राष्ट्रिय परिचय पत्र छपाइ सुरु, यसरी पाइनेछ अब स्मार्ट नेशनल आइडी
तीन चरणमा वितरण गर्ने योजना, पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थअधिकारीबाट वितरण
सरकारले राष्ट्रिय परिचय पत्र छपाइको काम सुरु गरेकाे छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालय भित्र राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गरिएको हो।
पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरी १ लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छपाईको काम गरिने छ। तीन बर्षमा मुलुकभर राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्यसहित केन्द्रले चालु आर्थिक वर्षमा १५, अर्को वर्ष २५ र तेश्रो वर्षमा २६ जिल्लामा वितरण गर्ने कार्यतालिक तय गरेको छ । पहिलो चरणमा छापिएको राष्ट्रिय परिचय पत्र वितरण यसै महिनामा गरिने लक्ष्य पनि केन्द्रले लिएको छ।
पाँचथरमा भरिएको नागरिकको विवरणलाई केन्द्रको सिस्टमले लिएर भेरिफाई गरेपछि कार्ड छापिने भएपनि वितरणको समयमा पनि नागरिकको बायोमेट्रिक परीक्षण गरी वितरण गरिन्छ। नेपालको संविधानको धारा ५१ मा राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणालीको स्थापना गरिने छ भन्ने उल्लेख छ।
सोही व्यवस्था अनुसार राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र स्थापना गरी सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्नका लागि छपाइको काम सुरु गरेको हो। नागरिकको तथ्याङ्क संकलनका लागि केन्द्रले पाँचथर जिल्ला प्रशासन कार्यालयमा फिक्स स्टेशन र वडा वडामा मोबाईल स्टेशन खडा गरेको छ।
वडा वडामा परिचालन भएका २० वटा टोलीले संकल गरी पठाएको विवरण सिंहदरबारस्थित सेन्टर सर्भरमा आएपछि केन्द्रीय अधिकारीले परीक्षण गरि कार्डमा भरिने विवरणलाई अन्तिम टुंगो लगाउँछन्। त्यसपछि पुन जिल्ला स्थित नागरिकको बायोमेट्रिक परीक्षण पश्चात मात्रै कार्ड वितरण गर्ने गरिन्छ।
तीन वर्ष भित्र सबैलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने लक्ष्य लिएको केन्द्रसँग अहिले प्रतिघण्टा ५ सय कार्ड छपाई गर्न सक्ने क्षमताको एउटा मात्रै मेसिन छ।
२०६७ सालमा सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्ने बताएपनि अहिलेसम्म हुन सकेको छैन।