नागरिक पोष्ट News


लैंङ्गिक हिंसाविरुद्व आयोजित क्रिकेटको उपाधि सिर्जनशील किशोरी समूहलाई

2.8K

कपिलवस्तु, २४ मंसिर । “चौका छक्का लगाऔं, बालविवाह तथा लैङ्गिक हिंसाको अन्त्य गरौ ।” भन्ने मुल नाराका कपिलवस्तुको तौलिहवामा सम्पन्न किशोरी क्रिकेट प्रतियोगिताको उपाधि सिर्जनशिल किशोरी समुहले जितेको छ । मंगलबार भएको फाइनल खेलमा सिर्जनशीलले नवज्योति किशोरी समूहलाई ५ बिकेट पराजित गरेको हो । १६ ओभर निर्धारित प्रतियोगितामा पहिलो व्याटिङ गर्दै नवज्योति किशोरी समुहले अलआउट हुदै ६९ रन जोडेको थियो ।

ब्याटिङ्गतर्फ नवज्योतिका राजकुमारी यादव र उषा यादवले समान १०÷१० रन जोडेका थिए भने सिर्जनशीलकी पूजा थारुले ४ बिकेट लिएकी थिईन । ७० रनको लक्ष्यले मैदानमा उत्रिएको सिर्जनशीलले ११ ओभर ५ बलमा ५ बिकेट गुमाउदै लक्ष्य पक्रन सफल भएको थियो । सिर्जनशीलकी बविता बिकले सर्वाधिक २७ रन जोडेकी थिईन ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टोलीलाई क्रमश १० हजार र ५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ता, युएनएफपीएकी केन्द्रीय प्रतिनिधि अपेक्षा राणा र क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरे लगायतले विजेता तथा उपविजेता टोली तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

युएनएफपीए, नेपाल परिवार नियोजन संघ र कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोग तथा कपिलवस्तु क्रिकेट संघको आयोजनामा ती दिन सम्म सञ्चालित प्रतियोगितामा चार किशोरी टोलीको सहभागिता रहेको थियो ।

Must View