साइबर रेप को जालोमा किशोरी, युवती र विवाहिता महिलाहरु यसरी फस्दैछन्
सामाजिक सञ्जालमार्फत प्रेम हुँदै यौनसम्बन्धसम्म पुग्ने र पछि त्यसैको भिडियो देखाएर ब्ल्याकमेल गर्ने प्रवृत्ति बढेको छ ।
१८ वर्षभन्दा मुनिका किशोरी बढी पीडित छन् । ६ महिनामा ७४ उजुरी परिसकेका छन् ।
साइबर रेप’को पासोसाभार : जनकराज सापकोटा/ इकान्तिपुर
काठमाडौँ — सामाजिक सञ्जालमार्फत अपरिचितसँग साथी बन्ने, प्रेमसम्बन्ध गाँस्ने र यौन सम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कंदै गएको देखिएको छ ।
अश्लील तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरूले ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन् । यसरी दर्ता भएका कैयन उजुरी अनुसन्धानका क्रममा जबर्जस्ती करणी मुद्दामा रूपान्तरण भएका छन् । यिनमा धेरैजसो पीडित १८ वर्षमुनिका देखिन्छन् । यस्तो अवस्थामा प्रहरीले गत भदौ १ देखि लागू फौजदारी अपराध संहिताको व्याख्याअनुसार थप सजाय गर्ने गरेको देखिन्छ । अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुर खण्डमा अठार वर्षमाथिकी महिलामाथि जबर्जस्ती करणी भए पीडकलाई सातदेखि दस वर्षसम्म र पीडित १८ वर्षभन्दा कम भए १० देखि १२ वर्षसम्म सजायको व्यवस्था छ । प्रहरी परिसर काठमाडौंमा दर्ता साइबर अपराधसम्बन्धी तथ्यांक केलाउँदा यस्तो प्रवृत्ति भुसको आगोजसरी सल्किरहेको देखिन्छ । २०७२/७३ मा ३२ वटा र २०७३/७४ मा साइबर अपराधका २५ वटा उजुरी दर्ता भएका थिए । यिनको संख्या २०७४/७५ मा दोब्बरभन्दा धेरै अर्थात् ८१ पुगेको छ । यस आर्थिक वर्षको पुससम्म ७४ उजुरी परेका छन् । वर्षको अन्त्यसम्म पुग्दा यो आँकडाले अघिल्लो वर्षलाई उछिन्ने प्रहरी परिसर काठमाडौंका अधिकारीहरू सहजै अनुमान गर्छन् । प्रहरी परिसर काठमाडौंले मंसिर २८ गते टेकुबाट एक किशोरीलाई पक्राउ गर्यो । १७ वर्ष ५ महिना २० दिन उमेरकी नाबालिका भएकाले प्रहरीले ती किशोरीको नाम कोड भाषामा २६ परिसर (य) दिएको छ । घटना अनुसन्धान गर्दै जाँदा जे देखियो, त्यसले अधिकारीहरूलाई नै झस्काइदियो ।
साइबर अपराधसँग जोडिएका यौनशोषणका यस्ता मुद्दाले किशोरकिशोरी मात्रै नभई विवाहित महिला पनि पासोमा परेको देखाउँछ । नक्सालकी एक यादव थरकी महिला अपरिचित फेसबुके साथी राजीवकुमार कर्णको जोडबलमा उनलाई भेट्न पशुपति पुगिन् । राजीवले उनलाई एक्कासि अँगालो हाले र फोटो पनि खिच्न भ्याइहाले । विवाहित राजीवले यही फोटो सार्वजनिक गरिदिने र वैवाहिक सम्बन्ध बिगारिदिने भन्दै महिलालाई धम्क्याउन थाले । डरैडरमा उनी सबै कुरा मान्न थालिन् । राजीवकै करकापमा आफ्नो नग्न फोटो खिचेर पठाइदिइन् । हैरानी सकिनु साटो झन् थपियो । अब राजीव तिनै तस्बिरलाई हतियार बनाएर यौनशोषण गर्न थाले । यसैगरी हप्ता, महिना बिते । अति भएपछि महिलाले उनका कुरा टेर्न छाडिन् । राजीवले उनका नग्न तस्बिर सामाजिक सञ्जालमा राखे । उनले हटाउन अनुरोध गरिन् । बदलामा राजीवले १२ हजार मागे । उनले भनेजस्तै गरिन् तर पनि राजीवले तस्बिर हटाएनन् ।