इतिहास झल्किने, आधुनिकता टल्किने धरहराको निर्माण गर्छौंः प्रधानमन्त्री ओली
काठमाडौं/ ऐतिहासिक धरहरा पुनःनिर्माणको शिलान्यास कार्यक्रम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुखको सभापतित्वमा, प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, निर्माण व्यवसायी रमन कन्स्ट्रक्सनका प्रतिनिधि लगायतका थुप्रै व्यक्तिहरुको उपस्थितमा आज औपचारिक कार्यक्रमका साथ सम्पन्न भयो ।
यस कार्यक्रममा बोल्दै निर्माण व्यवसायी कम्पनी रमन कन्स्ट्रक्सनका प्रतिनिधिले हामीले हाम्रै देशमा उत्पादन भएका नेपाली इन्जिनियरहरुको क्षमता प्रदर्शन गर्न पाउँदा ज्यादै खुसी लागेको भन्नुभयो । हामी हाम्रो क्षमता प्रदर्शन गर्ने छौं र विश्वलाई देखाउने छौं भन्ने समयसिमाभित्रै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै नागरिक समाजको तर्फबाट ध्रुव वजगाईले धरहरा सम्बन्धी एउटा कविता वाचन गरेर सुनाउनुभएको थियो ।
त्यस्तै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले यो धरहरा निर्माण गर्न लामो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग छलफल गरियो र विभिन्न समस्यालाई छिचोल्दै यहाँसम्म आइपुगेका छौं भन्नुभयो । अब हामीले पटक पटक भत्किने धरहरा होइन नभत्किने धराहरा बनाउनुपर्छ भन्नुभयो । यो धरहरा निर्माण गर्दा काठमाडौंवासीको स्वास्थ्यमा ख्याल राख्दै धुलो बाहिर फैलिन नदिन ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यासको औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको मन्तव्यको पूर्णपाठः
यस कार्यक्रमका सभापति ज्यू, मञ्चमा आसिन पूर्व प्रधानमन्त्री तथा नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ज्यू, माननीय मन्त्री ज्यूहरु, प्राधिकरणका अन्य पदाधिकारी साथीहरु, महानगरका मेयर लगायत सम्पूर्ण विशिष्ट व्यक्तित्वहरु र दाजुभाइ तथा दिदी बहिनीहरु । आज यस ऐतिहासिक स्थलमा एउटा ऐतिहासिक कार्य अगाडि बढाउने संकल्प गरेका छौं र त्यसको शुभारम्भ गरेका छौं । हाम्रो ऐतिहासिक धरहरा, काठमाडौं वासीहरुको प्यारो धरहरा र नेपालीहरुकै प्यारो धरहरा, त्यो पटक पटक भत्किने गर्यो, फेरि बनाउने गरियो र २०७२ साल वैशाख १२ गतेको भूकम्पले फेरि भत्कायो । धेरै कुराहरु भत्कायो र धरहरा पनि भत्कायो । हामीले सम्पूर्ण कुराहरु बनाउने संकल्प गर्यौं । धेरै कुराहरु पुनः निर्माण भैसके जसमध्ये धरहरा पनि एउटा हो जसको शुभारम्भ हामीले गरेका छौं । मैले विश्वास लिएको छु । हामी सबैले यस कार्यमा आफ्नो ठाउँबाट खेल्नुपर्ने सकारात्मक भूमिका खेल्ने छौं, योगदान गर्नेछौं ।
मैले जसरी अलिकति फरक ढाँचामा सोचेको थिएँ अघिल्लो पटक । मै बनाउछु मेरो धरहरा । अर्थात मैले त्यो अलिक फरक खर्चमा सरकारको खर्च पनि होइन जनताको खर्चमा भन्ने सोचेको थिएँ त्यो अलिक अभियानमा लाग्नु पर्यो । फेरि पनि पनुः निर्माण प्राधिकरणको ऐन बनेर हामीले २०७२ पुस ५ गते ऐन पास गर्यौं । र आज तीन वर्ष भयो पुनः निर्माण प्राधिकरणको प्रारम्भ भएको । त्यसको तुरुन्तै पछि माघ २ गते १९९० सालको भूकम्पलाई स्मरण गरेर सम्माननीय राष्ट्रपतिको हातबाट रानीपोखरीको शिलान्यास गरिएको थियो र मैले पनि त्यो बेलामा शिलान्यास गरेको थिएँ ।
फागुन चार गते यसै ठाउँमा आएर मैले मै बनाउँछु मेरो धरहरा भनेर भनेको थिएँ । हरेक नेपालीको मनको भावना बुझेर नयाँ संकल्प गरेर आजबाट अगाडि बढाएका छौं । अबको दुई वर्षभित्र धरहरा निर्माण हुने ठेकदार कम्पनीले आफ्नो प्रतिवद्धता जनाएको छ र म विश्वस्त छु । निर्धारित समयभित्र काम सम्पन्न हुनेछ । हामी फेरि हाम्रो गौरवपूर्ण धरहरा हाम्रा आँखा अगाडि देख्नेछौं ।
हामी वातावरण सुधारिएको, बाटाहरु सुधारिएको, हरियाली बढाइएको काठमाडौं धरहराका टुप्पाबाट हेर्नेछौं । यसपटक धरहरा टुप्पामा जवानहरु मात्र चढ्न सक्ने होइन बुढापाका पनि चढ्न सक्नेछन् । मै लाई धरहरा चढ्न मुस्किल थियो । हामी भन्दा अलि कमजोर स्वास्थ्य भएका पनि र जेष्ठ उमेरका पनि चढ्न सक्ने गरी । टाढाटाढाबाट मान्छेहरु आउँछन्, विदेशबाट मान्छेहरु आउँछन्, धरहराबाट काठमाडौं हेरौं भन्ने लाग्छ । त्यस्तो अवस्थामा हामीले हेर्न सक्नेगरी चढ्न सक्ने गरी धरहरा निर्माण गर्नेछौं । अबको धरहरा निर्माण गर्दा बाटो जाम हुँदैन । अब धरहरा हेर्न मान्छे आएर धरहरा हेरे, धरहरा चढे भने बाटो जाम हुँदैन किनभने पहिले कतै गाडी राख्ने ठाउँ हुँदैनथ्यो । मै आउँदा पनि बाटो जाम भयो ।
बाटोमा गाडी राख्नु पर्यो हामी आउँदा अन्त ठाउँ छैन । त्यो प्रकारका समस्या अब हुनेछैनन् । धरहराले आउने गाडि मोटरसाइकलहरुलाई आफ्नै खल्तीमुनी राख्छ । त्यसो भएपछि अन्त बाहिरी बाटोमा जाम हुदैन । बाटो जाम नगरी भिजिटरहरु धरहरा हेर्न चाहनेहरु, धरहरा चढ्न चाहनेहरु आउन सक्ने पार्किङको प्रबन्ध भएको, मनोरम दृश्य, आउँदा पार्कहरु मात्र देखिने, घुम्न मनलाग्ने ठाउँ पनि हुने ऐतिहासिक सुन्धारा यहाँ फेरि अनवरत पानीका धारा चल्ने, यसरी चल्थ्यो सुन्धारा त्यो ऐतिहासिक सुन्धारा टक्सार जहाँ राखे पनि हुन्छ, पैसा जहाँ छापे पनि हुन्छ, खुद्रा पैसा जहाँ राखे पनि हुन्छ ।
त्यो मान्छेले देख्नु कुरा पनि होइन पर्यटकीय कुरा पनि होइन । यसरी फरक ढंगले निर्माण गरिने छ । यो निर्माणले म दाजुभाई दिदीबहिनीहरुलाई भन्न चाहन्छु, यो निर्माण यो निर्माणसँग मात्र सम्बन्धित छैन । यो निर्माण यस्तै निर्माणको अंग मात्र हो । देशकै अहो विकासको एउटा नयाँ लहर अगाडि बढेको छ त्यसको यो एउटा भाग हो, त्यसको एउटा हिस्सा हो ।
हरेक कुराको आधुनिकीकरणको अभियान चलेको छ त्यसको यो एउटा अंग हो । पुरानै जस्तो मात्रै होइन । मैले भन्ने गरेको छु, इतिहास पनि हाम्रो झल्किनु पर्छ । हाम्रो इतिहास मासिनु हुँदैन । तर इतिहास झल्किदा पुरानैपनमा बसिरहने होइन आधुनिकता पनि त्यसमा टल्किनुपर्छ । त्यसकारण धरहरा पनि त्यस्तै हुन्छ । इतिहास झल्किन्छ आधुनिकता टल्किन्छ ।
एयरपोर्ट पनि त्यस्तै भनेको छु । इतिहास झल्किन्छ आधुनिकता टल्किन्छ, हामीले बुटिक एयरपोर्ट बनाउने भनेका छौं । हाम्रा थुप्रै कुराहरु हाम्रा निर्माणका कामहरु आधुनिक सुविधासम्पन्न हुन्छन् । आधुनिकतालाई हामी अंगाल्छौं । आधुनिकता पनि त्यसमा टल्किन्छ र हाम्रो इतिहास पनि झल्किन्छ । त्यस ढंगले हामी पुनः निर्माण गर्छौं । रानीपोखरी विलम्ब गर्नुहुँदैन ।
विवादमाथि विवाद गर्ने होइन रानीपोखरीलाई ऐतिहासिक रानीपोखरी, उस्तै तर बलियो । उही धरहरा हामी उभ्याउन सक्दैनौं । उही धरहरा भत्कियो, भत्किएकै धरहरा उभिदैन नयाँ नै बनाउनु पर्छ । यथार्थ यही हो । त्यसैले नयाँ बनाउँछौं उस्तै बनाउँछौं । नयाँ बनाउँदा भत्किने बनाउनु पर्दैन नभत्किने बनाए पुग्छ । उस्तै तर बलियो, उस्तै तर नयाँ, उस्तै तर नयाँ प्रविधि समेतको प्रयोग । र घरहरु पनि हामी उस्तै बनाउँदै छौं तर उस्तै उस्तै बनाए पनि नभत्किने गरी बनाउनुपर्छ बलिया । त्यस कुरामा हामीले ध्यान दिएका छौं ।
हामी राष्ट्र निर्माणको एउटा विकासको एउटा महा अभियानमा जुटेका छौं । तीब्र अभियानमा जुटेका छौं । त्यसकारण हामी धेरै लामो समय पर्खन सक्दैनौं । म हाम्रो निर्माण कम्पनी र व्यवसायि साथीहरुलाई भन्न चाहन्छु, समयमा ध्यान दिऔं, समयभित्र काम गरौं, समयभित्र काम गर्दा निर्माण कम्पनीलाई पनि विलम्ब भएको कारणले हुने नोक्सानी हुँदैन र सबैलाई फाइदा हुन्छ । अर्को काम गर्न सक्नुहुन्छ । सामानहरुको मुल्य वृद्धि भएको हुँदैन र थुप्रै कुराहरुको फाइदाहुन्छ र देश नोक्सानमा पर्दैन । अर्को, महानगर प्रमुखले भर्खरै राख्नुभयो, निर्माण कम्पनीले ध्यान दिओस वातावरण कसरी स्वच्छ राख्ने ? त्यस सन्दर्भमा पनि ध्यान दिओस । यहाँ निर्माण कार्यले धुलो बाहिर गएर अरुलाई क्षति नपुर्याओस ।
अरु विभिन्न देशमा हामीले देख्छौं, विभिन्न ठाउँमा हामी देख्छौं, निर्माण कार्य भइराखेको हुन्छ तर अरुतिर त्यसले असर गर्न पाइराखेको हुँदैन । त्यसलाई धुलो छेक्ने जालीहरु राख्ने पर्दाहरु राख्ने त्यसबाट धुलो बाहिर जान पाएको हुँदैन । त्यस प्रकारका प्रबन्धहरु हामी गर्न सक्छौं र त्यसबाट सानो प्रयासबाट ठूलो योगदान पुगिरहेको हुन्छ । म यतापटि पनि मेयर ज्यूको कुरालाई समर्थन गर्न चाहन्छु र निर्माण कम्पनीलाई आग्रह गर्न चाहन्छु ।
हामी हरेकले हाम्रो वातावरणलाई ध्यान दिनुपर्छ । र अब काठमाडौंलाई काठमाडौं जस्तो छ त्यसलाई भत्काएर नयाँ बनाउन सकिँदैन तर काठमाडौंलाई सुरक्षित काठमाडौं, स्वस्थ काठमाडौं, आकर्षक काठमाडौं, हरियालीयुक्त काठमाडौं, अक्सिजन पुरा भएको काठमाडौं, इटाभट्टाको सहर होइन आकर्षक सहर, हरियालीयुक्त सहर, पुरातात्विक हिसावले महत्वको सहर, पर्यटकहरु पनि आउन सक्ने हामी आफै पनि बस्न सक्ने सास फेर्न अप्ठेरो नहुँने, यहाँको सास फेर्दा विरामी नहुने यहाँको सास फेराई विरामी हुने होइन स्वस्थ हुनुपर्छ ।
ठमाडैंलाई आरोग्यकेन्द्र जस्तो बनाउनुपर्छ । त्यसकारण हाम्रा नदीहरुको स्वच्छता, हाम्रा जमिनको स्वच्छता, यी कुराहरुमा हामीले ध्यान दिनुपर्छ र काठमाडौं उपत्यकाको भवन यहाँ कुनै धुलो फोहोर केही भयो भने स्वाट्टै हावाले लगिहाल्ने खालको छैन यो उपत्यका भएको हुनाले । उपत्यकाको विशेषतालाई ध्यानमा राखेर प्रदुषण हुन नदिने, यो वातावरण हामीले तयार गर्ने र त्यस अनुसारको हरियाली, त्यस अनुसारको स्वच्छता, त्यस अनुसारको पवित्रता, त्यस अनुसारको वातावरण हामीले निर्माण गर्नुपर्छ ।
धरहराको टुप्पामा चढेर हेर्दा धुलोले काठमाडौं परसम्म नदेखिने स्थिति भयो भने हाम्रा लागि शरमतुल्य हुन्छ । हाम्रो सभ्यताका लागि चुनौतिको कुरा हुन्छ । हाम्रो चेतनाका लागि चुनौतिको कुरा हुन्छ । त्यसकारण हामीले दुनियाँका अगाडि सचेत, जागरुक र आधुनिक मानिसहरु बसोबास गरेको सहर काठमाडौंको रुपमा परिचित गराउने ध्यान दिनु जरुरी छ । हामी हरेकले ध्यान दियौं भने त्यो हुन नसक्ने कुरा छैन । जे होस आज शिलान्यास भएको छ, हामीले ताम्रपत्रको पनि अनावरण गरेका छौं । र यो एउटा महत्वपूर्ण कामको थालनी गरेको छौं ।
यो सबै पक्षलाई असहमति, यसो गरेको भए हुन्थ्यो कि धेरै मान्छे छौं हामी धेरै मान्छेका यसो गरे राम्रो हुन्थ्यो कि, यसो नगरेको भए राम्रो हुन्थ्यो भन्ने लाग्न सक्छ । तर यसभित्र थुप्रै विज्ञ विशेषज्ञहरुदेखि लिएर, सरोकारवाला देखि लिएर अनेकथरीले विचार विमर्श लामो समयसम्म गरेर नै यस कामलाई अगाडि बढाइएको छ । त्यसकारण हामी विकास निर्माणका कामलाई आधुनिकता सहितको हाम्रो गौरवपूर्ण इतिहासलाई कायम राख्ने कुरामा पछाडि सर्नु हुँदैन । व्यवधान गर्नुहुँदैन ।
हामी सबैले यसलाई साथसहयोग दिनुपर्छ । विरोध, असहयोग, जस्ता कुराहरु वाञ्छनीय हुँदैनन् । त्यसकारण म सबैलाई आग्रह गर्न चाहन्छु, यस कामलाई यस अभियानलाई समर्थन गरौं, यस अभियानमा एकजुट होऔं, साथ दिऔं । आफ्नु ठाउँबाट केही गर्न सकिन्छ भने गरौं, गर्न सकिँदैन भने पनि शुभ होस भन्न त सकिन्छ, राम्रो होस् भन्न त सकिन्छ, छिटो बनोस त भन्न सकिन्छ, बलियो बनोस् भन्न सकिन्छ, राम्रो होस मात्र भन्ने शुभकामना दिएर बस्न त सकिन्छ । राम्रा कामको विरोध किन गर्ने ? म सबैलाई आग्रह गर्न चाहन्छु । यस अभियानलाई अगाडि बढाऔं । प्राधिकरणलाई धन्यवाद भन्न चाहन्छु, प्राधिकरणले यसलाई दृढताका साथ अगाडि बढाउने संकल्प गरेको छ । पुरातत्व विभागलाई म धन्यवाद भन्न चाहन्छु उसले पुरातात्विक हिसावको यसको लुक्समा यसको उस्तै देखिने कुरामा उस्तै रहने कुरामा महत्वपूर्ण भूमिका खेलेको छ । र निर्माण व्यवसायी भित्रहरु जसले यसको जिम्मा लिनुभएको छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । मैले उहाँहरुको चेहरामा हेर्दा उहाँहरुको चेहरामा राम्रो संकल्प देखेको छु, अठोट देखेको छु । समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता वचन र हाउभाउ बडी ल्याङग्वेज सबै कुरामा मैले देखेको छु । म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु । यस काममा सफलता मिलोस् ।
यहाँहरु सबैलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु । कमसेकम यो हाम्रो धरहरा हामीले बनाउनुपर्ने धरहरा यसमा हाम्रो ऐक्यवद्धता यसका निम्ति यहाँहरुको उपस्थितिको निम्ति कविजी लगायतका साथीहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । जसले यस सन्दर्भमा कविता बनाउनुभएको छ, लेख्नुभएको छ, उत्साह भर्नुभएको छ, हाम्रो गौरवगाथा गाउनुभएको छ, हाम्रा अभिभारा र कर्तव्यहरुतर्फ संकेत गर्नुभएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु । सबैमा धेरै धेरै शुभकामना पुगोस र छिटै नै हामी नयाँ धरहराको टुप्पोमा चढेर हेर्न पाउँ । सबैलाई धन्यवाद ! from communistonline