नागरिक पोष्ट News


‘पैसाको लागि डाक्टरले नै मानिसलाई यसरी रोगी बनाइरहेका छन’ - डा. मनबहादुर

3.1K

 डा. मनबहादुरमा त्यो घमण्ड पटक्कै देखिँदैन । उनी जति सरल छन्, त्यति नै सहज पनि छन् । अनि आफ्नो काममा त्यति नै समर्पित पनि । यही कारण मुटु रोगको क्षेत्रमा डा. मनबहादुर एक विश्वसनीय नाम हो । त्यसैले उनी पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइरालादेखि प्रहरीका उच्च अधिकारीहरुको समेत रोजाइमा परे । पूर्वप्रधानमन्त्री कोइरालाद्वयको निजी चिकित्सकको रुपमा उनले काम गरे ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको पालामा डा. मनबहादुर केसीको नेतृत्वमै गंगालालमा इलेक्ट्रोफिजियोलोजी सम्बन्धी उपचार सुरु भएको थियो । त्यसबेला नेपालमा मुटु रोग सम्बन्धी डी.एम. गर्ने पहिलो व्यक्ति डा. एन. के. श्रेष्ठ पनि सोही अस्पतालमा स्वयंसेवीका रुपमा कार्यरत थिए । डा. श्रेष्ठकै प्रेरणा तथा सहयोगमा डा. केसीले इलेक्ट्रोफिजियोलोजी सम्बन्धी ‘सुपरस्पेशियालिटी’ सेवा सुरु गरेका हुन् । प्रारम्भिक कालमा डा. केसी एक्लैको प्रयासले मात्र सेवा सुरु गर्न सम्भव थिएन ।

त्यसको लागि उनलाई आफ्नो कामप्रति समर्पित, इमान्दार, आचारसंहिताको पालना गर्ने, सज्जन तथा सजिलो डाक्टरको खाँचो थियो । यही मेसोमा उनको भेट भयो, डा. सुजिव राजभण्डारीसँग । डा. सुजिवमात्र उनका लागि पर्याप्त थिएनन् । डा. केसीले आफ्नो टिममा अर्का एक चिकित्सकलाई आवद्ध गरे, जसको नाम थियो, डा. रोशन राउत । उनकै टिमले अहिले गंगालालमा मुटुको चाल गडबडी सम्बन्धी सफल उपचार गर्दै आएको छ ।

साभार :अनलाइन खबर बाट

खेत बेचेर पढाइ

वि.सं २०२३ सालमा बागलुङको दुर्गम सल्यामको बर्‍याङ्ग गाउँपालिका-३ मा जन्मिएका डा. मनबहादुर केसी किसानका छोरा हुन् । सात कक्षासम्मको पढाइ गाउँमै पूरा गरेका केसीले कक्षा आठदेखि एसएलसीसम्म गुल्मीको शान्तिपुरस्थित उदय उच्च माविमा पढे । सो स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्ने पहिलो विद्यार्थी पनि बने उनी । बागलुङका अधिकांश युवा ‘लाहुरे’ बन्न विदेशिन्थे । भारतीय सेनामा भर्ती हुनेहरुको ताँती लाग्थ्यो । भर्ती हुनेहरुको आर्थिक स्थिति सबल भएको देखेका मनबहादुरका बुवा ‘छोरो जसरी भएपनि लाहुरे हुनुपर्छ’ भन्थे ।

Image result for ‘पैसाको लागि डाक्टरले नै मानिसलाई रोगी बनाइरहेका छन’ - डा. मनबहादुर

मनबहादुरको सपना भने विदेशी सेनामा भर्ती भएर लाहुरे बन्ने होइन, उच्च शिक्षा हासिल गरेर देशकै लागि केही गर्ने थियो । अनि बुवालाई भने, ‘म त लाहुरे बन्दिनँ, काठमाडौं गएर कलेज पढछु ।’ लाहुरे बन्न छाडेर छोराले काठमाडौं पढ्न जाने कुरा गरेको बुवालाई मन परेन । घरमा एक किसिमको अन्तरद्वन्द्व सिर्जना भयो । कारण थियो, घरको आर्थिक अवस्था । पढाइमा अब्बल भएकाले आमा चाँहि ‘छोरोलाई जसरी पनि पढाउनु पर्छ’ भन्थिन् । उता, छोरालाई राम्ररी पढाउन स्रोतसाधन कहाँबाट जुटाउने भन्ने ? बुवाको प्रश्न हुन्थ्यो ।

यही रस्साकस्सीबीच मनबहादुरको चाहनालाई आमा, दिदी बहिनी, आफन्त, नातागोता, शिक्षक, शिक्षिकाको समर्थन रह्यो । उनलाई पढाउनुपर्छ भन्ने सबैको मत सामु बुवाको केही जोर चलेन । ‘थानेश्वर शर्मालगायत आफन्तको हौसलाका कारण पढ्न त पाएँ, तर हामीले पढाइ खर्च जुटाउन एक-डेढ रोपनी खेत बेचेका थियौं,’ मनबहादुर सम्झन्छन् । उनले पढाइमा आफूलाई खरो उतारे । काठमाडौं आएर त्रिचन्द्र कलेजमा आईर्एस्सी भर्ना भएका उनले परीक्षामा बोर्ड तेश्रो स्थान ल्याए । त्यसपछि शिक्षा मन्त्रालयको छात्रवृत्ति पाएर चीन पढ्न गएका उनले हुबेईस्थित हुपेई मेडिकल युनिभर्सिटी स्कुल अफ मेडिसिन साइन्स -अहिलेको हुवान् विश्वविद्यालय)बाट इलेक्ट्रोफिजियोलोजी सम्बन्धी विशेष अध्ययन पूरा गरे ।

चिकित्सक नै बनाउँछन्, रोगी

डा. मनबहादुरको अनुभवले भन्छ, विरामीले त्यही चिकित्सक खोज्छन्, जो राम्रो हुनुका साथै इमान्दार पनि छ । ‘राम्रो, इमान्दार र दक्ष चिकित्सक त्यही हो, जो विरामीप्रति जिम्मेवार छन् । विरामीलाई जे समस्या भएको छ त्यही भन्ने गर्छन् । उनीहरु उपचारको नाममा जसले विरामीलाई अस्पतालको सट्टा क्लिनिकमा आउन भन्दैनन् । एउटा उपचार गर्ने नाममा अन्य थुप्रै जाँच गर्न विरामीलाई भन्दैनन्’, उनको मूल्यांकन छ । हुँदै नभएको कुरामा पनि ‘तपाईंको शरीरमा यस्तो भएको’ भनेर रिपोर्ट लेखिदिने, सानो समस्या हुँदा पनि विरामीलाई दुई-चार महिनामा बोलाएर विभिन्न जाँचहरु गर्न लगाउने परिपाटी हावी छ ।

जुन उनलाई पटक्कै मन पर्दैन । ‘चिकित्सकहरुको यस्तै प्रवृतिका कारण बलियो मुटु भएका मानिसले त्यस्ता कुरामा ध्यान नदिए पनि कमजोर मनस्थिति भएकाहरु भने रोगको चपेटामा पर्ने गरेका छन्,’ डा. मनबहादुर भन्छन् । उनका अनुसार चिकित्सकबाट विरामी बनाइएका यस्ता रोगीहरु पनि छन् जसमा कुनै रोग छैन, विशेषगरी मुटुको हकमा । ‘चिकित्सकबाट रोगी बनाइएकै कारण हामीले दिनमा २-४ जना विरामीको सामना गरिरहनु पर्छ,’ उनी भन्छन् ।

Must View