सुविन भट्टराईको लेखन यात्रा यस्तो रहेछ
सुविन भट्टराईले ०६५ सालमा स्नातकोत्तर गरे, त्यो पनि वातावरण विज्ञानमा । अनि जागिरको खोजीमा लागे । सिभी बनाए । सिभी र प्रमाणपत्रको फोटोकपी बोकेर अनेकतिर धाए । कति ठाउँ पुगे, आफैँ गन्ती गर्न सक्दैनन् अहिले । सोर्सफोर्स लगाइदिने कोही थिएन । जुत्ता खिइए, तर जागिर मिलेन । तब पो लेखक भए ।
उनलाई जागिरको आशा भने धेरैले देखाए । आसैआसमा अन्तार्वार्ताका लागि धेरै ठाउँ धाए । सफलता मिलेन । त्यहीवेला एकजनाले जागिरका लागि बोलाए । पहिलोपटक तिनको घरसम्म पुगेर फर्किए । दोस्रोपटक गेटभित्रसम्म पुगे । तर, कुकुरले जोडले भुक्यो । फर्किए । सुविनलाई त्योभन्दा अघि दुईपटक कुकुरले टोकिसकेको थियो । अझै पनि उनलाई कुकुरदेखि खुब डर लाग्छ । त्यस दिन डराएर यत्तिकै फर्किए । साढे तीन तलाको घर थियो । तेस्रोपटक भने भुइँतलाको गेस्ट रुमसम्म पुगे । एप्लिकेसन बुझाए । फोटो लैजान बिर्सिएछन् । अर्कोपटक फोटो पनि लिएर गए । तर, जागिर मिलेन।
सुविनले चिनेका अर्का एकजनाले फोन गरेर, ‘रेडी भएर बस्नू, झोला ठिक्क पार्नू, भोलि या पर्सी नै हुन्छ’ भने । जागिरको दौडमा लगभग पराजित भइसकेका सुविनमा हिम्मत आयो । तयार भएर बसे । तर, भोलि गयो, पर्सि गयो, साता गयो, महिना गयो– फोन आएन ।
सँगै पास भएका साथीहरू काम गरिरहेका थिए । कोही विदेश गएका थिए । आफ्नो ‘करिअर’ अनिश्चित भएका वेला घरमा पनि विवाह गर्नुपर्छ भन्न थालेका थिए । सुविन भन्छन्, ‘पर्सनल्ली, एकदम फ्रस्टेड भएको थिएँ ।’
जसो गरे पनि विदेशचाहिँ जान्नँ भन्ने मनमनै जिद्दी पालेर बसेका थिए । हिमालयन ह्वाइटहाउस कलेज र स्किम कलेजमा ‘पार्ट टाइम’ पढाउने अवसर पाए । स्किममा हप्ताको दुई दिन र ह्वाइट हाउसमा वर्षको एक महिनाजति कक्षा हुन्थ्यो ।
सो वर्षको दसैँ मनाउन सुविन एक्लै भए । परिवार साथमा थिएनन् । त्यो समयमा यति न्यास्रो लागेको थियो कि उनी अहिले शब्दमा भन्न त सक्दैनन् । ‘त्यतिवेला त मरूँ–मरूँजस्तो पनि लागेको थियो,’ उनी भन्छन् । एक्लोपनलाई कम गर्न सुविनले नेपाली टाइप सिके । पहिले कलेज पढ्दाताका कागजमा लेखेका कथाहरू टाइप गर्न थाले । टाइप सकेपछि प्रिन्ट गरे । पाण्डुलिपि यसो हेरे, उनलाई त किताब नै छापिएजस्तो लाग्यो ।
किताब छाप्न मन लाग्यो । पाँचपोखरी पब्लिकेसन गए । पब्लिकेसनले पैसा आफैँले हाल्नुपर्ने सर्त राख्यो । उनले माने । कलेज पढाएर बचेको अलिकति पैसा थियो । पहिलो किताब छापेर आउँदा खुब सुमसुम्याए । भन्छन्, ‘आँसु मात्र आएन।’
किताबको मुनि नाम सुविन भट्टराई, माथि शीर्षक ‘कथाकी पात्र’ । किताबलाई मैलो हुन्छ कि झैँ गरेर बिस्तारै छोए । आफ्नो नाम तीनपटक जति पढे । किताबको शीर्षक पाँचपटकभन्दा ज्यादा । कागजको गन्ध सुँघे । त्यो किताब उति धेरै भने बिकेन । वर्षमा मरितरी १२ सय प्रति बिकेको उनको अनुमान छ । कमाइभन्दा विमोचनमा बढी खर्च भयो । तर, किताबको प्रतिक्रिया भने राम्रो पाए । फाट्टफुट्ट समीक्षा पनि भए । अनि त्यसैको प्रेरणाले अर्को किताब लेख्न जाँगर चल्यो।
पहिलो किताब आएको केही समयपछि ‘समर लभ’ लेख्न थाले । मंसिर महिना । जाडो थियो । उनी घाममा त्यति बस्न रुचाउँदैनन् । जाडोभरि ओछ्यानमा सुतेर नै लेखे । ‘समर लभ’ लेख्न सुविनलाई तीन महिना मात्र लाग्यो । फागुनमा सके । पहिलोपटक लेखिसक्दा ७२ हजार शब्द थियो । पुनर्लेखन गर्दा ६० हजारमा झर्यो ।
सुविन सिभी र प्रमाणपत्रको फोटोकपी बोकेर अनेकतिर धाए । कति ठाउँ पुगे, आफैँ गन्ती गर्न सक्दैनन् अहिले । सोर्सफोर्स लगाइदिने कोही थिएन । जुत्ता खिइए, तर जागिर मिलेन । तब पो लेखक भए ।
किताब फाइनप्रिन्टलाई दिए । पहिलो ड्राफ्ट पढेपछि फाइनप्रिन्टका अजित बरालले राति ११ बजे म्यासेज गरे, ‘फिनिस्ड रिडिङ समर लभ ।’ त्योभन्दा अरू प्रतिक्रिया दिएनन् । सुविनले फेसबुक खोले, अजित बरालले स्टाटस लेखेका रहेछन्, ‘रिडिङमा अर्गाजम हुन्छ भने त्यो अर्गाजम आज मलाई फिल भयो ।’ सुविन भन्छन्, ‘त्यो मेरा लागि बेस्ट कम्प्लिमेन्ट थियो ।’ सुविन नाच्न मात्र सकेका थिएनन् ।
किताब बजारमा आयो । सुविनको जीवनलाई नै ‘यू–टर्न’ गराइदियो । किताब प्रकाशनपछि पाठकका प्रतिक्रिया आउन थाले । कोही ‘अतित र सायाको फोटो हेर्न मन लाग्यो, पठाइदिनुस्’ भन्थे । पाठकको प्रेमले जीवनशैली नै चेन्ज गरिदियो । अहिले त सुविन पूर्णकालीन लेखक छन् । तर, त्यतिवेला भने यस्तो स्थिति नै थिएन । कुनै लेखक पूर्णकालीन थिएनन् । अनेक पेसामा आबद्ध थिए । ‘पूर्णकालीन लेखक बन्ने सोच्नु भनेको मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो,’ उनी भन्छन् ।
त्यसो त समर लभ प्रकाशनपछि पनि आफ्नो किताब केही कपी बिक्री भए पनि लेखन सफल हुन्छजस्तो लागेको थियो, सुविनलाई । उनी भन्छन्, ‘त्यो वेला सोचाइ पनि १० हजार कपी मात्र थियो ।’ अहिले त ‘समर लभ’ले ६० हजार कपी क्रस गरिसकेको छ ।
किताब आएपछि पाठकले भेट्न खोज्थे । सुविनको बाइक थियो । हुर्र कुद्थे । फिल्मको हिरोलाई जस्तै हुटिङ गर्ने टाइपका पाठक पनि भेटाए । अहिले उनका पाठक झनै बढेका छन् । तर, त्यो समयका पाठकले आफूलाई छुट्टै आनन्द दिने बताउँछन्, सुविन । कहिले त टाढाको पाठक भेट्न आउँछन् । ‘एक झल्को हेर्न मात्र आएको’ भन्ने पाठकले उनलाई एकदम भावुक बनाउँछ । आफू सामान्य मान्छे भएर पनि त्यसरी प्रेम पाउँदा भावुक र आनन्दित दुवै हुन्छन् ।
अहिले सुविन कार चढ्छन् । प्रश्न त उठिहाल्छ–कहाँबाट आयो कार ? लेखनकै कमाइ हो । यो कुरा सुविन आफैँलाई विश्वास गर्न गाह्रो छ । कसरी सम्भव भयो होला यो ? आफैँ अचम्मित हुन्छन् । अनि आफ्ना पाठकलाई धन्यवाद दिन्छन् । सुरुमा सुविनले लेख्दाताका अन्य लेखकका किताबका संस्करणहरू आउँथे । तेस्रो संस्करण देख्दा आफ्नो कहिले हुन्छ भनेर गम खान्थे । अहिले त सुविनका धेरै संस्करण आइसके । भन्छन्, ‘बाटामा हिँड्दा पनि चिन्छन्, त्यसले एकदम खुसी दिन्छ ।’ आफ्ना पाठकले अटोग्राफ, सेल्फी लिँदा उनी फ्ल्यासब्याकमा जान्छन् । एकदम ‘इमोसनल’ हुन्छन् । कहिलेकाहीँ त सुविनलाई चमत्कारजस्तो पनि लाग्छ । भन्छन्, ‘तर, मैले गरेको मिहिनेत, दुःख पनि त छ ।’
अहिले सुविन जागिरका लागि सिभी बनाएर डुलिहिँड्दैनन् । तर, एकदमै व्यस्त छन् । भेटघाटका लागि समय मिलाउनुपर्छ । कार्यक्रममा गइरहनुपर्छ । लेख्न भने सकेका छैनन् । भन्छन्, ‘लेख्नका लागि भित्रबाट नै हल्लिनुपर्ने रहेछ, नत्र नआउँदो रहेछ ।’ लेख्नका लागि खुब कोसिस गर्छन् । विगतमा दुःखी हुँदाका वेला जुन गीत सुन्थे, त्यही सुन्छन् । मुड बनाउन खोज्छन् । तर, अन्य कुराले बिथोलिदिन्छ । भन्छन्, ‘दुःख भएन भने पनि लेख्न नसकिने रहेछ ।’
सुविनसँग अहिले जे छ, हिजोअस्ति ती चिज थिएनन् । पाठक टन्न छन्, किताब आउँदा सेलिब्रेसन गरिदिन्छन् । खुसी लाग्छ । तर, कहिलेकाहीँ भने उनलाई मोनोटोनस पनि हुन्छ । उनको खुसीको कारण एउटै छ, उही पाठक । त्यसबाट मुक्त हुन कोसिस गरिरहेका छन् । खुसी पनि मोनोटोनस भयो भने अर्कोतिर लाग्नुपर्छजस्तो लागेर आफू फिल्मतिर काम गर्ने सोचाइमा पुगेको बताउँछन् । भन्छन्, ‘सफलताको स्वाद मिठो भए पनि धेरै भएको मजा हुन्न ।’
अहिले सुविनको जीवन दुइखाले छ । एक, सफल जीवन र अर्को, केही गर्न नसकिरहेको । केही नयाँ गर्नुपर्छ भन्ने लागिरहन्छ । लेखक हुनुभन्दा पहिला जीवनमा एउटा तड्पाइ थियो । दुःख पालेर बस्थे । त्यसले नयाँ कुरा सिर्जना गर्न खुब सहयोग गथ्र्यो । भन्छन्, ‘दुःखमा सिर्जनशीलता उर्वर हुँदोरहेछ, अब माइल्ड टाइपको दुःखको खोजीमा छु ।’