अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतार प्रहरीबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर
2.3K
अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतारको प्रहरीबीच सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका पब्लिक सेक्युरिटीका डाइरेक्टर जनरल साद विन अल खुलेफीबीच बिहीबार कतारमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीकाअनुसार अपराध नियन्त्रणका लागि सूचना आदान–प्रदान, साइबर क्राइमको नियन्त्रणका लागि सहकार्य, अनुसन्धानलाई व्यवस्थित बनाउनेलगायतका विषय सम्झौतापत्रमा समेटिएको छ ।
यस्तै, मानव ओसारपसारको नियन्त्रण, लागुऔषधको कारोबार नियन्त्रण तथा अन्य द्विपक्षीय सहयोगसम्बन्धी विषय सम्झौतामा उल्लेख भएको प्रवक्ता सुवेदीले जानकारी दिए ।
बिहिबार, कार्तिक १५, २०७५ मा प्रकाशित