खोज पत्रकारिता : ५५ नेपालीको विदेशमा अर्बौं लगानी (सबैको नामावली सहित)
विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन् ।
अहिलेसम्मकै ठूलो खोज पत्रकारिता : ५५ नेपालीको विदेशमा अर्बौं लगानी (सबैको नामावली सहित)खोज पत्रकारिता केन्द्र
५४ वर्षअघि बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन’ २०२१ अनुसार, नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल (खोपके) ले गरेको थप अनुसन्धानले ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको छ ।
विदेशमा लगानी गर्नेमा नेपालमा नाम चलेका प्रतिष्ठित उद्योगी/व्यवसायीदेखि नामै नसुनिएकाहरू पनि छन् । केहीको ठेगाना खुल्न सकेको छैन । नेपालमै व्यवसाय गर्ने तर गैरआवासीय नेपालीको पहिचान बनाएका कतिपयले पनि विदेशस्थित ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) मुलुकमा लगानी गरेको भेटियो । गैरआवासीय नेपालीलाई विदेशमा लगानी गर्न कानूनले रोक त लगाएको छैन, तर उनीहरूले ट्याक्स हेवन मुलुकमा कम्पनी खोलेकाले लगानीको त्यो स्रोत माथि शंका गर्ने ठाउँ छ ।
पूर्व सांसद् वीरेन्द्र महतो
वीरेन्द्र महतोको कम्पनी सम्बन्धी समाचार बेलारुसका सञ्चारमाध्यमहरुले समेत ‘कभर’ गरेका थिए ।
हाल संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य, पूर्व सांसद् वीरेन्द्र महतोको बेलारुसमा ‘ओजेएससी एम्कोडोर होल्डिङ लिमिटेड कम्पनी’ मा लगानी छ । चार जना लगानीकर्ता रहेको एम्कोडोरका साझेदारहरूमा गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठ, वीरेन्द्रका दाइ गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष उपेन्द्र महतो र उनका विदेशी साझेदार रोमियो अब्दो हुन् । नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो कर छली प्रकरण– एनसेलमा पनि जोडिन्छन अब्दो । एनसेल बिक्री प्रकरणमा झन्डै ६१ अर्ब रुपैयाँ (हाल ७२ अर्ब पुगिसक्यो) कर छली गरेर बाहिरिएको टेलियासोनेराको तर्फबाट एनसेलमा प्रतिनिधित्व गर्थे उनी । अब्दो टेलियासोनेराले नेपालको एनसेल कम्पनीमा लगानी गरिरहेका वेलाका अध्यक्ष हुन् । कागजातहरूले लेवनानी मूलका अब्दो १९९७ देखि बेलारुसमा व्यवसाय गर्छन् भन्ने देखाउँछ ।
साईप्रस र ब्रिटिश भर्जिन आईल्याण्ड्समा व्यवसायी उपेन्द्र महतोका कम्पनीहरु दर्ता भएको प्रमाणपत्र । यो विवरण आईसीआईजेको सहकार्यमा खोपकेले प्राप्त गरेको हो ।
निरज, समता र उपेन्द्र
सन् २०१५ मा आईसीआईजेको ‘पनामा पेपर्स’ खुलासामा उपेन्द्र महतोका नाममा ‘ट्याक्स हेवन’ मुलुकमा कम्पनीहरू रहेको उल्लेख थियो । हामीले प्राप्त गरेका कागजातहरूले महतो, उनकी श्रीमती समता र उनका साझेदार निरजगोविन्द श्रेष्ठका नाममा ब्रिटिश भर्जिन आइल्यान्डस्, साइप्रस, बेलारुस, बेलायत र भारतमा लगानी रहेको देखाउँछ । उनीहरूमध्ये कुनै दुई वा तीनैका नाममा रहेका कम्पनीहरूमा स्पार्टली भेन्चर, पंकुर फाइनान्स, टिपोलोजिया, मनिस्टार, एम्कोडोर, बिएन्डके, यज्ञदिप, युमि नेपाल अर्थक्वेक, नोष्टल बिजनेश कर्व, मावेल एपरेल, युमि अपिल नेपाल अर्थ क्वेक छन् । यसबारेमा महतोले कुनै प्रतिक्रिया दिन मानेनन् ।
अजेयराज सुमार्गी र अर्जुन शर्मा
साईप्रसमा व्यवसायी अजय सुमार्गीको कम्पनी दर्ता भएको प्रमाणपत्र त्यहाँको कम्पनी दर्ता गर्ने कार्यालयबाट खोपकेले प्राप्त गरेको हो ।
व्यवसायी अजेयराज सुमार्गीको पनि विदेशमा लगानी रहेको भेटिएको छ । आईसीआईजेसँग आवद्ध साइप्रसका खोज पत्रकार स्तेलियोस ओरफानिदेशले ट्याक्स हेवन मुलुक साइप्रसको ‘डिपार्टमेन्ट अफ रजिष्ट्रार अफ कम्पनिज एन्ड अफिसियल रिसिभर’ का विवरणहरू खोपकेलाई उपलब्ध गराए । ती दस्तावेजका अनुसार, सुमार्गीले साइप्रसको एयरबेल सर्भिसेज लिमिटेड कम्पनीमा लगानी गरेको भेटियो । साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको र हालसम्म पनि सक्रिय यो कम्पनी सन् २००८ मा खोलिएको हो । ‘म्याग्नमसर्भ सेक्रेटरी लिमिटेड’ नामक ल फर्मले दर्ता गराइदिएको एयरबेलका लगानीकर्ताहरूमा अजयराज सुमार्गी पराजुली, नेपालस्थित सुमार्गीको कम्पनी मुक्तिश्री प्रालिमा काम गर्ने अर्जुन शर्मा, ब्रिटिश भर्जिन आइल्यान्डस्को जोधार इन्भेष्टमेन्ट्स प्रालि र अरू १२ जना विदेशी नागरिक छन् । सुमार्गीको ठेगाना हेटौंडा–५ मकवानपुर नेपाल लेखिएको छ भने शर्माको कमलादी काठमाडौं–२ उल्लेख छ ।
साइप्रसका खोज पत्रकार स्तेलियोसका अनुसार, “साइप्रसमा सुमार्गीको कम्पनी दर्ता हुँदा नेपालको मात्रै हैन, साइप्रसको समेत कानून उल्लंघन भएको छ । विदेशमा लगानी गर्न नपाउने देशका नागरिकले साइप्रसमा पनि लगानी गर्न पाउँदैन । म्याग्नमसर्भ ल फर्मले नेपालीले विदेशमा लगानी गर्न नपाउने कानूनी व्यवस्थाबारे थाहा पाउनु जरूरी थियो ।”