जापान जान चाहानेहरुका लागी खुशीको खबर, जापानले तीन लाख ४५ हजार कामदार लैजाने
काठमाडौं : जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ। मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
जापानले केही महिनाअघि नेपाली कामदार लैजाने विषयमा अवधारणापत्र पठाएको थियो। अवधारणापत्रमाथि प्राविधिक टोलीले अध्ययन गरेको हो। जापानले पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ।
मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुनेछ। त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ। ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट सुरु हुनेछ’, मन्त्रालय स्रोतले भन्यो, ‘त्यसअघि भाषा परीक्षा हुन्छ।’
नेपाली कामदार लैजान जापानी र नेपाली प्राविधिक टोलीबीच निरन्तरको छलफलपछि श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको हो। जापानसँग यसअघि प्रशिक्षार्थी कामदार लैजाने सम्झौता भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। जापान नेपालीका लागि आकर्षक गन्तव्य मुलुक मानिन्छ। जापानमा कामदारले न्यूनतम दुई लाख रुपैयाँभन्दा बढी पारि श्रमिक पाउँछन्। जापानले आफ्ना नागरिकसरह विदेशीलाई सेवासुविधा दिँदै आएको छ।विदेशी कामदार लैजाने नीति पारित गरेसँगै जापानले नेपालसहित नौवटै देशबाट एकैचोटि कामदार लैजाने प्रक्रिया अघि बढाएको छ। जापानले नेपाल, चीन, इन्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने तयारी गरेको छ।
दोस्रो विश्वयुद्धपछि जापानले पहिलोपटक आप्रवासी कामदारलाई खुला गरेको हो। जापानमा ठूलो जनशक्ति पाको उमेरका भएका कारण विदेशी कामदार लैजान लागेको हो।