ठिक्क सेवन गरे फाइदा, बढिले हानी : फोलिक एसिड
आजकल धेरै खानेकुरालाई फोर्टिफाइड -अतिरिक्त पोषणतत्व थप) गरेको पाइन्छ । फोर्टिफाइड गरिएको खानामा फोलिक एसिडको मात्रा पर्याप्त हुने गर्दछ । यसले शरीरलाई रक्तअल्पता हुनबाट जोगाउने मात्र नभएर शरीरमा भिटामिन लगायतका पोषण तत्वको पुर्ति गर्नसमेत महत्वपूर्ण भूमिका खेल्छ ।
त्यति मात्र हैन, यसले गर्भमा रहेको शिशुमा हुने सक्ने बिकारलाई कम गर्नसमेत सहयोग गर्ने हुँदा चिकित्सकहरु गर्भवती महिलाहरुलाई फोलिक एसिड सेवन गर्न सल्लाह दिने गर्दछन् ।
के हो फोलिक एसिड ? मोरिसन सेन्टरस्थित एकेडेमी अफ न्युट्रिसन एण्ड डायटिटिक्स एन्ड इन्ट्रिग्रेटिभ डायटिसियनका प्रवक्ता डा। रविन फोरोउटनका अनुसार फोलेट तथा फोलिक एसिड भिटामिन बी ९ का प्रकार हुन्, जो पानीमा राम्ररी घोलिन्छ । फोलेट प्राकृतिक खानाबाट पाइन्छ ।
शरीरमा फोलेटको कमी हुन नदिन ‘फोलिक एसिड’ भिटामिनलाई बिभिन्न खाद्य पदार्थमा फोर्टिफाइड गर्ने गरिन्छ । फोलेट विशेषगरी, गाढा हरियो सागसब्जी, फल, विन्स, मसरुम, हरियो सागसब्जी, अण्डाको पहेलो भाग, आलू, दूध, मासु कलेजो लगायतमा पाइन्छ ।
सामान्यतया रातो तथा सेतो रक्तकोषिको निर्माणका लागि शरीरलाई फोलेटको आवश्यकता पर्दछ । यसले कार्वोहाइड्रेट्सलाई उर्जाको रुपमा प्रयोग गरेर स्वस्थ डिएनए बनाउन सहायता प्रदान गर्दछ ।
साथै, बी १२, बी ६, कोलाइन, मेथियोनिन, बेटेन, म्याग्नेसियम, जिंक तथा सल्फर सहितको फोलेटले शरीरमा मिथाइलेसनको लागि महत्वपूर्ण भूमिका खेल्छ ।
मिथाइलेसन एक जैविक रसायनिक प्रकृया हो, जसले कोषिकाको विभाजन, डिटक्सिफिकेसन, हर्मोनल व्यालेन्स, न्यूरोट्रान्समिटर तथा मानसिक स्वास्थ्य लगायत शरीरको क्रियाकलापलाई सही तरीकाले काम गर्न उत्प्रेरणा दिने गर्दछ । र, शरीरमा फोलिक एसिडको कमी भएमा यसले शारीरिक गतिविधिमा ह्रास आउने गर्दछ ।
शरीरमा स्वस्थ फोलेट पर्याप्त मात्रामा भएमा यसले मुटु तथा कार्डियोभास्कुलर सिस्टमलाई सुरक्षा प्रदान गर्नुका साथै प्यान्त्रिmयाज्, अन्ननली, कोलोन क्यान्सरको साथमा डिप्रेशन तथा मुड डिस्अर्डरको जोखिम कम गर्न समेत सहयोग गर्छ ।
त्यति मात्र हैन, यसले पुरुषमा शुक्रकिटको संख्या बढाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने डा। फोरोउटनको भनाई छ । जर्नल फर्टिलिटी तथा स्टेयरलिटीमा प्रकाशित एक लेख अनुसार २६ हप्तासम्म नियमितरुपमा पाँच एमजी फोलिक एसिडका साथमा ६६ एमजी जिंकको सेवन गर्ने पुरुषहरुमा शुक्रकिटको संख्या ७४ प्रतिशतले वृद्धि भएको पाइयो ।
यसबाहेक, फोलिक एसिडको प्रयोग पाँचन सम्बन्धि समस्या, मिर्गौलाको रोग, कलेजोको समस्या तथा रक्तअल्पता सम्बन्धि समस्यामा गरिने चिकित्सकहरुको भनाई छ ।
फोलेटका स्रोत फोलेटको मुख्य स्रोत हरियो सागपात हुन् । यसबाहेक अण्डाको पहेँलो भाग, कुरिलो, कुखुराको कलेजो, सुन्तला, दाल, फर्सीको बीउ, सुर्यमुखीको बीउ तथा तिल इत्यादीमा पनि पाइन्छ ।
फोलिक एसिडले धेरैलाई फाइदा गर्छ भने थोरैलाई हानीसमेत पुर्याउने गर्छ । यसको सेवनका कारण केही व्यक्तिलाई भोक कम लाग्ने, वाकवाकी लाग्ने, अनिन्द्रा, अवसाद, चिन्ता तथा ग्यासको समस्या उत्पन्न हुन सक्छ । त्यसैले पनि यसको सेवन गर्दा सही मात्रा मिलाउन निकै जरुरी छ ।
चिकित्सकहरु गर्भधारण गर्ने सोच बनाएका व्यक्तिहरुलाई दैनिक चार सय माइक्रोग्राम फोलेटको सेवन गर्न सुझाव दिन्छन् । त्यस्तै, स्तनपान गराउने महिलाहरुले दैनिक चार सयदेखि पाँच सय एमजी फोलटको सेवन गर्नुपर्ने उनीहरुको राय छ ।
आवश्यकताभन्दा बढी सेवनले फोलिकलाई फोलेटमा बदल्ने शरीरको क्षमतामा ह्रास आउन सक्छ । त्यसैले फोलिक एसिड सेवन गर्नुपूर्व एकपटक चिकित्सकसित सल्लाह लिनु राम्रो हुन्छ । तथापी, यसबारे पर्याप्त अध्ययन तथा अनुसन्धान हुन भने बाँकी छ ।