नेपालको सुदुरपश्चिमको बाजुरामा क्षणभरमै यस्तो भयो‘
चट्याङ लागेर आज यहाँ ५२ भेडा मरेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । चुथीको जङ्गलमा एकै साथ चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमा नै मरेको प्रमुख भाटको भनाइ छ ।
चट्याङ मङ्गलबार साँझपख परेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण प्रहरी प्रतिवेदनसहित घटना अध्ययन प्रतिवेदन आज मात्र तयार पारिएको उहाँले जानकारी दिनुभयो । साझेदारीमा व्यवसाय सञ्चालन गरेका रोकाया र धामीको चट्याङका कारण करीब पाँच लाखभन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लेकाली भेगमा चिसो हुने भएपछि उनीहरुले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए । ब्याउने सहितका भेडा भएकाले ठूलो मात्रामा नोक्सानी भएको उनीहरुको भनाइ छ ।