नागरिक पोष्ट News


‘नेवा: ऐला’ : नेपाली रक्सी, संसारकै उत्कृष्ट पेयपदार्थको सूचीमा

5.5K

अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो। नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी।

नेवार सभ्यतामा रक्सीलाई सगुनका रूपमा लिइन्छ। जात्रा तथा चाडपर्वमा रक्सीको विशेष महत्व हुन्छ। चाडपर्वमा सगुनका रूपमा दिइन्छ।

उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि अचम्मको आनन्द दिन्छ।’

यसरी बन्छ नेपाली रक्सी :‘नेवा: ऐला’ 

सुरुआतमा चामललाई दुई घन्टाभन्दा बढी भिजाउनुपर्छ। त्यसपछि ‘फोँसी’ अर्थात्, कसौंडी आकारको तामाको भाँडामा पानी उमाल्नुपर्छ। अघि भिजाइरहेको चामलको पानी तर्काएर निकाल्दै पोटासीः (ममः पकाउनेजस्तै साना प्वाल भएको भाँडा) मा बाफ दिएर चलाउँदै हल्का पकाउनुपर्छ।

पाक्न लागेपछि त्यसलाई निकाल्ने। यतिबेलासम्म भात आधा पाकेको हुन्छ। त्यसलाई चिसो पानीले भिजाउनुपर्छ।

यो भातलाई पानी उम्लिरहेको फोँसीमा फेरि पोटासीः माथि राखेर चलाउँदै पकाउनुपर्छ। यसो गर्दा भात पूरै पाक्छ र नरम हुन्छ।

‘यो भातलाई नेवारीमा ‘हाजा’ भनिन्छ। अर्थात्, बाफमा पकाएको भात,’ सोभिताले भनिन्, ‘हाजालाई केही बेर चिसो बनाउन फिँजाएर राख्नुपर्छ। अनि बल्ल जाँड बनाउने विधि सुरु हुन्छ।’

यो भात (हाजा) मा मर्चा (जाँड बनाउन चाहिने सामग्री) लाई धूलो बनाएर सबैतिर पुग्ने गरी मोल्नुपर्छ। त्यसपछि कोँचा (जाँड राख्ने भाँडा) मा हाजा खन्याइन्छ। त्यसअघि कोँचालाई फोँसीमा उम्लिरहेको तातोपानीले बफ्याउँदा राम्रो हुन्छ।

यसो गर्दा जाँड (थ्वँ) ढुसी परेर बिग्रने सम्भावना कम हुन्छ। कोँचामा जाँड बनाउन लपेस (पातले बनाएको भोज खाने भाँड) ले छोप्नुपर्छ। करिब चार दिन छोपेर राखेपछि जाँडको बासना बाहिरसम्मै आउँछ। त्यसलाई केही बेर खुल्लै छाडिदिनुपर्छ।यो प्रक्रियाबाट तयार भएकोलाई पोकः भनिन्छ। यसमा आवश्यकताअनुसार पानी राखेपछि ‘थ्वँ’ अर्थात् जाँड तयार हुन्छ।‘पोकः बाट तीनपटकसम्म ‘थ्वँ’ निकाल्न सकिन्छ,’ सोभिताले भनिन्, ‘थ्वँ बनाएपछि बाँकी रहेको अवशेषलाई ‘कः’ भनिन्छ। त्यसैबाट रक्सी बनाइन्छ।’

Must View