नयाँ युगको आरम्भ भन्दै सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना यस्तो छ
नयाँ युगको आरम्भ भन्दै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त योजनाको आज एक कार्यक्रममाबीच उद्घाटन गरेका हुन् । मन्त्रालयले गत कार्तिक २७ गते राजपत्रमा सूचना प्रकाशित गरी योजनामा सूचिकृत हुन सबै रोजगारदाता कम्पनीलाई समयसीमा दिएको छ।
याजनामा समावेश भएका श्रमिकले सामाजिक सुरक्षा कोषबाट ४ प्रकारका सुविधा पाउने व्यवस्था गरिएको छ। सो व्यवस्थाअनुसार श्रमिकले औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिएको छ।
योजनामा समावेश भएको दिन देखि नै दुर्घटना तथा अशक्तता योजनाको योजनाअनुसार सूचिकृत रोजगारदाता कम्पनीले सबै श्रमिकको आधारभूत परिश्रमिकबाट ११ प्रतिशत र कम्पनीका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा जम्मा गरिनेछ।
कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन्। उनीहरुले कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन्। औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्नेछन्। अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख रुपैयाँ नबढ्ने गरी भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ।
योगदानकर्ता वा योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्चसमेत एक लाख रुपैयाँ नै नबढ्ने गरी दाबी गर्न सकिने छ। अस्पताल भर्ना हुनु नपर्ने योगदानकर्तालाई भने चिकित्सकको ‘प्रेस्क्रिप्सन’का आधारमा सुविधा वार्षिक रुपमा बढीमा २५ हजार रुपैयाँ प्रदान गरिनेछ। महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ। यस्तो रकम २४ साताभन्दा बढी अवधिको गर्भपतन वा मृतशिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ। पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा प्राप्त गर्नेछन्।
रोजगारदाताबाट पारिश्रमिकसहितको बिरामी बिदा पाउने अवधि ९कम्तीमा वार्षिक १२ दिन०भन्दा लामो अवधिसम्म अस्पतालमा बसी उपचार गराउँदा वा चिकित्सकको सिफारिशमा घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका योगदानकर्ताले त्यस्तो अवधिमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम बिरामी सुविधाबापत पाइने भएको छ। यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई दुर्घटना र अशक्तताबापतको सुविधा हुनेछ। श्रमिक रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च कोषबाट पाउनेछन्। रोजगारीजन्य बाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले सात लाख रुपैयाँसम्मको मात्र उपचार खर्च व्यहोर्ने छ। तर प्राकृतिक विपत्तिको कारण दुर्घटना भएकामा वा सडक दुर्घटना भएकामा वा अन्य बिमा प्रणालीबाट सुविधा पाउने अवस्थामा सामाजिक सुरक्षा कोषले कुनै खर्च व्यहोर्ने छैन।
दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा उसको पति वा पत्नीले अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले आजीवन निवृत्तिभरण पाउने छन्। आमा वा बुबाको मृत्यु भएमा १८ वर्ष पूरा नभएको सन्ततिले उमेर पूरा नभएसम्म शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउनेछ। सुरक्षा योजनाअन्तर्गत वृद्ध अवस्था योगदानकर्ताले निवृत्तिभरण योजना र अवकाश सुविधा योजना प्राप्त गर्नेछन् । कार्यविधि २०७६ साउन १ देखि कार्यन्वयनमा आउने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।