नागरिक पोष्ट News


तस्करीको नयाँ रुटको पर्दाफाशः एकैदिन १३० नेपाली महिलाको उद्धार

2.1K

काठामाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुर हुँदै अवैध रूपमा विभिन्न मुलुक जाँदै गरेका ‘एक सय ३० जना’ नेपाली महिलाको उद्धार गरिएको उद्धारकर्ताहरूले बताएका छन्।

घरेलु कामदारका रूपमा नेपाली महिलालाई लैजान प्रतिबन्ध लगाइएका मुलुकहरूमा उनीहरू जान लागेको आशङ्का गरिएको छ। ठूलो सङ्ख्यामा महिलाहरूलाई मणिपुरको बाटो हुँदै म्यान्मारबाट सिंगापुर, मलेसिया र अरब मुलुकहरूमा पठाइन लागेको सुराकीका आधारमा उनीहरूको उद्धार गरिएको बताइएको छ।

इम्पल्स एनजीओ नेटकवर्क नामक अवैध मानव ओसारपसारविरूद्ध काम गर्ने एउटा संस्थाको सहायतामा मणिपुर प्रहरीले उनीहरूको उद्धार गरेको हो।

उद्धार गरिएकामा नेपाली र भातरकासहित अन्य मुलुकका महिलाहरू पनि रहेको बताइएको छ।

कसरी पत्ता लाग्यो? उक्त उद्धारमा संलग्न इम्पल्स एनजीओ नेटवर्ककी अध्यक्ष हसिना खभीले बीबीसी नेपालीसँग टेलिफोनमा भनिन्, ‘हामीलाई माइती नेपालबाट ७० जना नेपाली महिलालाई मणिपुरको बाटो हुँदै म्यान्मार पठाइन लागेको सूचना आएको थियो। त्यसैका आधारमा मणिपुर र म्यान्मार सीमा क्षेत्रको मोरे भन्ने स्थान, केही होटलहरू र विमानस्थल क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको हो।’

खर्भीका अनुसार शुक्रवार तीन सय एकजना महिलाको उद्धार गरिएकामा दुई सयभन्दा बढी नेपाली नागरिक रहेको पुष्टि भइसकेको छ।

उनीहरूसँगै पक्राउ परेका दुईजना दलाल पनि नेपाली नागरिक रहेको खर्भीले बताइन्।

शनिवार दिउँसो भएको टेलिफोन कुराकानीमा उनले भनिन्, ‘अहिले पनि कतिपय महिलाको भेरिफिकेसन जारी छ र उनीहरूलाई यहाँको समाज कल्याण विभागको एउटा आश्रयगृहमा राखिएको छ।’

म्यान्मारसँग सीमा जोडिएको मणिपुरबाट मानव तस्करी हुने कुरा नौलो नभए पनि यत्रो ठूलो सङ्ख्यामा नेपाली महिलाको उद्धार भएको भने पहिलो पटक भएको उनले जानकारी दिइन्।

बाटो परिवर्तन यसअघि पनि भारतको बाटो हुँदै अवैध रूपमा नेपाली महिलाहरूलाई विभिन्न मुलुकमा पठाउने गरिएका विवरण सार्वजनिक भएका थिए।

त्यसका लागि पहिले दलाल र मानव तस्करहरूले भारतको राजधानी नयाँ दिल्लीलाई केन्द्र बनाउने गरेका थिए।

तर केही महिनादेखि दिल्लीस्थित महिला आयोगले लगातार नेपाली महिलाहरूमाथि निगरानी बढाउन थालेपछि तस्करहरूले अरू बाटो रोज्न थालेको जानकारहरू बताउँछन्।

केही महिनाअघि दिल्लीमा पनि त्यहाँको महिला आयोगको सक्रियतामा ठूलो सङ्ख्यामा नेपाली महिलाको उद्धार गरिएको थियो।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले मानव तस्करहरूले अवैध रूपमा नेपाली महिलाहरूलाई विदेश पठाउन बारम्बार बाटो परिवर्तन गरिरहेको बताए।

 (बीबीसी)

Must View