नागरिक पोष्ट News


तस्कर मिलोमतो - सिरहामा चाउचाउको बोर्ड राखेर मरिच तस्करी

1.8K
  • आलोक यादव, सिरहा 

पिक अप जीपमा चाउचाउको फ्लेक्स बोर्ड राखेर लहानबाट मरिच भारत निकासी गर्ने गिरोह सक्रिय रहेको छ । लहानका नामुद व्यापारीहरुले तेस्रो मुलकका मरिच भारत पैठारी गराउँने गरेको खुलासा भएको छ । यस अघि सुपारी, सुकुमेल, लहसुन, स्याउलगायत तेस्रो मुलुकबाट खरिद गरी अवैद्य रुपमा भारत पैठारी गराउँने गिरोहहरुको धन्दा यत्तिबेला मरिचतर्फ लागेका छन् । सहकर्मी आलोक यादव आज लहानबाट निस्किएको चाउचाउ वोर्ड लागिएको एक जिपलाई पिछा गर्दा वरियारपट्टी गाउँपालिकामा पर्ने सिमावर्ती गाउँ ब्रहरीको एक पक्की घरमा मरिचको बोरा झार्दै गरेको फेला पारेको छ ।

पिक अप जिपबाट केही चाउचाउको प्याकेट र अधिकतम मरिचको बोरा अनलोड गरी पक्की घरमा राखेको छ । त्यहाँबाट रातारात कचनारी प्रहरीकै संरक्षणमा अवैद्य रुपमा भारत पैठारी गर्ने गरेको खुलासा भएको छ । तेस्रो मुलुकबाट आयात गरिने मरिच कानुनत नेपालमै खपत हुनुपर्छ । तर, तथ्यांक हेर्ने हो भने यहाँ खपत हुनेभन्दा धेरै बढी आयात भएको छ । यसरी आयात भएको मरिच खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले अवैध रूपमा भारत पठाउने गरेका छन् ।

नेपालमा भन्दा भारतमा प्रतिकेजी २ सयसम्म बढी मूल्य भएका कारण आयातकर्ताले नेपालका लागि मगाएर भारत पठाएका हुन् । तेस्रो मुलुकबाट आयात हुने मरिच निकासी गर्न पाइँदैन् । मरिच सिरहा, मोरङ, सुनसरी, झापालगायतका सीमावर्ती क्षेत्रहरूबाट चोरी निकासी हुने गर्छ । भियतनामबाट आयातित मरिचको खुद्रा मूल्य नेपालमा प्रतिकिलोग्राम ७ देखि ८ सय रुपैयाँ पर्छ भने भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ । मूल्य अन्तरकै कारण मरिचको पैठारी बढेको छ । भियतनामबाट मरिच आयात हुन्छ । यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैध रूपमा भारत निकासी गरिँदै आएको थियो ।

सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकुमेलको आयात गरी भारत निकासी गरे । यत्तिबेला मरिचसँगै मटर समेत नेपालबाट अवैद्य रुपमा पैठारी हुने गरेको छ । कचनारी प्रहरी इन्चार्ज धनबहादुर खड्काको निगरानीमै रातारात मरिच नेपालबाट भारत पैठारी हुने गरेको छ । प्रहरी खड्काकै मिलोमतोमा कचनारी ब्रहरी नरगी हुँदै गिट्टी बालुवा समेत पैठारी हुने गरेको छ । उता, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठ भन्छन् — यो सम्भव छैन । यदि यस्तो भइरहेको छ भने यथाशिघ्र कारोबार बन्द हुन्छ । यसको लागि विशेष प्रहरी टोली खटाइसकेको छु । उता, तस्करहरु पत्रकारहरुलाई फोन गरेर मिठो शैलीमा धम्की दिने गरेको छ ।

 

 

Must View