काठमाडौंमा एक हजार र ५ सयका नक्कली नोटको बिगबिगी ! कसरी चिन्ने नक्कली नोट
दशैंको समयमा काठमाडौंमा नक्कली नोटको विगविगी भएको भेटिएको छ । एक हजार रुपैयाँका नयाँ नोटहरु बोक्नुभएको छ भने होस गर्नुहोला, त्यो नोट नक्कली पनि पर्न सक्छ । एक हजार रुपैयाँका साथै एक सय रुपैयाँको पनि नक्कली नोट बजारमा पुगेको हुन सक्ने प्रहरीले संकेत गरेको छ ।
कसरी चिन्ने नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो नहुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।
‘सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन्’ ‘छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो ।’
निरौलाका अनुसार सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । तर, नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।
यसरी चिन्न सकिन्छ नक्कली नोट
नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लालीगुराँस फूलको पानी छाप स्पष्टसँग दखिन्छ । नक्कली नोटमा पानी छाप स्पष्टसँग देखिँदैन ।
– नेपाली नोटको बुट्टालाई हातले छोएर हेर्दा यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिन्छ । नोट पुरानो हुँदै गएपछि नोटको यस्तो विशेषता कम हुँदै जान्छ ।
– १ सय, ५ सय र १ हजार दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि(बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । तर, नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ ।
– नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सम्भव छैन । नक्कली नोटमा फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएकोजस्तो देखिन्छ ।
– नेपाली नोट शतप्रतिश कपासबाट र कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ ।
के सजायँ हुन्छ ?
नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।