सकारात्मक चिन्तनः आदर्श जीवन, सकारात्मक सोंच, अर्थपूर्ण कार्यले जीवन अनमोल बन्छ
शंका-उपशंका गर्नु पनि अस्वस्थ्य वा दुषित मनको अवस्था हो । शंका-उपशंका गर्ने बानी आफैमा भयावह हुन्छ । शंकाले मानिसलाई अलग गराउँछ, यो एक विष समान हो जसले मित्रता टुटाउँछ ।
आत्मियता, घनिष्ठतामा भाँजो हाल्ने हतियार हो आशंका ।
स्वस्थ्य जीवन
भनिन्छ नि, अस्वस्थ्य जीवन कुनै जीवन होइन, बस पीडाको एक स्थिती हो । मृत्युको छायाँ हो । स्वस्थ्य जीवन बाँच्नका लागि औषधी-उपचार होइन, संयमित दिनचर्याको खाँचो हुन्छ । सन्तुलित आहारको खाँचो हुन्छ । कृतज्ञ मनको खाँचो हुन्छ ।
हामी धनका खातिर स्वास्थ्य खराब गर्छौं । जबकी स्वस्थ्य जीवन आफैमा अनमोल धन हो । जब हामी स्वस्थ्य हुन्छौं, जब हामी रोगमुक्त हुन्छौं, जीवन त्यसै रमाइलो हुन्छ । जीवन त्यसै सुन्दर हुन्छ ।
शरीर मन्दिर हो । शरीरलाई जति सफा, स्वच्छ र पवित्र राख्न सकिन्छ, जीवन उत्तिनै मोहक हुन्छ । सात्विक आहार, सकारात्मक सोंच, अर्थपूर्ण कार्य, समूचित सक्रियताले जीवन अनमोल बन्छ । यो नै सबैभन्दा ठूलो धन हो ।
घृणा र इर्ष्याले सन्तोष मिल्दैन
घृणलाई घृणाले समाप्त गर्दैन । यसका लागि प्रेम चाहिन्छ । घृणालाई अन्त्य गर्न प्रेम चाहिन्छ । यो शाश्वत सत्य हो । तपाईंसँग जे छ, त्यसलाई बढाई-चढाई नबताउनुहोस् । साथै अर्काको इर्ष्या पनि नगर्नुहोस् । जो अर्काको इष्र्या गर्छ, उसको मनमा कहिल्यै शान्ति मिल्दैन ।
हामी जहाँ छौं, जे छौं, सबै त्यही स्थितीमा हुन्छन् वा हुनुपर्छ भन्ने होइन । मानिसको रुपरंग फरक हुन्छ । प्रवृत्ति फरक हुन्छ । व्यवहार फरक हुन्छ । सोच-चिन्तन फरक हुन्छ । आदर्श फरक हुन्छ । सबैलाई आफुजस्तै खोज्नु मूर्खता हो । जो, जस्तो छन् त्यही रुपमा सहर्ष स्विकार गर्नुपर्छ । कसैलाई घृणा गर्ने, कसैलाई इर्ष्या गर्ने बानीले अरुलाई होइन, आफैलाई समाप्त गर्छ ।
क्रोधले आफैलाई पोल्छ
क्रोधलाई पालेर राख्नु भनेको रापिलो अंगारलाई समातेर राख्नु जस्तै हो, त्यसले अरुलाई होइन आफैलाई जलाउँछ ।
क्रोध भनेको आवेगको एक अवस्था हो । आवेगमा संयम गुमाइन्छ । जब संयम गुमाइन्छ, हामीभित्रको खराब तत्वले अधिन जमाउँछ । हामी नराम्रो काम गर्न उक्सन्छौं । अर्थात क्रोधले कहिले पनि सकारात्मक नतिजा हासिल हुँदैन । क्रोधको अवस्थामा हाम्रो कतिपय शारीरिक अंगको कार्य-संचालनमा पनि अवरोध पुग्छ ।
भविष्यसँग किन भयभित हुने ?
अतीतको चिन्ता नगरौं । अतीतको पच्छताप नगरौं । वर्तमानलाई सर्वोत्कृष्ट बनाउने यत्न गरौं । वर्तमानमै केन्द्रित रहेर जीवन बाँच्न सिकौं । भविष्यसँग नडराऔं । वर्तमानलाई राम्रो बनाएपछि भविष्यले कहिले भयभित बनाउने छैन ।
मनलाई बाँध्न सिकौं
सबै नराम्रो काम मनबाट उत्पन्न हुन्छ । तर, जब मनलाई नै वसमा राखिन्छ, मनलाई सतमार्गमा डोहोर्याइन्छ भने शरीरले नराम्रो काम केही गर्दैन । त्यसैले मनलाई आफ्नो वशमा राखौं, मनको नियन्त्रणमा आफु बस्ने होइन ।
जीवनमा सोचेजस्तै र चाहेजस्तै सबैकुरा उपलब्ध हुँदैन । जे-जति उपलब्ध हुन्छ, त्यसमा सन्तुष्ट हुनुपर्छ । जे जति प्राप्त हुन्छ, त्यसमा कृतज्ञ रहनुपर्छ ।
स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा सम्बन्ध हो । यसलाई सम्हालेर राख्नुपर्छ ।