नागरिक पोष्ट News


प्रहरी प्रमुखलाई सांसदको प्रश्न- हत्यारा समाउन नसक्ने, फर्जी अपराधी बनाउने ?

2.3K

सांसदहरूले निर्मला पन्त बलात्कार र हत्यामा संलग्न अपराधी समाउन नसकेको भन्दै नेपाल प्रहरीको आलोचना गरेका छन्।  संसदको दीगो विकास तथा सुशासन समिति बैठकमा घटनाबारे अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानबारे जानकारी दिन पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।

उनीहरूले प्रहरी नेतृत्वले काम गर्न नसक्ने भए राजीनामा दिएर बाटो खोल्नु पर्ने बताए।

‘हत्यारा पत्ता लगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्, हामी सक्षम मानिस नियुक्त गर्छौं,  संघीय समाजवादी फोरमकी राष्ट्रिय सभा सांसद प्रमिलाकुमारीले भनिन्,‘हत्यारा समाउन नसक्ने अनि फर्जी अपराधी बनाउने?’

नेकपाका सांसद दिनानाथ शर्माले अपराधलाई राजनीतिकरण भएको भए वा कसैले अनुसन्धानमा हस्तक्षेप गरेको बाहिर ल्याउन खनाललाई सुझाव दिए।

जवाफमा महानिरीक्षक खनालले निर्मला प्रकरणले आफूलाई निद्रा नलागेको बताए।  

‘अपराधी पत्ता नलाग्दा मलाई पनि निद्रा लागेको छैन। आइजिपी र नेपाल प्रहरी यो मुद्दामा एकदमै गम्भीर छ। सामर्थ्यले भ्याएसम्म गरेका छौं। एक रौं पनि गैरव्यवसायिक काम गरेका छैनौं,’ खनालले भने,‘ कसैको दबाब छैन, प्रभावित छैन हुँदैन पनि। म सेवाको उत्तरार्धमा छु बर्दीमा दाग लाग्ने काम गर्दिनँ।’

उनले निर्दोष व्यक्तिलाई फसाउने काम प्रहरीबाट नहुने बताए।

‘अनुसन्धानका लागि ल्याएको व्यक्तिको नाम सार्वजनिक हुँदा समस्या भएको छ,’ खनालले भने, ‘यदि आइजिपीले नचाहिँदो काम गरेको लाग्छ भने संसदमा ल्याएर बर्दी खोल्दिनुस्।’

उनले एउटा घटनालाई लिएर सिंगो प्रहरीको मूल्यांकन गर्न नहुने तर्क गरे।

‘भर्खरै हामीले अन्तर्राष्ट्रियस्तरमा सुशासन अवार्ड पाएका छौं, एउटा घटनाका विषयमा सिंगो प्रहरीको मूल्यांकन गर्न मिल्दैन, ’ खनालले भने।

बैठकमै सांसद  मुक्ताकुमारी यादवले आफ्नो व्यक्तिगत घटना पनि सुनाएकी थिइन्।

‘छिमेकीको घरमा गएको मेरो छोराको चैत २ गते हत्या भयो,  प्रहरीले दुर्घटना भनेर मुचुल्का उठायो। जबकी उसको हातमा धारिलो हतियारको घाउ थियो,’ यादवले भक्कानिँदै सोधिन्- आइजीसाब् मेरा छोराको हत्या अनुसन्धान कहाँ पुग्यो?

Must View