नेपाल र मलेसियाबीच श्रम सम्झौता, शून्य लागतमा रोजगारीको अवसर
नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न मलेसियाली पक्ष सहमत भएको वार्तामा सहभागी क्वालालम्पुरस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिए।
त्यस्तै मलेसियाका तर्फबाट गृह तथा मानव संशोधन मन्त्रालयका सहसचिव तथा नीति योजना महाशाखाका प्रमुख सहभागी थिए। वार्तामा नेपाली पक्षले नेपाली कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी/मुलुकले व्यहोर्ने गरी शून्य लागतमा रोजगारीको अवसर प्रदान गर्ने विषयलाई प्रमुखताका साथ उठान गरेको थियो।
त्यस्तै कामदारको सामाजिक सुरक्षा, न्यूनतम सेवा सुविधा, २४ घण्टे बीमा, स्वास्थ्योपचारलगायत मुद्दा पनि नेपालले राखेको थियो। यसअघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नेसम्बन्धी समझदारी ९एमओयु० को खाका तीन पटकसम्म आदानप्रदान भइसके पनि सम्झौताको केही बुँदामा सहमति जुट्न नसकेपछि गम्भीर छलफलका लागि नेपाली प्रतिनिधिमण्डल बुधबार मलेसिया प्रस्थान गरेको थियो।
मलेसिया जाने नेपाली कामदारसँग विभिन्न एजेन्सीका नाममा अवैध शुल्क लिएको भन्दै नेपाल सरकारले ती एजेन्सी खारेजी गरिदिएको थियो। यससँगै पाँच महीनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प हुँदै आएको थियो।
मलेसिया सरकारले प्रवेशाज्ञा शुल्कबापत रु ७०० मात्र तोकेको सन्दर्भमा विभिन्न एजेन्सीले स्वास्थ्य परीक्षण गर्न ३९ वटामात्र स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिँदै आएको थियो।
बायोमेट्रिक प्रणालीको नाममा प्रतिकामदार रु चार हजार ५००, स्वास्थ्य परीक्षणार्थ सफ्टवेयरमा नाम दर्ता गर्ने गरी मिग्रामका नाममा रु तीन हजार ४००, राहदानी सङ्कलन गरी नेपालस्थित मलेसियाको दूतावासम्म पुर्याउने प्रयोजनाका लागि वन स्टेप सेन्टर (ओइससी) को नाममा रु दुई हजार ८००, इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) को नाममा रु तीन हजार २०० तथा प्रवेशाज्ञा प्रक्रियाबापत (भिएलएन)को नाममा रु तीन हजार २०० गरी प्रतिकामदार रु १९ हजार ३२३ (मुअकर) सहित गैरकानूनी रूपमा असुलउपर हुँदै आएको थियो।
हालसम्म करीब ४३ लाख नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देशमा पुगेका छन्। नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य बनेको छ। वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा करीब ३० प्रतिशत कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
अझै पनि मलेसियामा करीब पाँच लाख नेपाली कार्यरत रहेको बताइएको छ।