माता आचार्यले भनिन्– राजसंस्था नआई मुलुकमा शान्ति आउँदैन (भिडियो)
काठमाडौं । आफूलाई अलौकिक शक्ति आउने र त्यसकै सहयोगमा भविष्यवाणी गर्ने गरेको बताउने सविता सरु शर्मा आचार्यले मुलुकमा राजसंस्थाको अपरिहार्यता रहेको दाबी गरेकी छन् । आफूलाई माताको रुपमा प्रस्तुत गर्ने गरेकी आचार्यले राजाको शासन आउनु पर्ने जिकीर गरिन् । राष्ट्रको कुशल र सक्षम अभिभावक राजा रहने भन्दै उनले मुलुकमा देखिएको विकृति, विसंगति अन्त्यका लागि राजसंस्थाको विकल्प नरहेको बताइन् ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र सभामुख कृष्णबहादुर महरा आफ्नो भक्त भएको बताउने उनले राजसंस्थाको विकल्प नरहेको र आउने दावी गरिन् । अहिले कलाकार र पत्रकारले मुलुकलाई दिशा दिनु पर्ने अवस्था देखिएको प्रसङ्ग उल्लेख गर्दै उनले आफूकहाँ आउने भक्तजनहरुलाई राजा आउने बताउँदा आँखाभरी आँशु पारेर फर्किएको दाबी गरिन् ।
मुलुकमा राजनीतिक दलको एकता सम्भव नरहेको र संविधान जारी नहुने ठोकुवा गर्दै आएकी उनी यसमा चुकेपनि अहिले राजसंस्था आउने दाबी गर्ने गरेकी छन् । तत्कालीन संविधानसभा भवन, राष्ट्रपति भवन, बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा बास्तुदोष रहेको यसले दलहरुबीच एकता नहुने र संविधान जारी नहुने दाबी गरेकी माता आचार्यले मुलुकमा फेरि राजसंस्था आउने र त्यसपछि मुलुक सिस्टमले चल्ने बताइन् ।