प्रदेश २ मा डेढ बर्षमा ३०६ बलात्कार, महिला तथा बालबालिका घरभित्रै असुरक्षित
प्रदेश २ का ८ जिल्लामा गत भदौयता बलात्कार थप तीन घटना सार्वजनिक भए । अधिकांश घट्नामा आफन्त र चिनजानकाले बलात्कार गरेको पाइएको प्रदेश प्रहरीका प्रवक्ता डिएसपी दानबहादुर थापा बताउँछन् ।
प्रदेश २ मा पछिल्लो डेढबर्षमा भएका बलात्कार अपराधको तथ्यांकले महिला तथा बालबालिका घरभित्रै सुरक्षित नरहेको देखाउँछ । तथ्यांक अनुसार डेढबर्षमा ३०६ जना महिला तथा बालबालिका बलात्कारका शिकार भएका छन् । यसमध्ये १० बर्षभन्दा कम उमेरका ३२ जना छन् । त्यस्तै, १०–१६ बर्षका १४५ र १६ बर्षमाथिका १२९ जना छन् ।
३०६ मध्ये १४ जना आफन्त र बाँकी सबै चिनजानका पुरुषबाट बलात्कृत भएका छन् । यीमध्ये १८० जना आफ्नै घरमा बलात्काकृत हुनुले महिला तथा बालिकाहरु सुरक्षा स्थिति कस्तो भन्ने देखाउँछ ।
प्रदेश २ मा बलात्कार प्रयासको घट्ना पनि अत्याधिक देखिएको छ । ५ फागुनमा जनकपुरमा १० बर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने भारतीय नागरिक संजय ठाकुर पक्राउ परे ।
गत डेढबर्षमा २२२ महिला र बालिकालाई आफन्त र चिनजानकै पुरुषले बलात्कारको प्रयास गरेको प्रहरीको तथ्यांकले देखाउँछ । यीमध्ये ८२ जनालाई घरभित्रै बलात्कार गर्ने प्रयास भएको थियो छ ।
पछिल्लो समय पारिवारिक–सामाजिक अवस्थामा आएको परिवर्तन र सामाजिक सचेनाका कारण बलात्कारको घट्ना बढेको प्रहरीको ठम्याई छ ।
परिवारमा सामान्यतः चार भन्दा बढी सदस्य हुन्छन् । दिउँसो तीमध्ये कोही काममा, कोही विद्यालय त कोही घरमा हुन्छन् । विहान बेलुका घर जम्मा भएका बेला समेत आ–आफ्नै धुनमा सामाजिक संजालमा भुल्छन् । प्रहरीले यो अवस्थालाई पनि अपराधको कारण मानेको छ ।