नागरिक पोष्ट News


ह्योल्मो आदिबासी जनजाति तथा सोनाम ल्हाृसार

3.3K

नेपालको एकिकरण भन्दा पहिले काठमाडौं उपत्यकालाई नै नेृपाल भनेर चिनिने गरिन्थ्यो । यो उपत्यकाको नजिक उत्तर–पूर्वी क्षेत्रमा ह्योल्मो आदिबासी जनजातिहरुको पवित्र भूमि भेयुल ह्योल्मो अर्थात तपोभूमी ह्योल्मो गुप्तक्षेत्र अवस्थीत रहेको बिभिन्न बौद्धधर्म सम्बन्धी ग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ । सोहि ह्योल्मो तपोभूमिमा ह्योल्मो आदिबासी जनजातिहरु भूमिपुत्रको रुपमा सदियौदेखि बसोबास गर्दै आईरहेको छ । नेपालको सन्दर्भमा माघे संंक्रान्ति पछिको पहिलो शुक्ल प्रतिपदाका दिनदेखि प्रारम्भ हुने ह्योल्मो आदिबासी जनजातिहरुले परम्परागत रुपमा मनाउर्द आइरहेको सांस्कृतिक पर्व सोनाम ल्होसारको सम्बन्धमा नेपालको एकिकरण भन्दा धेरै पहिला नै तत्कालिन नेपाल उपत्यकाका शासकहरुलाई अवगत गराउदै उपत्यका भित्र रहेका व्यापारिक केन्द्रहरुमा ल्होसारको अवसरमा बिशेष छुटको व्यवस्था समेत गरेको तथ्य भेटाउन सकिन्छ । यसरी उपत्यका भित्र २०३६ सालसम्म पनि सोनाम ल्हाृसारको अवसरमा व्यापारीहरुले बिशेष छुटको व्यवस्था गर्ने गरेको पाईन्छ । यो तथ्यले ह्योल्मोहरुले मनाउदै आएको परम्परागत सोनाम ल्होसार नेपालमा सबैभन्दा पुरानो ल्होसार परम्परा हो भन्ने स्पष्ट पार्दछ । 

ह्योल्मो आदिबासी जनजातिहरुले सोनाम ल्होसारलाई नयाँ वर्षको प्रारम्भको रुपमा लिने करेको भएता पनि सोनाम ल्होसारलाई ठूलो संस्कृतिक चाडको रुपमा समेत लिने गरेको पाहिन्छ । ल्होसार मनाउने आदिबासी जनजातिहरुले ल्होसारलाई आफ्नो धार्मिक तथा संस्कृतिक परम्परा अनुसार आ–आफ्नो  ढंगबाट मनाउने गरेको भएता पनि ल्होसार मनाउने तरीका कतिपय मिलेका पनि पाईन्छ । ह्योल्मो आदिबासी जनजातिहरुको सन्दर्भमा ल्होसार प्रारम्भ हुने केहि दिन अगाडिबाट नै ल्होसारको निमित्त किनमेलदेखि घरको सरसफाई, पुजाको निमित्त आवश्यक पर्ने सामाग्री लगायत दर्चो लुङपरको बन्दोवस्ता तथा नयाँ लुगाफाटो किन्ने र सिलाउने कार्यहरु गर्ने कार्यहरु हुने गर्दछ ।

ह्योल्मो आदिबासी जनजातिहरुले ल्होसारको बिधिवत रुपमा माघे संक्रान्ति पछिको शुक्लपक्षको प्रतपदाको दिन भन्दा साधारणतय दुईदिन अगाडी घुथुक्पा (नौ प्रकारका गेडागुडी मिसाएर पकाएको थुक्पा अर्थात क्वाँटी)  खाएर ल्होसार प्रारम्भ हुन लागेको संकेत गर्दछन । वास्तवमा, घुथुक्पा खाने दिनसम्ममा, घर र घर वरिपरीका फोहर मैलाहरुको सरसफाई तथा घरका सम्पूर्ण सामानहरुलाई टिलिक्क टल्काउदै भएका सा्मानहरु मिलाएर राख्ने गरिन्छ । घुथुक्पा खाने दिनको साँझमा घुथुक्पाको साथमा घरबाट निस्किएको थोरै फोहरका साथमा मन्छ्याउने चलन पनि रहेको पाईन्छ । घुथुक्पा पोशिलो हुने भएको कारण माघको जाडोमा पनि शरिरलाई बलियो र निरोगी राख्ने र फोहरहरुको सरसफाईले पनि रोगव्याधीबाट मुक्त राख्ने भन्ने परम्परागत बिश्वास गर्ने गरेको भएता पनि अहिलेको सन्दर्भमा यो अत्यन्तै बैज्ञानिक र त्यसलाई दैनिक रुपमा नै निरन्तरता दिन सकेमा स्वास्थ्य र वतावरणीय दृष्टिकोणले उत्तम परम्परा हो । 

साधारणतया, घुथुक्पा खाएको भोलिपल्ट औशीको दिन गाउँघरमा ह्योल्मो सोनाम ल्होसारको बिशेष महत्व रहेको बावार (चामालको रोटी) बनाउने कार्य गरेको पाउछौं । दिनभरीमा बावार बनाई सकेको हुन्छ । उक्ता औशीको दिनमा प्रतिपदा अर्थात ल्होसारको पहिलो दिनमा आवश्यक पर्ने पूजा तथा खानपिनका सम्पूर्ण सामाग्रीहरु तैयारी अवस्थामा राख्ने कार्य पनि सम्पन्न गरिन्छ । ल्होसार प्रारम्भ हुनेदिन अर्थात शुक्लपक्षको प्रतिपदाको दिनमा ह्योल्मो गृहणीहरु बिहानीको उज्यालो नहुदै पधेरा तथा धाराहरुमा गएर सबैभन्दा पहिले (छयुवी) पानी थाप्ने होडमा हुनछन । यसरी सवैभन्दा पहिले पानी थाप्न सकेमा घरमा सह आउने र सदैवा धनधान्यले भरिपूर्ण हुने बिश्वास राखेको पाईन्छ । यसरी पानी थाप्न जाँदा साङ (धुप बाल्ने) तथा पानीको गाघ्रोमा र पानी धारामा ह्यार्का (नौनी घिउ) लगाउने प्रचलन रहिआएको पाईन्छ । यो परम्परा तथा बिश्वासलाई पनि राम्ररी बिचार गरी हेर्ने हो भने बैज्ञानिक बिश्वास हो । किनकी अल्छि नगरिकन बिहानदेखिनै मेहनतका साथ आफ्नो काममा लग्ने मानिसहरुले कहिले पनि दुखः पाउदैन भन्ने हो । यसरी बिकहानको पानी घर ल्याई सकेपछि घरमा रहेको क्षेठीमा (बुद्धहरुको मूर्ती वा बिभिन्न बौद्धधर्म सम्बन्धी पुस्तकहरु राख्ने दरज) सातवटा धिन्जारहरुमा (बिहान भगवानलाई पानी चढाउने कचौरा) पानी, पुष्प, धुपबत्ती, क्षेमी (दियो), अत्तर, नैवेद आदिको प्रतिकको रुपमा सजाएर अर्पण गर्दै पुजा गरिन्छ ।, नुन तथा घिउ राखि मथेको चिया, आलुको श्योक्पा (आलुको तरकारी), ल्होसारको लागि तैयार पारिएको बावर (चमलको रोटी), खाप्से र अन्य मिठाई तथा फलफुल र परिकारहरु थालमा सजाएर देर्का बनाईन्छ । त्यस पछि देर्कामा राखिएको बावरका तीनवटा टुप्पामा नौनी घिउको ह्यार्का (घिउको टिका) लगाईन्छ । यसरी तैयार पारेको देर्का घरका हरेक सदस्यहरु नाबालक होस वा बृद्धबृद्धा सबैलाई छुट्ट–छुट्टै भाग राख्नु पर्ने हुन्छ । 

हामी साना बालबालिका हुदा गाउँघरमा छेवा च्यी (प्रतिपदाको) दिनमा नै प्रत्यक घर परिवारहरुले आ–आफ्नो घर अगाडिको आँगनमा लिङ्गो ठढाएर त्यसमा दर्चो (लामो ध्वजामा मन्त्र लेखिएको) लगाउने परम्पर थियो । अचेल पनि गाउँघरमा त्यहि दिन दर्चो लगाउने परम्परा कता कतै पाईन्छ तर धेरैले लामाहरुको ल्हीदो (पात्रो) हेर्ने कारणले गर्दा प्रायजसो प्रतिपदाको दिन भादेन (खडड्को) परेको भनि तृतिय वा पंचमीको दिन दर्चो ठडाउने गरेको पाईन्छ । दर्चो ठडाईसकेपछि सोही दर्चोको सामुन्यमा लामाहरुबाट साङ सेर्किम गरी (देवता तथा दैविय शाक्तिहरुलाई सुद्ध पारी अमुत चढाउने विधि) तीन पटक ल्हा ग्यालो (असत्य माथि सत्यको बिजय अर्था देव बिजयको कामना) भन्ने चलन रहिरहेको छ । यो प्रक्रियालाई ल्हाग्र्याल भन्ने गरिन्छ । यो ल्हाग्र्याल सबै भन्द पहिले गाउँको प्रमुख लामाको बासस्थानमा र त्यसपछि गाउँको गोवा (गाउँ मुलि) हुदै मर्यदाको हिसावले ठूलोदेखि साना सम्मका भरमा पालैपालो गर्ने परम्परा रहिआएको पाईन्छ । दर्चो उठाईसकेपछि आ–आफ्ना घरमा ठूलाबाट ह्यार्का लगाएर (मोलम) आश्रिर्वाद लिने गरिन्छ । 

साधारणतय, ल्होसारको पहिले दिन आफ्नै घरमा घरमुलिबाट आश्रिर्र्वाद थाप्ने र घरमा नै ल्होसारको खुशियाली मानाउने गर्दछन भने विवाह गरी गएका छोरी र चेलीहरु नजिक छन भने आफ्ना बाजे, बुबा तथा तथा दाज्युभाईहरुको मा त्यहि दिन आश्रिवाद थाप्न जाने गरेको पाईन्छ । यसरी माईतमा ल्होसारमा जाँदा एउटा देर्का तथा श्याल्गर (पेय पदार्थ) धम्पे (पेय पदार्थ राख्ने परम्परागत काठको भाँडो) सहित जानु पर्दछ । यसरी आश्रीर्वाद थाप्न आएका चेली तथा उनका पहिवारका प्रत्येक सदस्यलाई देर्का राखिन्छ र देर्का खानु भन्दा अगाडि नै मोलम थाप्ने प्रचनल रहिआएको पाईन्छ ।

 

गाउँघरमा पहिलो दिन आफ्नो घरमा ल्होसार मनाई सकेपछि गाउँका लामा, गोवा तथा आफन्तहरुमा गएर कुरीम्ब (पालैपालो घर घरमा ल्होसार मान्ने) गरी ल्होसार मान्ने प्रचलन छ । यसरी कुरीम्बा गर्दा बिशेष गरेर आफ्नो नाताले ठूलोकोमा जाने र सानाले ठूलालाई आमन्त्रण गर्ने परम्परा चल्दै आएका छ । यदि नाताले आफुभन्दा साना रहेछ र उसले आमन्त्रण नगरेमा नाताले ठूला पर्ने ल्होसार खाना नआउन पनि सक्छ । बास्तवमा यो परम्पराले सानालाई आश्रीवाद र मायाँ र ठूलालाई मान सम्मान गर्ने परम्पराको रुपमा चल्दै आएको देखिन्छ । यसरी ल्होसार मनाउने क्रम केहि दिनको अन्तरालमा सकिने भएको भएता पनि टाढा टाढाबाट आउने आफन्तहरुको लागि भने पूर्णीमासम्म ल्होसार मनाउने अवधी रहेको पाईन्छ ।

ह्योल्मो आदिबासी जनजातिहरुले ल्होसार मनाउदा संस्कृतिक रुपमा पनि अन्यतै मनोरञ्जक तरीकाले ल्होसारलाई स्मरणीय बनाउछ । 

क बिशेष गरेर ल्होसारमा घर घरमा आफन्त र ईष्टमित्रहरु भेला भैसकेपछि देर्का खाँदै छ्याङलु गाउने र दिर्कुशिवा (ल्होसार र अन्य खुशीयाली मनाउने अवसरमा नाच्ने नाच) गाउने र नाच्न गरी भरपुर मनोरञ्जन गर्ने गर्दछन् । 

ख यसै गरी कुने कुनै गाउँमा दप्ची (तारो हान्ने) प्रतियोगिता पनि हुने गर्दछ । दप्ची खेल खेल्दा केवल खेलमात्र नभएर दप्चीको सम्बन्धमा परम्परागत रुपमा गाइदै आएको दप्ची सम्बन्धी गीत पनि अति रोचक ढंगबाट गाउने गर्दछन ।

ग ल्होसारको अवसरमा ह्योल्मो गाउँहरुमा रहेका गुम्बाहरुमा छेज्यु (दशमीको दिनलाई प्रमूखता दिदै गरिने पुजा) पुजाको आयोजना गरिन्छ र सो पुजाको अवसरमा बा–छ्याम (मकुण्डो लगाएर लामाहरुबाट नाचिने नाच) गर्नुको अतिरिक्त गाउँलेहरुबाट श्याप्रु नाच तथा गीत गाउदै उपस्थीत जनसमुदायलाई धार्मिक तथा सामाजिक रुपमा नजिक बनाउने र एक अर्कालाई चिन्ने चिनाउने अवसर समेत प्रदान गरेको हुन्छ ।  

यसरी शुक्ल प्रतिपक्षदेखि पूर्णीमासम्म ल्होसार मनाउने परम्परा रहेको छ । ह्योल्मो आदिबासी जनजातिहरु कामको शिलशिलामा घरबाट टाडा गएको भएता पनि ल्होसारको अवसर पारेर घर फर्किने गर्दछन् । त्यसो भएको हुदा ह्योल्मोहरुले सोनाम ल्होसारलाई परिवारिक मिलापको सुखद पर्वको रुपमा हर्सोउल्लासका साथ मनाउने गर्दछन् । 

बिनोद लामा ह्योल्मो

Must View