुँदैछ । एसिया, मध्यपूर्व, युरोप, अफ्रिका, ल्याटिन अमेरिकामा प्लान्ट खोलेर वाइवाइ संसारभर फैलाउने अभियानमा चौधरी छन् । सन् २०२० सम्म वाइवाइको उत्पादन वार्षिक पाँच अर्ब प्याकेट पुर्याएर विश्व चाउचाउ बजारमा पाँच प्रतिशत हिस्सा पुर्याउने अभियान छ । अहिले वाइवाइको विश्वमा २.५ प्रतिशत हिस्सा पुगिसकेको छ ।

Must View