हरिबोधनी अर्थात ठूलो एकादशी : आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका विष्णु उठ्ने दिन
हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीसवटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।
हरिशयनी एकादशी (असार शुक्ल एकादशी) का दिन आ-आफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ ।
भगवान् श्रीहरि शयन गर्नुहुने तिथिलाई हरिशयनी एकादशी भनिन्छ भने कोल्टो फेर्ने तिथिलाई हरिपरिवर्तिनी एकादशी र शयनावस्थाबाट जागा हुने आजको तिथिलाई हरिबोधिनी एकादशी भनेर धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ।
विष्णु क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यता अनुसार चतुर्मासभरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार मुहूर्त निस्कँदैन । चतुर्मासको अन्त्यपछि भने माङ्गलिक कार्यहरूका लागि मुहूर्त निकालिन्छ । कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चकभरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण -चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ ।
हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा मेला लाग्दछ । बुढानिलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिंडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् ।