नागरिक पोष्ट News


पहिचान संस्था : अपाङ्गता तथा एकल महिलाहरुको हक हित र अधिकारका लागि

3.6K
  • शर्मिला विश्वकर्मा, काठमाण्डौं

अन्य वर्ग तथा अपाङ्गता भएका एकल महिलाहरुको हक हित र अधिकार स्थापित गरी उनीहरुका समस्याहरु पहिचान गरेर काम गर्ने उदेश्यले स्थापना गरिएको पहिचान संस्थाको काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । सो संस्था उद्घाटन कार्यक्रममा पहिचान संस्थाकी अध्यक्ष इच्छा के.सी.ले अपाङ्गता तथा अन्य वर्गका एकल महिलाहरुको हक हित र अधिकार स्थापित गरी उनीहरुको जीवनयापनलाई सहजता गराउने उदेश्यले पहिचान नामक संस्थाको स्थापना गरिएको बताउनु भयो ।

यसै क्रममा उहाँले यस संस्थाको दिगो विकासको लागि अक्षयकोष स्थापना गर्ने कुराको पनि उद्घोषण गर्नु भएको थियो । सो पहिचान संस्थाको उद्घाटन कार्यक्रममा शारीरिक अपाङ्गता भएकी महिला सुभद्रा पौडेलले आफु शारीरिक अपाङ्गता भएकै कारण श्रीमानले छोड्नुको साथै सामाजिक चुनौतीको सामना गर्न परेको र यस संस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो भने पूर्ण दृष्टिविहिन महिला भिमा (प्रशंशा) क्षेत्रीले आफुलाई पनि दृष्टिविहिन भएको कारण श्रीमानले छोडेको र यस्ता चुनौतीहरुको डटेर सामना गर्ने बताउनु भयो । उक्त कार्यक्रममा अपाङ्गता र विकासका लागि क्रियाशिल नेपाल (एड्रड) का कार्यकारी निर्देशक डा.विरेन्द्रराज पोखरेलले अपाङ्गता र विकासका लागि क्रियाशिल नेपाल (एड्रड) र एविलिज फाउण्डेशनको तर्फबाट पहिचान संस्था मार्फत अपाङ्गता भएका एकल महलिाहरुको हक हित र अधिकार सुनिश्चित गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

पहिचान नामक संस्थाको उद्घाटन कार्यक्रममा एम्पुटी एशोसियशन नेपालका अध्यक्ष महेश्वर घिमिरेले अपाङ्गता तथा अन्य एकल महिलाहरुको पहिचान गरी काम गर्ने क्रममा उनीहरुको मनोसामाजिक स्वास्थ्यलाई पनि ध्यानमा राखेर काम गर्न जरुरी रहेको बताउदै यस कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो भने हेड्स नेपाल तथा परोपकार संस्थाका प्रतिनिधि प्रतावराज वन्तले पनि अध्यक्ष कोष स्थापनाको लागि रु ५ हजार रुपैया सहयोग गर्दै आगामी दिनमा पहिचानसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।उक्त कार्यक्रमकी प्रमुख अतिथि तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष टिका दाहालले पहिचान संस्थाको उदेश्य पुरा गर्नको लागि आफु जहिले पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।

Must View