नागरिक पोष्ट News


प्राकृतिक सुन्दरताभित्रको बेदकोट ताल को धार्मिक एवं पर्यटकीय महत्व

4.2K

प्राकृतिक रुपमा निकै नै सुन्दर रहेको बेदकोट ताल धार्मिक रुपमा पनि धेरै नै महत्वपूर्ण मानिन्छ । यो ताल कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि २२ किलोमिटर टाढा बेदकोट नगरपालिकामा पर्छ । 

महेन्द्रराजमार्गबाट १३ किलोमिटर उत्तरतर्फ रहेको यो तालको आफ्नो छुट्टै महत्व छ । यो तालको चारैतिर पहाडै पहाड र रुखहरु भए पनि तालमा कहिल्यै एक पातसमेत नखस्ने विश्वास गरिन्छ । चुरेपहाडको फेदमा अवस्थित यो ताल समुद्र सतहदेखि झण्डै ३ सय मिटर उचाईमा रहेको छ । 

सुदुरपश्चिमकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा परिचित यस तालको क्षेत्रफल ५ सय ८० मिटर लम्बाई र २ सय ६० मिटर चौडाई रहेको छ । तालको गहिराइ भने अझैसम्म पत्ता लागेको छैन । ऐतिहासिक धरोहरको रुपमा रहेको बेदकोट क्षेत्र प्राकृतिक रुपले सौन्दर्य सम्पन्न भए पनि राज्यले चासो नदेखाएकाले ओझेलमा परेको छ । 

ताल नजिकै कञ्चनपुर जिल्ला कै प्रसिद्ध आराध्य देव शिवको मन्दिर रहेको छ । मन्दिरमा पुजापाठ, विवाह, ब्रतबन्ध लगायतका शुभकार्यहरु पनि हुने गरेका छन् । ताल वरिपरि जंगल रहेको छ । प्रकृतिक सुन्दरतासँगै रम्दै शान्त मनले शिवको दर्शन पनि गर्न पाइने भएकाले पनि यो तालको महत्व अझै बढी छ । 

बाटो कच्ची भएकाले तालसम्म पुग्न केही कठिन भए पनि यो तालको सुन्दरताले यहाँ घुम्न आउने पर्यटकको मन लोभ्याउने गर्दछ । झन्डै ४ दशकदेखि तालको चर्चा गरिँदै आए पनि तालको राम्रो व्यवस्थापन भने हुन सकेको छैन । बाटोको सुविधासँगै यो क्षेत्रको प्रबद्र्धन गर्न सके यो ताल देशकैै आकर्षक पर्यटकीय गन्तव्य बन्नेमा दुईमत छैन ।

Must View