पण्डित सम्मेलनको माग चाडपर्वको बिदा कटौती अविलम्ब फिर्ता लेउ
दशैँ, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमीजस्ता सनातनदेखि चलिआएका मौलिक धर्म, संस्कृति र चाडबाडका बिदा काटिएको भन्दै पण्डितहरुले आपत्ति जनाएका छन् ।
पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले यसवर्ष कात्तिक ४ गतेदेखि नै कार्यालय खोलिए पनि अझै कर्मचारी आइनसकेको बताए ।
कोजाग्रत पूर्णिमाका दिनसम्म त कार्यालय खोल्ने कर्मचारी मात्र रहेको उल्लेख गर्दै उनले त्यस अवधिमा सेवाग्राही पनि नगएकाले अविलम्ब बिदा कटौती फिर्ता लिन माग गरे । भाषा, धर्म र संस्कृतिमाथि नियोजित तवरले आक्रमण गर्ने क्रममा कसैको इशारामा बिदा कटौती गरिएकोप्रति पण्डितहरु रुष्ट छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम, समितिका पूर्वअध्यक्ष तथा धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदी, हिन्दू जनजागृति संस्थान भारत गोवाका अध्यक्ष डा चारुदत्त पिँगले, किराँत ज्योतिषी सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मा, लामा धर्मगुरु खिलबहादुर थिङ लामा, पर्व सुधार अभियानकर्मी हरिनारायण मल्ललगायतले नेपालका मौलिक धर्मसंस्कृति संरक्षणका लागि सबैका सामूहिक आवाज आवश्यक रहेकामा जोड दिए ।