दलको छाताभित्र विज्ञलाई स्थान
राजनीतिज्ञ र विज्ञको फ्युजन भएको संगठन नै अबको राजनीतिक पार्टी एवं सरकार गठनको मोडेल बन्न सक्नुपर्छ
के अन्य क्षेत्रमा सफल व्यक्तिहरू राजनीतिमा प्रवेश गर्नु हुँदैन ? उनीहरूको राजनीतिमा संलग्नता पैसासँग साटेर मात्रै सम्भव भइरहेको छ ? उनीहरूले आफ्नो क्षेत्रमा प्राप्त गरेको सफलताको अनुभव के राष्ट्रका लागि प्रयोग गर्नु नाजायज हो ? पार्टीहरूले उनीहरूलाई आकर्षण गर्नुपर्दैन ?
कोही आफ्नो क्षेत्रमा सफल हुन्छ भने ऊ आफैँमा विशिष्ट क्षमता भएको व्यक्ति हो । त्यो उद्यमी–व्यवसायी, कर्मचारी, डाक्टर, इन्जिनियर वा समाजसेवी जेसुकै होस् । जसले केही गर्ने सपना देख्छ र सपनालाई पछ्याउन सक्छ, ऊ मात्रै सफलताको शिखर चढ्न सम्भव छ । उद्यमी व्यवसायीको हकमा पनि यो लागू हुन्छ किनभने उनीहरूले सपना देखेर, सपना पछ्याएर मात्र हुँदैन ।
यससँगै उनीहरूसँग उच्च व्यवस्थापन क्षमता हुनुपर्छ । तब मात्रै उद्यम, व्यवसाय स्थापना गर्न,विस्तार गर्न र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हैसियत स्थापित हुन्छ । त्यसैले यस्ता व्यक्ति पैसासँग राजनीतिक पद साट्ने हैसियतका मानिस मात्रै हुन् भन्ने सतही टिप्पणीसँग सहमत हुन सकिँदैन, जुन अहिले भइरहेको छ ।
सिर्जनशील सोच, श्रम, सीप, पुँजी व्यवस्थापन र व्यवस्थापकीय क्षमता भएका व्यक्तिका लागि मात्रै ‘उद्यमी, व्यवसायी’ को हैसियत प्राप्त हुन्छ । जसले आफ्नो क्षेत्रमा विशिष्ट काम गरी सफल इतिहास बनाएको छ, उसले देशको राजनीतिमा लागेर नयाँ इतिहास रच्ने सपना देख्नुलाई आश्चर्य मानिनु हुँदैन । आफूसँग रहेको त्यही विशिष्ट क्षमता राष्ट्रका लागि योगदान गर्ने सोचसाथ उनीहरू राजनीतिप्रति आकर्षित भएका हुन् । न कि पद र पैसाका लागि ।
सरकारहरू विकास निर्माण र सेवा प्रवाहमा किन चुक्छन् ? प्रत्येक निर्वाचनपछि आमजनतामा नयाँ उत्साहको सञ्चार भइरहेको हुन्छ– अब बन्ने सरकारले केही गरेरै देखाउँछ । नयाँ बन्ने सरकार पनि केही गरेरै देखाउने अठोटसाथ सिंहदरबार प्रवेश गरेको हुन्छ । तर, त्यो उत्साह ‘हनिमुन पिरियड’सम्म पनि टिक्दैन । सरकार बन्दाको समयमा सरकारको पक्षमा उत्साहित जनता सय दिन पुग्दा नपुग्दै निराश बनिसकेका हुन्छन् ।
विगतका धेरै सरकारका आफ्नै सीमा थिए । प्रायः सरकार राजनीतिक दलहरूको गठबन्धनबाट बनेका थिए । प्रधानमन्त्रीले चाहँदैमा सबैको ‘इन्ट्रेस्ट’ सम्बोधन गरी सरकारले नयाँ उत्साह जगाउन सम्भव हुँदैनथ्यो । विगतका सरकारले आफू प्रभावकारी हुन नसक्नुमा यी कारण राख्ने छुट पाउँदै आएका थिए । तर, एउटै राजनीतिक दलको दुईतिहाइ बहुमतसाथ गठन भएको वर्तमान सरकारको ‘पर्फमेन्स’ पनि उस्तै हुनुको कारण के हो ? चुनावका वेला जगाइएका आशा, सरकार गठनका वेला गरिएका प्रतिबद्धता आखिर किन कार्यान्वयनमा आउन सक्दैनन् ? सहज उत्तर आउँछ, आइरहेको छ, ‘नेपालका राजनीतिज्ञहरू अयोग्य हुन्, कामै लाग्दैनन् । उनीहरूले केही गर्नै सक्दैनन् ।’
तर, म यो उत्तरसँग सहमत छैन । नेपालका राजनीतिज्ञमाथि यति हल्का रूपमा गरिने टिप्पणीलाई स्वीकार गर्न सकिन्न । हाम्रा राजनीतिज्ञ यति साह्रो अयोग्य पनि छैनन्, जसले केही गर्नै नसकून् । नयाँ संविधान जारी गर्ने समयकै कुरा गरौँ– हाम्रा नेताले यति परिपक्व निर्णय लिए, देश दशकौँदेखिको राजनीतिक अव्यवस्थाबाट मुक्त हुँदै राजनीतिक स्थिरतामा प्रवेश ग-यो । संविधान जारी गर्ने समयमा कति धेरै व्यवधान थिए भन्नेबारे हामी सबै साक्षी छौँ । हाम्रा नेताले संविधान जारी गर्ने निर्णय लिन नसकेको भए नेपालको इतिहास अर्कैतिर मोडिन सक्थ्यो ।
कांग्रेस र नेकपाका नेताहरूकै इतिहास हेरौँ । उनीहरूले निकै कठिन परिस्थितिमा आआफ्नो पार्टीलाई नेतृत्व दिँदै यी पार्टीलाई आजको अवस्थामा ल्याएका हुन् । बजारमा हल्का टिप्पणी गरिएजस्तै उनीहरू अयोग्य हुन्थे भने नेताहरूले यी विशाल पार्टीलाई नेतृत्व दिन सम्भव हुने थिएन । संसद्भित्र ३०–३२ राजनीतिक दल उपस्थित हुँदा मुलुकले कुन अवस्था भोग्नुपर्छ भन्नेबाट शिक्षा लिँदै हाम्रा नेताले लिएको परिपक्व निर्णयले देशको राजनीति अहिले तीन खेमामा मात्रै बाँडिएको छ ।
मुलुकको राजनीति वा संसद्भित्र अहिले कम्युनिस्ट विचारधारा, डेमोक्र्याट्स विचारधारा र मधेसलाई प्रतिनिधित्व गर्ने समूहको उपस्थिति छ । यस्ता यावत् पक्षमा विश्लेषण गर्दा म नेपालका राजनीतिज्ञलाई अयोग्य मान्न सक्दिनँ ।त्यसो भए सरकार बन्दाको उत्साह किन दुई–तीन महिनाभित्रै निराशामा परिणत हुन्छ त ? नेताहरू योग्य हुन् भने उनीहरूले जनताको न्यूनतम अपेक्षालाई किन सम्बोधन गर्न सक्दैनन् ?
मलाई लाग्छ– नेपालका राजनीतिक नेताहरू मूलतः ‘पोलिटिकल एक्टिभिस्ट’ हुन् । उनीहरू विकास विशेषज्ञ होइनन् । नेपाली जनताको अहिलेको सबैभन्दा प्रखर अपेक्षा तत्काल परिवर्तनको महसुस हुने गरी विकास हुनुपर्छ भन्ने हो । यो कार्यभार र हाम्रा नेताको विशेषज्ञताबीच तालमेल नमिल्दा प्रत्येक सरकारले उही पीडा भोगिरहेका छन् । उनीहरूमा केही गरेरै देखाउने चाहना त छ तर कसरी त्यो चाहनालाई मूर्तरूप दिन सकिन्छ भन्नेबारे पनि सीमितता छ ।
परिणामतः सरकारहरू जनतामा आशा देखाउन्जेलसम्म मात्रै कामयाब सावित भएका छन् । जब नतिजा देखाउनुपर्ने समय आउँछ, उनीहरू असफलजस्तै देखिन्छन् । हाम्रा नेताले निरंकुशताविरुद्धको लामो आन्दोलनमा वर्षौंवर्ष जेलनेल भोगेका छन् । जनताको स्वतन्त्रताका लागि आफ्नो जीवन अर्पण गरेका छन् । उनीहरूको सोही त्याग र तपस्याका कारण आज हामी संघीय गणतन्त्र नेपालका स्वतन्त्र नागरिक हुन पाएका हौँ । देशलाई निरंकुशताबाट मुक्त गर्न उनीहरूको त्यो बलिदान आफैँमा ऊर्जा बनेको हो ।
देश राजनीतिक एजेन्डापछि विकासका एजेन्डामा प्रवेश गरेको छ, विकासका लागि पनि जनताले नेताहरूसँग सोही प्रकारको नेतृत्वको अपेक्षा गर्नु स्वाभाविक थियो । तर, राजनीतिक स्वतन्त्रताका लागि नेतृत्व दिन सक्ने नेताले आधुनिक विकासका लागि पनि उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । विश्वका धेरै देशको इतिहास पल्टाउने हो भने पनि यो थाहा पाउन सकिन्छ ।
नेपालमा सरकारहरू असफल हुनुको एउटा महतत्वपूर्ण कारण पक्कै पनि यसलाई मान्न सकिन्छ । किनभने, उनीहरूले कहिल्यै विकास परियोजना व्यवस्थापनकोे अभिभारा बोक्नुपरेन । वा भनौँ, उनीहरूले विकास मामिलामा अनुभव हासिल गर्ने मौकै पाएनन् । राजनीतिक स्वतन्त्रताको लडाइँ लड्दालड्दै उनीहरू सीधै सरकारको नेतृत्वमा आउने वातावरण बन्यो । जीवनभर संघर्ष गरे । जेलनेल भोगे । प्रवासमा बसे । उनीहरूको जीवनको महत्वपूर्ण समय जनतालाई आन्दोलनका लागि प्रशिक्षित गर्दागर्दै बित्यो ।
‘पोलिटिकल एक्टिभिस्ट’बाट मात्रै आर्थिक विकासको डेलिभरी सम्भव हुँदैन । त्यसका लागि ‘पोलिटिकल एक्टिभिस्ट’ र ‘डेभलपमेन्ट एक्स्पर्ट’ले सरकारमा सँगसँगै रहेर काम गर्न जरुरी छ ।
सायद यसबारे सबैको समान मत हुन सक्ला, ‘पोलिटिकल एक्टिभिस्ट’बाट मात्रै आर्थिक विकासको डेलिभरी सम्भव हुँदैन । त्यसका लागि ‘पोलिटिक एक्टिभिस्ट’ र ‘डेभलपमेन्ट एक्स्पर्ट’ले सरकारमा सँगसँगै रहेर काम गर्न जरुरी छ । त्यसो भए नेपालको राजनीतिमा यो वर्गको हैसियत कहाँ छ त ? मलाई लाग्छ, नेपालको राजनीतिले पछिल्लो तीन दशकमा ‘मिस’ गरेको सबैभन्दा महत्वपूर्ण पक्ष यही हो ।
नेपालमा जसको जीवन नै विकास निर्माणका परियोजना व्यवस्थापनमा बितेको छ, विकासलाई मूर्तरूप दिन सक्छ, व्यवस्थापन गर्न सक्छ, त्यस्ता मानिसको राजनीतिमा कुनै भूमिका रहेन । त्यस्ता व्यक्ति वेलावेलामा जुट्छन् र राजनीतिक पार्टीसमेत गठन गर्छन् । तर, उनीहरूले पार्टी चलाउन भने सक्दैनन् । किनभने उनीहरू ‘पोलिटिकल एक्टिभिस्ट’ होइनन् । राजनीतिक नेताको अभाव वा विकासविद्को नेतृत्वमा राजनीतिक पार्टी चल्न सक्दैनन् । यस्ता असफल प्रयोग हाम्रा अगाडि धेरै छन् ।
राजनीतिक नेताको अभावमा बनाइएका पार्टीलाई पनि जनताले स्वीकार गरिरहेका छैनन् । राजनीति र विकासलाई नजिकबाट स्पर्श गरिरहेको मेरो अनुभव के हो भने कुनै पनि राजनीतिक पार्टीको भविष्य त्यहाँ छ, जसलाई राजनीतिक नेताले नेतृत्व दिएको हुन्छ । र, विकासका विज्ञहरूले सो पार्टीलाई समयानुकूल जनताका अपेक्षासँग जोडिरहेका हुन्छन् । सिद्धान्तमा मात्रै होइन, व्यवहारमा देशको विकासको नेतृत्व लिँदै सहज डेलिभरी दिन सक्छन् । तर, यस्तो ढंगले हाम्रा पार्टी चल्न सकिरहेका छैनन् । यस्तो सोचसाथ अगाडि बढाउने चाहना पनि कमै देखिन्छ ।
कस्तो देखिन्छ भने यस्ता प्रोफेसनल, जसले विकास र सेवा प्रवाहमा उच्चतम योगदान पु-याउन सक्छन्, पार्टीको सांगठनिक स्वरूपमा आमूल परिवर्तन ल्याउन सक्छन्, सरकारको कार्य सम्पादनलाई उत्कृष्ट बनाउन सक्छन्, यस्ता मानिसलाई कामको जिम्मेवारी दिनुको सट्टा राजनीतिक पार्टीहरूले ‘डेकोरेट’ मात्रै गरेका छन् । उनीहरूलाई काम गरेर देखाउने भूमिका दिइएको छैन । पार्टीमा उनीहरूको हैसियत ‘बुद्धिजीवी’ वा कुनै जनवर्गीय संगठनको दायरामा सीमित गरिएको छ ।
उनीहरूलाई पार्टी र सरकारको नीतिनिर्माण तहमा पुग्नबाट वञ्चित गरिएको छ । जसका कारण देशका धेरै यस्ता व्यक्ति राजनीतिक पार्टीबाहिरै रहन रुचाइरहेका देखिन्छन् । उनीहरूलाई पार्टीमा कसरी भित्र्याउने, कुन भूमिकामा भित्र्याउने र कुन प्रक्रियाबाट भित्र्याउने भन्नेबारे पार्टीभित्र छलफल गर्न आवश्यक ठानिएको छैन । यस्ता व्यक्तिको सीप, क्षमता र दक्षतालाई कसरी उपयोग गर्नेजस्ता यावत् पक्षमा दृष्टि पुगेको छैन ।
राजनीतिक पार्टीका विधानले यस पक्षमा ध्यान दिन सकिरहेका छैनन् । त्यसले गर्दा आज मुलुकभित्र र मुलुकबाहिर छरिएर बसेका, महत्वपूर्ण भूमिका र ओहोदामा रहेका, राम्रो ट्र्याक रेकर्ड भएका, देशमा फर्केर राजनीतिको माध्यमबाट केही गर्छु भन्ने नेपालीलाई ठाउँ दिनु आवश्यक छ ।
फेरि हामीले के बुझ्न जरुरी छ भने यस वर्गका मानिस नेताको चाकरीमा जान रुचि राख्दैनन् । र, समय उनीहरूका लागि निकै महत्वपूर्ण हुन्छ । समयको ख्याल नगर्ने र योग्यताको कदर नगर्ने राजनीतिक परिपाटी उनीहरूका लागि सबैभन्दा पीडादायी बनिरहेको छ । यस्ता व्यक्तिलाई बोलाएर पार्टीले तपाईं यो ठाउँका लागि उपयुक्त हुनुहुन्छ भन्ने चलन हामीकहाँ छैन । यस्ता प्रोफेसनललाई पार्टीमा स्वागत गर्न वैधानिक आधार र उदार दिलको राजनीतिक संस्कारको अभाव देखिएको छ ।
राजनीतिक दलले यस पक्षमा गम्भीरतापूर्वक ध्यान पु-याएनन् भने उनीहरूले ‘समृद्ध नेपाल’को आकर्षक नारा तयार गर्न त सक्लान्, तर त्यसलाई कार्यान्वयन गर्ने क्षमता कहिल्यै जुटाउनेछैनन् । अहिलेको आवश्यकता भनेको पोलिटिकल एक्टिभिस्ट, जसले राजनीति बुझेका छन्, कार्यकर्ता र सगंठनलाई सञ्चालन गर्न सक्छन् र डेभलपमेन्ट एक्सपर्ट, जसले त्यो राजनीतिबाट जन्मेको शक्तिलाई विकासमा रूपान्तरण गर्न सक्छन्, यस्तो शक्तिबीचको साझेदारी नै हो । पोलिटिकल एक्टिभिस्ट र डेभलपमेन्ट एक्सपर्टबीच तालमेल मिलाएर राजनीतिलाई अगाडि बढाउनेतर्फ ध्यान पु-याइएन भने आउने २५ वर्षसम्म पनि नेपालको आर्थिक एवं सामाजिक विकासयात्रा यस्तै गतिमा रहिरहनेछ ।
राजनीतिक र आर्थिक विकाससँगसँगै बढाउनु जरुरी भए पनि हुन सकिराखेको छैन । राजनीतिक विकाससँगै आर्थिक विकास अगाडि बढ्न सकेको छैन, जुन राष्ट्रियता र लोकतन्त्रकै लागि खतरा हुन सक्छ । साझेदारीका लागि पार्टीका विधानहरूमा स्पष्ट व्यवस्था हुनुपर्छ । अहिले कांग्रेस आफ्नो विधान बनाउँदै छ । यो समय भनेको संघीयता लागू भइसकेको, केन्द्रीकृत व्यवस्थामा परिवर्तन गर्नुपर्ने परिवेश, सबै राजनीतिक मुद्दा समाधान भएको र तीन चरणको निर्वाचनपछि देखिएका अड्चन र अवरोधका सन्दर्भमा र अहिलेसम्म विगतमा डेलिभरीमा देखिएका समस्यालाई केन्द्रमा राखेर पार्टीको संगठनको परिकल्पना गर्नु नै हो ।
जसले विकास र सेवा प्रवाहमा उच्चतम योगदान पु-याउन सक्छन्, पार्टीको सांगठनिक स्वरूपमा आमूल परिवर्तन ल्याउन सक्छन्, सरकारको कार्यसम्पादनलाई उत्कृष्ट बनाउन सक्छन्, यस्ता मानिसलाई कामको जिम्मेवारी दिनुको सट्टा राजनीतिक पार्टीहरूले ‘डेकोरेट’ मात्रै गरेका छन्
त्यस्तो पार्टीको संगठन, संगठनलाई निर्देशित गर्ने सिद्धान्त के हुने र त्यसको वैचारिक सिद्धान्त के हुने, राजनीतिक सिद्धान्त के हुने, इमोसनलको सिद्धान्त के हुने, संगठनात्मक सिद्धान्त के हुने, डेलिभरीको सिद्धान्त के हुने, डेलिभरीका लागि न्यूनतम मापदण्ड के हुने भन्ने पक्षमा उत्तिकै ध्यान पु-याइनुपर्छ ।
सही व्यक्तिलाई सही जिम्मेवारीमा पु-याउन पदहरूको सिर्जना र आरक्षण गर्नेजस्ता विषयमा व्यापक बहस हुनु जरुरी छ । जबसम्म पार्टी विधानमा यस्तो व्यवस्था गरिँदैन, आउने दिनमा पनि यस्ता व्यक्तिले राजनीतिका माध्यमबाट योगदान गर्न प्रोत्साहन पाउनेछैनन् । उनीहरूले चाहेर पनि र जतिसुकै निःस्वार्थ भावना राखेर पनि देशका लागि योगदान गर्ने वातावरण बन्नेछैन ।
आज पार्टी र संसद्मा एकतिहाइ महिला हुनुपर्छ भन्नुको आशय के हो ? किनकि समाजको आधा हिस्सालाई बाहिरै राखेर राजनीति राम्रो बनाउन सम्भव हुँदैन । त्यसैगरी राजनीतिमा प्रोफेसनलको समुचित सहभागिताविना मुलुक बन्दैन ।
एकजना वरिष्ठ पत्रकार, पत्रकारिताको माध्यमबाट देशलाई नजिकबाट बुझिसकेपछि कुनै दिन राजनीतिको माध्यमबाट देशमा परिवर्तनका लागि काम गर्छु भन्ने लाग्यो भने ठाउँ कहाँ छ ? तपाईं जतिसुकै उच्च क्षमताको हुनुस्, राजनीतिले स्पेस दिँदैन । सबैले पार्टी खोलेर राजनीति गर्नु सम्भव विषय होइन । आजको दिनमा तपाईंसँग एउटै विकल्प रहन्छ– नेताको चाकरी । जो चाकरीमा अब्बल हुन्छ, पक्का छ, ऊ क्षमतावान् मानिस होइन । सबै प्रोफेसनलका लागि अवस्था यही हो । क्षमतावान् मानिसलाई राजनीतिमा स्वागत गर्ने वातावरण विधिवत् रूपमा नमिलाइएसम्मको समस्या यही हो ।
विज्ञहरूको राजनीतिमा प्रवेशले विकासमा नयाँ आयाम आएका प्रशस्त उदाहरण छन् । जस्तो भारतमा राजीव गान्धीको सरकारमा पिभी नरसिंह रावको सहभागिता । रावको सरकारमा मनमोहन सिंहको सहभागिता । र, पछि मनमोहन सिंहको नेतृत्वमा सरकार र सोनिया गान्धीको नेतृत्वमा कांग्रेस आई । भारतमा आर्थिक विकासको जग बसाल्न यिनै राजनीतिक संस्कारको ठूलो देन छ । यस्ता पर्याप्त उदाहरण विश्वमा पाइन्छन् । राजनीति गर्नेले राजनीति गर्छ, डेलिभरी गर्नेले डेलिभरी दिन्छ । र, यी दुईको पार्टनरसिपबाट मुलुक सफल भएका छन् ।
हामी सन् १९८० को दशकका ‘एसियन टाइगर्स’का कुरा गर्छौं । बेनिभोलेन्ट डिक्टेटरसिपका कुरा गर्छौं । उनीहरूले देशलाई विकसित बनाए । विकासविद्हरूकै मात्र सरकारी सिस्टम बनाए । तर, कालान्तरमा विकासका बाबजुद त्यो सिस्टम कोल्याप्स भयो । किनकि, उनीहरू पोलिटिकल एक्टिभिस्ट थिएनन् । उनीहरूले प्रतिपक्ष वा फरक मतका लागि स्थान दिएनन् । जसले गर्दा आवाजहरू गुम्सिएर बसे र एकैचोटि विस्फोटको रूप लियो । खुला आलोचनाको वातावरण नभएको हुनाले भ्रष्टाचार पनि बढ्यो । जसलाई अधिनायकवाद भनियो ।
त्यसैले म पोलिटिकल एक्टिभिस्ट र डेभलपमेन्ट एक्स्पर्टलाई मिलाएर राजनीतिक स्वतन्त्रताको वातावरणमा विकास अभियान अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्छु । पार्टीहरूले सोही किसिमको विधान बनाउनुपर्छ भन्नुको कारण पनि कतै विकासको नाममा राजनीतिक स्वतन्त्रताको अपहरण नहोस् भन्नका लागि नै हो ।
यो एउटा पार्टीको मात्रै होइन, प्रत्येक पार्टीहरू यसरी नै सुधार हुनुपर्छ भन्ने मान्यता हो । राजनीतिज्ञ र विज्ञको फ्युजन भएको संगठन नै अबको राजनीतिक पार्र्टी एवं सरकार गठनको मोडेल हुनुपर्छ । बिपीले एक प्रसंगमा भन्नुभएको थियो– राजनीतिबाहेक अरू केही नगर्ने मानिस कठोर र निर्दयी हुन्छ । राजनीति र आर्थिक विकासलाई सँगसँगै लैजान जरुरी छ, जुन नेपालमा हुन सकिरहेको छैन ।
(लेखक कांग्रेसका पूर्वमुख्यसचिव एवं पूर्वसांसद हुन्)
nayapatrika daily