हिउँदे झरी अझै लम्बिने : सोमबारबाट फेरि मेघ गर्जनसहितको देशभर पानी पर्ने
कहाँ कति वर्षा ? कास्की (पोखरा)– १९ मिलिमिटर,डँडेलधुरा–१० दशमलव ९ मिलिमिटर,ताप्लेजुङ–७ दशमलव ४ मिलिमिटर,जुम्ला–५ दशमलव ७ मिलिमिटर.,ठमाडौं– ४ दशमलव १ मिलिमिटर
काठमाडौं : भू-मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ ।सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार विहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–शनिवार साँझ उहाँले भन्नुभयो । सोमबार सुदुरपश्चिमी भेगमा मौसमको प्रत्यक्ष प्रभाव देखिने र क्रमशः अन्यत्र प्रभाव फैलिने अर्यालले बताउनुभयो ।मेघ गर्जनसहितको मध्यम र हल्का वर्षा दोहोरिने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ । गत मंगलबार भित्रिएको भू–मध्यसागरको वायुको प्रभावले शनिवार अबेरसम्म मौसम प्रत्यक्ष प्रभावित भयो । शनिवार अबेरसम्म देशभरि नै हिउँदे झरीको प्रभाव परेको महाशाखाले जनाएको छ । यो खबर नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।
शनिबार साँझ सार्वजनिक मौसमी विवरणअनुसार पोखरामा १९, डडेलधुरामा १० दशमलव ९, ताप्लेजुङमा ७ दशमलव ४ र जुम्लामा ५ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । यसै गरी काठमाडौं उपत्यकामा ४ दशमलव १ मिलिमिटर र अन्यत्र पनि मध्यम र हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।केही दिनअघि देशभर पानी पर्दा ठाउँ ठाउँमा हिमपात भएको थियो ।