‘मी टू’भन्दा माथि
कुरा डेढ दशक अगाडिको हो, एउटा ठूलो भनिएको मिडिया हाउसमा कार्यरत दुई महिला पत्रकारलाई ‘फलानोजी चाहिँ आएकै राम्रो, फलानोजी चाहिँ गएकै राम्रो’ भनेर समाचारकक्षमै हँसिमजाक गरिँदो रहेछ । आएकै राम्रो भनिएकी पत्रकारको शरीरको अग्र भाग ठूलो रहेछ, गएकै राम्रो भनिएकी पत्रकारको पछाडिको भाग । यो कुरा सुनेपछि त्यतिबेला सोही न्युजरुममा काम गर्ने साथीलाई केही वर्षअघि सोधेँ– त्यसो भन्नेमा तपाईं पनि हुनुहुन्थ्यो रे हो ? सहज रूपमा स्वीकार्दै उनले भने, ‘हो, माहोल मिजासिलो बनाउन पनि कहिलेकाहीँ हामी मजाक गर्ने गथ्र्यौँ, तर पछि खै कसले हो उनीहरूलाई सुनाइदिएछ ।’ सम्झन्छु, माहोल मिजासिलो बनाउनका लागि गरिएको त्यो भद्दा मजाकले राम्रो सम्भावना भएका ती दुई पत्रकारलाई मिडिया क्षेत्र नै छोड्न मन लाग्ने बनाउन सक्छ भनेर शायद त्यतिबेला कसैले पनि सोचेन ।
जिल्लाको एक एफएममा कार्यरत महिला पत्रकारलाई स्टेसन म्यानेजरले एक दिन तिमी रिपोर्टिङ, एडिटिङ सबै आफैँ गछ्र्यौ, कम्प्युटर चलाउँदा कम थाकिन्छ र ? भन्दै उनी बसेको कुर्सीको पछाडि उभिएर काँधमा मालिस गरेझैँ गरी थिचिदिन थालेछन् । उनले अप्ठ्यारो मान्दै होइन, मलाई ठीक छ सर, केही गाह्रो भएको छैन भन्दा होइन मलाई थाहा छ नि दिनभरि कम्प्युटर चलाउँदा कम गाह्रो हुन्छ र ? भन्दै त्यसलाई निरन्तरता दिएछन् । एक्स्क्युज मी सर भनेर बाहिर निस्किएपछि त्यो ठाउँ उनलाई एक्कासि बिरानोझैँ लाग्यो रे । तीन वर्षअघि महिला पत्रकार मात्रै सम्मिलित एक कार्यक्रममा उनले भनेकी थिइन्, ‘अघिल्लो दिनसम्म आफ्नो घरभन्दा प्यारो लाग्ने कार्यस्थल मलाई एकाएक डरलाग्दो ठाउँ लाग्न थाल्यो । त्यसपछि मैले काम छोडेँ र काठमाडौ आएँ ।’ उनी अहिले काठमाडौंको एक रेडियोमा कार्यरत छिन् ।
गत हप्ता सञ्चारिका समूहले आयोजना गरेको एक कार्यक्रममा केही डेस्क एडिटरहरूले भने, ‘हाम्रा बोलीचालीका भाषादेखि विषयवस्तुसम्ममा हामी यौन हिंसा गरिरहेका छौँ जस्तो लाग्छ ।’ उत्तरदायी भूमिकामा रहेका सम्पादकहरूको यस्तो स्वीकारोक्तिले जे भयो र भइरहेको छ त्यो गलत हो, अब सुधार आवश्यक छ भनिरहेको थियो । हत्या गरिएकी महिलालाई समेत हामी उनको परपुरुषसँग सम्बन्ध, सम्पर्क थियो भनेर लेखिरहेका छौँ, यसलाई ‘कन्टेन्ट’मा गरिएको यौन हिंसा नभनेर के भन्ने ?
समाचारका स्रोत मात्र होइन कतिपय मिडियामा पाठक, स्रोता र दर्शकहरूबाट हुने हिंसाको पाटो छुट्टै छ, जसको चर्चा खासै हुने गर्दैन ।
के न्युजरुमहरू हिंसारहित छन् ? अरूको हिंसाको बारेमा लेख्ने, आवाज उठाउने पत्रकारहरूसामु विश्वव्यापी रूपमै प्रश्नहरू गरिँदै छन् । यो प्रश्न अरूले नभएर पत्रकार आफैँले गर्नु आफँैमा सकारात्मक पक्ष हो । ‘कार्यक्रममा अतिथि बोलाउनका लागि कहिलेकाहीँ साथीहरूले मलाई लाउँथे, म पनि चिनेजानेका सार्वजनिक व्यक्तित्वहरूलाई बोलाउँथेँ, तर एक दिन एकजना साथीले यस्तो राम्री मान्छेले बोलाएपछि त पुरुषहरू कसले नाइँ भन्ने ? आइहाल्छन नि भने । मेरो पब्लिक रिलेसनलाई आफ्नै साथीहरूले त्यति हल्काफुल्का रूपमा लिँदा दुःख लाग्यो, तर कसलाई के भन्नु ? कतिपय कुराहरू यस्ता हुन्छन् जुन मी टू भन्न पनि सकिँदैन,’ टेलिभिजनमा कार्यरत पत्रकारले भनिन् । उनको अनुभव यौन हिंसाका लागि कसैले छुनै जानुपर्छ या प्रत्यक्ष छेडखानी नै गर्नुपर्छ भन्ने मान्यताभन्दा फरक देखियो ।
अनि समाचार स्रोतहरू ? के समाचार स्रोतबाट पनि हिंसा हुन्छ ? हो, कतिपय समाचार स्रोतबाट पनि महिला पत्रकारमाथि हिंसा हुन्छ । समाचार स्रोतहरूबाट हुने मी टूभन्दा माथिका अदृश्य हिंसाहरूको बारेमा त यहाँ चर्चा नै हुने गरेको छैन । समाचारका स्रोतहरू जो पनि हुन सक्छन्, तर उच्च तहका स्रोतहरूबाट प्रायः चियाकफीको अफर आउने गर्छ । कफी अफर आफँैमा नराम्रो होइन, त्यो कस्तो नियतले गरिएको छ भन्ने महत्वपूर्ण कुरा हो । समाचारका लागि पटकपटक फोनमा कुरा गर्दा व्यक्तिगत रूपमै नजिक भइसकेको ठान्नेहरू पनि हुन्छन् । त्यसो भए सबै महिला पत्रकार यौन हिंसामा छन् त ? छैनन् । सञ्चारिकाले गरेको अनुसन्धानमा दुई प्रतिशत महिलाहरूले यौन हिंसामा परेको बताएका छन् । तर, अरूको लागि आवाज उठाउने क्षेत्रका लागि यो दुई प्रतिशत पनि ठूलो कुरा हो । कतिले चाहिँ के भनिरहनु है यस्ता कुरा भनेर नभनेका पनि हुन सक्छन् । अन्य क्षेत्रलाई हेर्दा हाम्रा न्युजरुमहरू त्यति असुरक्षित देखिँदैनन्, तर व्यक्त गर्न गाह्रो हुने, अदृश्य हिंसाबाट गुज्रिनेहरूको सङ्ख्या भने राम्रै छ । समाचारका स्रोत मात्र होइन कतिपय मिडियामा पाठक, स्रोता र दर्शकहरूबाट हुने हिंसाको पाटो छुट्टै छ, जसको चर्चा खासै हुने गर्दैन ।
अरूले जे–जे भने पनि यौन हिंसालाई लिएर यो पङ्क्तिकारको आफ्नै परिभाषा छ, एउटाले लिने मनोरञ्जन अर्को पक्षका निम्ति पीडाको विषय हुनुभएन, त्यही हो यौन हिंसा ।
जुनसुकै क्षेत्रका किन नहुन्, यौन हिंसाका घटनाहरू कमै मात्र कानुनी दायरामा पुग्ने गरेका छन् । इन्टरनेसनल विमेन्स राइट्स एक्सन वाच एसिया प्यासिफिक र महिला, कानुन र विकास मञ्च (एफडब्लूएलडी) ले गरेको अध्ययनअनुसार पाँचवटा जिल्लाका अदालतहरूमा एक वर्षमा जम्मा १८ वटा यौन हिंसाका मुद्दाहरू परेका थिए । हरेक दिन कुनै न कुनै रूपको यौन हिंसाबाट महिलाहरू गुज्रिरहेका बेला यति थोरै मात्रै मुद्दा किन परे त ? किनभने यौन हिंसा यस्तै भएको थियो भनेर देखाउन या भन्न त गाह्रो हुन्छ, प्रमाण कहाँबाट ल्याउने ? अदालतले प्रमाण खोज्छ । मी टूमा केस गर्नेहरूमध्ये धेरैले सप्रमाण बोलेका छन् । कसैले मोबाइलमा आएका सन्देशहरू राखेका छन्, कसैले साथीभाइलाई रिफ्रेन्स दिएर कुरा गरेका छन् । तर, कतिपय यौन हिंसाहरू यस्ता हुन्छन् जहाँ प्रमाण जुटाउन गाह्रो हुन्छ । हरेक औपचारिक, अनौपचारिक क्षेत्र, पेसा, व्यवसाय, समुदाय, घरपरिवार कतै पनि यो विषय अछुतो रहेको छैन । त्यसैले जताततै फैलिएर बसेको यौन हिंसाको बारेमा खुलेर छलफल गर्नु आवश्यक छ ।
खासमा यौन हिंसा केलाई भन्ने, कतिलाई भन्ने ? यौन हिंसा के हो, के होइन ? हामीकहाँ खुलेर छलफल हुने गरेको छैन । कानुनले यौनजन्य क्रियाकलाप मात्र होइन, मनसायसमेतको कुरा गरेको छ, तर मनसायको प्रमाण के हो ? यसै भन्न सकिन्न । प्रायः सबै महिला जिन्दगीको कुनै न कुनै मोडमा यौन हिंसाबाट गुज्रिएका छन् । तर, कतिले भन्ने हिम्मत गरे, कतिले गरेनन्, गर्न सकिरहेका छैनन् । कतिपयले भन्ने गरेको सुनिन्छ, ‘पहिला नभनेर अहिले यस्ता घटना बाहिर ल्याउनुको अर्थ के हो ? हिंसा भएको भए त त्यतिबेलै ल्याउनुपथ्र्यो नि ।’ ममाथि कुनैबेला यौन हिंसा भएको थियो भनेर विगतमा भएका घटना त भन्न गाह्रो छ भने वर्तमान ओझेलमा पर्नु स्वाभाविक नै हो । त्यसो भए यौन हिंसा के हो ? अरूले जे–जे भने पनि यौन हिंसालाई लिएर यो पङ्क्तिकारको आफ्नै परिभाषा छ, एउटाले लिने मनोरञ्जन अर्को पक्षका निम्ति पीडाको विषय हुनुभएन, त्यही हो यौन हिंसा ।