मिर्गौलाको पत्थरी यसरी हुन्छ: पत्थरी रोक्ने काइदा दिनमा ३ लिटर पानी, अढाई लिटर पिसाब
मिर्गौलाको काम भनेको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निस्कासन गर्नु हो तर कहिलेकाहीँ शरीरमा भएका क्याल्सियम, अक्सालेट, फोस्फेट, सोडियम, म्याग्नेसियम, युरिक एसिड लगायतका विभिन्न इलेक्ट्रोलाइटयुक्त तत्वको तालमेल मिल्दैन, जसले गर्दा मिर्गौलामा पत्थर जम्मा हुने गर्छ । मिर्गौलामा विभिन्न कारणले पत्थरी हुने गर्छ । शरीरमा पानीको कमि पत्थरीको प्रमुख कारण हो । शरीरमा पानीको कमी भएमा मिर्गौलाले विषाक्त बाहिर निकाल्न सक्दैन र त्यो पत्थरीको रुपमा विकसित हुन्छ । रातो मासु लगायत प्रोटिनयुक्त खानेकुराको सेवन, शारीरिक कसरतको कमी, युरिक एसिड तथा पिसाबको नलीको संक्रमणका कारण पनि मिर्गौलाको पत्थरी हुने गर्छ ।
मिर्गौलाको पत्थरी चट : ३ लिटर पानी, अढाई लिटर पिसाबनेपालमा एकिन तथ्यांक नभए पनि ३० देखि ६० वर्षका व्यक्तिमा मिर्गौलाको पत्थरी धेरै देखिने गरेको छ । तर, त्यसो भन्दैमा बच्चा वा वृद्धवृद्धालाई नहुने भने होइन । बच्चाहरुको हकमा जन्मदै मुत्रनलीमा अवरोध भएमा वा मुत्रनली साँघुरो भएमा, पिसाबमा पटक–पटक संक्रमण भएमा, हाइपर प्याराथाइराइडिज्म भएका व्यक्तिको रगतमा क्याल्सियमको मात्रा बढी भएमा, शरीरमा युरिक एसिड धेरै भएमा मिर्गौलाको पत्थरी हुन सक्छ ।
मिर्गौलामा पत्थरीबाट जोगिने मुख्य उपाय भनेको प्रशस्त पानी पिउनु र बारम्बार पिसाब फेर्नु हो । मिर्गौलाले निकालेको पिसाबले तुरुन्तै निष्कासन पायो भने पत्थरी हुने सम्भावना क्षीण बन्छ । जबकि पिसाबमा कुनै अवरोध आयो वा रोकियो भने खतरा हुन्छ ।
बढीभन्दा बढी पिसाब निकाल्नका लागि बढी पानी पिउनै पर्छ । दिनमा कम्तीमा तीन लिटर पानी पिउने हो वा साढे दुई लिटर पिसाब निकाल्ने हो भने मिर्गौलाको पत्थरी हुने जोखिम स्वतः न्यून हुन्छ ।
यसबाहेक, फाइबरयुक्त खानेकुरा तथा ताजा फलफूलको सेवन, खानामा एनिमल फ्याट तथा प्रोटिनको मात्रा घटाएर तथा नुनको सेवन कम गरेर पनि जोखिम घटाउन सकिन्छ ।
यो पनि जानौं
यदि मिर्गौलामा युरिक एसिडका कारण पत्थरी भएको छ भने त्यस्ता पत्थरी एक्सरेमा देखिँदैन तर, अल्ट्रासाउण्डमा देखिन्छ । यस्ता पत्थरी औषधीद्वारा पगाल्न सकिन्छ ।
तर पत्थरी ६ एमएमभन्दा कम छ र त्यसले खासै दुःख दिएको छैन भने त्यसलाई नचलाउँदा पनि फरक पर्दैन । तथापि, उक्त पत्थरी पाँच–सात वर्षभन्दा पुरानो भएमा त्यसलाई हस्तक्षेप गर्न जरुरी छ ।