आज कोजाग्रत पूर्णिमा:दशैंको अन्तिम दिन, महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइने
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा दशैको अन्तिम दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।
माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेयप्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याउने गरिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।
कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।