नागरिक पोष्ट News


बम्जनविरुद्ध किटानी जाहेरी

2.4K

बारा : तपस्वी भनेर चर्चा कमाएका रामबहादुर बम्जनले हत्या र हिंसाले मानवको जगत्को कल्याण नहुने भन्दै हलखोरियाको जंगलमा पटकपटक धार्मिक प्रवचन दिए । करिब १० वर्षअघि तपस्यास्थल भनिएको हलखोरिया जंगलमा उनको प्रवचनलाई धेरैले सुने । उनको प्रवचनले हिंसाविरुद्ध लाग्न मानिसलाई उत्प्रेरित पनि गर्यो‍ ।

पाँच वर्षमा लाग्ने गढीमाई मेलामा चढाइने पशुबलि आफैं उपस्थित भएर रोक्ने उनको उद्घोषले निकै चर्चा पायो । तर बली रोक्छु भन्दै जंगलबाट निस्किएका बम्जन तीन महिनासम्म बेपत्ता भएर युवतीसँग भेटिएपछि उनीमाथिको आस्था कम हुँदै गयो । त्यति मात्र नभई हिंसाविरुद्ध प्रवचन दिने बम्जन एक दशकयता पटकपटक यस्तै विवादमा तानिएपछि उनले तपस्यास्थल नै छाड्नुपर्यो‍ ।

हिंसाविरुद्ध प्रवचन दिने बम्जनमाथि अहिलेसम्म बलात्कार, बन्धक, कुटपिट, बेपत्ता, तरबार प्रहार, किर्तेलगायत थुप्रै आरोप लागिसकेको छ । तपस्या भंग गर्न खोजेको भन्दै एक दशकअघि रतनपुरको एक स्थानीय युवालाई तरवार प्रहार गरेपछि विवादमा मुछिएका बम्जनलाई अहिले बाराका एक व्यक्तिलाई बेपत्ता पारेको उजुरी परेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१८ बडहर्वाका हस्तबहादुर आलेले जिल्ला प्रहरी कार्यालयमा पुगेर बिहीबार ३४ वर्षीय छोरा सुरेशलाई तीन वर्षदेखि बेपत्ता बनाएको भन्दै बम्जनविरुद्ध किटानी जाहेरी दिएका छन् । 

आलेले दिएको उजुरीमा बम्जनको अनुयायी भएर बसेका छोरा आश्रमस्थलबाटै बेपत्ता बनाइएकाले खोजी र सकुशल उद्धार गर्न आग्रह गरिएको छ ।

छोरा बम्जनको आश्रममा छ भनेर हामी ढुक्क भयौं । तर अहिले अत्तोपत्तो छैन ।

छोराको खोजीका लागि पटकपटक आश्रम र बम्जनसँग जोडिएका व्यक्ति भेटेर सोधपुछ गर्दा कसैले नबताएपछि उजुरी दिएको उनले बताए । ‘बर्सौंसम्म छोरा घर नआएपछि खोजी ग¥यौं, कोहीले छाडिसक्यो भन्छन्, कोहीले बाहिर गएको छ भन्छन्’, आलेले भने, ‘बम्जनको आश्रममा छ भनेर हामी ढुक्क भयांै । तर अहिलेसम्म अत्तोपत्तो नभएपछि डर लाग्न थालेको छ ।’

सुरेश २०७२ जेठपछि घर आएका छैनन् । भूकम्पपछि घर आएका सुरेशलाई बम्जनको नजिक रहेर काम गर्ने जसबहादुर वाइबाले बोलाएर लगेका थिए । त्यसयता घर नआएका सुरेशबारे वाइबासँग बुझ्दा थाइल्यान्डमा रहेको र धर्ममा लागिरहेको जवाफ आउने गरेको आलेले बताए ।

हलखोरिया आश्रममा बस्ने क्रममा सुरेश समय निकालेर घर आउने गरेका थिए । बम्जनसँगै हिँड्ने उनी सर्लाही र सिन्धुपाल्चोकसम्म पनि पुगे । रातो वस्त्रमा हिँड्ने सुरेश धेरै जसो बम्जनसँगै हुन्थे । बम्जनसँगै छोरालाई देख्न पाएपछि खुसी हुने उनका आमाबुबा यति बेला निराश छन् । धर्ममा लाग्छु भन्दै हिँडेको एक्लो छोरा घर नफर्किएपछि आफूहरूलाई सहारा दिने कोही नभएको आले बताउँछन् ।

बम्जनले बेपत्ता बनाएको भन्दै खोजी गरिदिन उजुरी आएको र त्यस विषयमा आफूहरूले सम्बन्धित ठाउँमा परिपत्र गरिसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक चन्द्रेश्वर साहले बताए ।

बम्जनमाथि यसअघि नुुवाकोटकी कर्मा तामाङ, हेटौंडाकी फूलमाया रुम्बा, हेटौंडाका सञ्चलाल वाइबा र सर्लाहीकी रिता भनिने युवतीलाई बेपत्ता बनाएको आरोप छ । बम्जनमाथि गंगामाया तामाङ नाम गरेकी युवतीले बलात्कारको आरोप लगाएको खबर सञ्चारमाध्यममा आइसकेको छ । तपस्या गर्ने भन्दै देशका विभिन्न स्थानमा पुग्ने गरेका बम्जनले बारामा रहँदा पनि थुप्रै पटक विवादमा तानिए ।

बम्जनले स्लोभाकियाकी मारिची नामकी महिलालाई ६ वर्षअघि तीन महिनासम्म बन्धक बनाएर राखे । उनी बन्धक भएको समाचार बाहिर आएपछि बन्धकका सहयोगीले उनलाई जंगलबाट सिमरामा ल्याएर छाडेका थिए । विदेशी महिलासँगै बन्धक भएकी अर्की एक आनी भनिने महिलालाई प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । महिलालाई उद्धार गरे पनि बन्धक बनाएको आरोपमा उनीमाथि कारबाही भएन।

विश्व शान्ति र मानव जगत्को कल्याणका लागि आफूले तपस्या गरेको भन्ने बम्जनले हलखोरिया जंगलमा २०६७ साउनमा च्याउ टिप्न गएका जितपुरसिमरा उपमहानगरपालिका–१८ का १७ जना सर्वसाधारणलाई रातभर नियन्त्रणमा राखेर कोर्रा प्रहार गरेका थिए । त्यसै बेला उनलाई कारबाही गर्न पीडित पक्षले प्रशासन गुहा¥यो । तर तपस्यारत भनिएका बम्जनलाई प्रशासनले कारबाही गर्न सकेन ।

मनहर्वाका सर्वसाधारण कुटेको केही समयपछि उनले तपस्यास्थलभित्र छिरेको निहुमै रतनपुरका कछाडिया टोलका गोठाला समूहलाई पनि कुटपिट गरेका थिए । उक्त कुटपिट घटना भने पछि मात्र सार्वजनिक भएको थियो । यस घटनाप्रति पनि प्रहरीप्रशासन अनभिज्ञ बन्न पुग्यो ।

बम्जन पटकपटक विवादमा तानिएपछि स्थानीय प्रशासनले उनीमाथी निगरानी बढाउन थाल्यो । राष्ट्रिय वन क्षेत्र तारघेरा गरी जंगलमा निर्मित भवन स्थानीय प्रशासन र वन कार्यालयले भत्काएपछि बम्जन अन्यत्र जान थालेका थिए । बम्जनले तारघेरा गरेको हलखोरिया क्षेत्र अहिले पर्सा राष्ट्रिय निकुञ्जमा पर्छ । नेपाली सेनाले खटिएको उक्त क्षेत्रमा बम्जनका अनुयायीसमेत बस्छन् ।  aanapurna bata savar

Must View