नागरिक पोष्ट News


होशियार ! जमराको जुसबारे डा सुधांशु केसीले दिए यस्तो सुझाव

4K

वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले गरेका केही ट्वीटले आतंकित तुल्याइदिए ।

सुरुको ट्वीटमा उनले लेखे, ‘जमराको जुसमा केही भिटामिन र मिनरल होला, जसले स्वस्थ रहन मद्दत गर्ला तर यसले रोगलाई निको पार्ने कुरा ठीक होइन। कलेजोका रोग भएका व्यक्तिका लागि त यो प्राणघातक पनि हुन सक्ने रहेछ ।’ त्यसपछिको उनको ट्वीट पनि जमरा जुसकै थियो । लेख्छन्, ‘आज पनि जमरा जुसपीडित भर्ना भएका छन् । जमराको जुसले सबै रोग निको पार्छ र यसको साइड इफेक्ट छैन भनेर प्रचार गर्नेलाई केही त गर्नैपर्ने भयो । नत्र थुप्रै बिरामी ‘सहिद’ हुनेवाला छन् ।’ त्यसो त, ब्रायन र आना क्लिमेन्टले जमराको जुसमा पाइने क्लोरोफिलले कलेजो रोग निवारण गर्ने कुरा पनि आफ्नो अनुसन्धानमा लेखेका छन् । तर, केसी त्यसलाई मान्न तयार छैनन् । रक्सीले असर पारेको कलेजो ‘डिटक्सिफाई’ गर्न पनि उक्त जुसले सहयोग गर्ने बताइन्छ । त्यसको ठीक विपरीत मान्यता राख्छन् केसी ।

‘औषधी होइन’-डा सुधांशु केसी (वरिष्ठ कलेजो रोग विशेषज्ञ)

स्वस्थ मानिसले जमराको जुस खाँदा केही फरक पर्दैन । तर, रोग लागिसकेकाले नखाएकै राम्रो । नेपालमा केही कुरा पनि बुझेर गर्ने बानी छैन । एकचोटि केही लहर आउँछ, सबै त्यसकै पछि लाग्छन् । वैज्ञानिक कारण खोजौँ भन्ने प्रवृत्ति कसैको छैन । त्यसैले कहिलेकाहीँ दु:ख पाइन्छ । भन्नेले भन्छन्, तर जमराको जुसमा क्यान्सर निको पार्ने क्षमता छैन ।सबै प्राकृतिक तत्त्व औषधी नै हुन् भन्ने छैन । कलेजोका रोगीका लागि त जमराको जुस विष नै हो । गत साता मात्रै जमराको जुस खाएर बिरामी भएका दुई बिरामी वीर अस्पतालमा भर्ना भए ।

एक जना समयमै डिस्चार्ज भए भने अर्कालाई नर्भिक अस्पतालमा सारियो । हालसम्म २०–२५ जना यस्ता बिरामी आइसकेका छन् । कलेजो सिरोसिसका बिरामीले ‘अर्गानिक’ भनेर खाएको जमराको जुस अभिशाप प्रमाणित भएका घटना हाम्रै आँखाअगाडि छन् । तर, हामीले कहिले महसुस गर्ने ? जुसका फाइदैफाइदा छन् भन्दा सबैले पत्याए । मैले बेफाइदाबारे ट्वीट गर्दा धेरैले पत्याएनन् । उल्टै ममाथि खनिए । मैले खाँदै नखानुस् पनि भनेको होइन । रोग लागिसकेको छ भनेचाहिँ नखानुस् भनेको हुँ ।

Must View