मेलम्चीको पानी दुई महीना पछि काठमाडौँवासीले पिउन पाउने
काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले बताएका छन् । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ। त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ।
दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ। पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ। सो खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि शुरु भएको थियो । काम सकिएसँगै उपत्यकावासीले सहजरुपमा खानेपानी पाउने छन् ।
“मेलम्चीको पानी सुन्दरीजलमा रहेका पानी ट्याङ्कीमा ल्याएर खन्याइन्छ, त्यहाँ अहिले साढे आठ करोड लिटर पानी अटाउँछ, ट्याङ्की निर्माण हुँदैछ”, आयोजनका प्रमुख कँडेलले भने, “पहिलो वर्ष १७ करोड लिटर र तीन वर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा आउँछ।”
सुन्दरीजलको ट्याङ्कीबाट अन्य स्थानमा रहेका पुरानै ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण गरिन्छ।