के हो अल्जाइमर ? किन भयावह बन्दैछ यो रोग
नेपालमा अल्जाइमर रोगको बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन । तर पनि विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार विश्वमा करिब पाँच करोड मानिस अल्जाइमर रोगबाट पीडित छन् भने प्रत्येक वर्ष करिब एक करोड मानिस यो रोगको जोखिममा पर्ने गरेका छन् । भारतमा मात्र करिब चार लाख मानिसमा यो समस्या देखिएको छ ।
विश्व प्रत्येक तीन जनामध्ये दुई जनालाई यो रोगबारे ज्ञान तथा चेतना नभएका कारण विश्व स्वास्थ्य संगठनले अल्जाइमर रोगबारे जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउँदै आएको छ ।
यो रोग लाग्नुको कारणबारे यकिन नभएका कारण अल्जाइमर रोगलाई पूर्णतया निको पार्न सकिँदैन । न त यसको रोकथाम नै सम्भव छ । यद्यपि, औषधीकेा सेवनद्वारा यस रोगको लक्षणलाई कम गर्न सकिन्छ ।
सामान्यतया अल्जाइमर उमेर बढेपछि मानिसहरूमा देखिने एक प्रमुख रोग हो । उमेेर बढेसँगै मानिसहरूको मस्तिष्क विस्तारै खिएर तथा सुकेर जाने गर्छ । यो प्रकि्रया कुनै व्यक्तिमा छिटो हुन्छ भने कसैमा ढिलो हुने गर्छ । तथापि पैँसट्ठी वर्षको उमेर पारे गरेका मानिसहरूमा अल्जाइमरको समस्या धेरै देखिने भएकोले यसलाई एक प्रकारको कडा दीर्घकालीन रोग पनि भन्ने गरिन्छ । करिब दश प्रतिशत मानिसलाई मात्र यो रोग ६५ वर्ष पुग्नु अगावै हुने गर्छ ।
अल्जाइमर हुनुमा झण्डै ७० प्रतिशत कारण डिमेन्सिया भएकाले अल्जाइमरलाई डिमेन्सिया पनि भन्ने गरिन्छ । डिमेन्सियाका कारण मस्तिष्कका कोषिका विस्तारै खिएर स्मरणको कमी हुने समस्या निम्तन्छ ।
किन हुन्छ अल्जाइमर ?
उमेरको कारण बाहेक अल्जाइमर हुनुमा ७० प्रतिशत वंशाणुगत कारण हुने गर्छ । त्यसबाहेक, उच्च रक्तचाप, टाउकाको चोटपटक, मोटोपना लगायतका कारण पनि अल्जाइमर हुनसक्ने भएकाले पछिल्लो समय अल्जाइमर रोग विश्वका लागि नै ‘थ्रेड’ बन्दै गएको छ । त्यसैलाई मध्य नजर गरेर यसबारे जनचेतना जगाउन पनि जनचेतना फैलाउन आवश्यक छ ।
अल्जाइमर रोग लागेमा यस्ता लक्षण देखिने गर्छ ।
अल्जाइमर रोगको लक्षण
-बिर्सने -हालसाल तथा ४८ घण्टा भित्र गरेको काम तत्काल बिर्सने)
-सोच्ने क्षमतामा कमी आउने
-व्यवहारमा परिवर्तन
-बोल्न तथा निल्नमा कठिनाइ हुने
-उदासीपना बढ्ने
-यो समस्या बढ्दै गएमा व्यक्तिले वरिपरिको मान्छे समेत चिन्न छाड्ने ।
अल्जाइमर रोगको चरण
सामान्यतया अल्जाइमर रोगको तीन चरण हुन्छ ।
प्रारम्भिक चरण
प्रारम्भिक चरणमा रोगीको साथी, परिवार लगायतका अन्य व्यक्तिहरूलाई यो समस्या महसुस हुन सक्छ । यद्यपि यो रोग लागेका मानिसहरू सजिलै ड्राइभ तथा अन्य कार्य गर्न सक्छ । यसका बाबजुद पनि रोगीलाई कुनै कुरा स्मरण गर्न समस्या हुनसक्छ । र, आफूले जानेको शब्द वा आफूले प्रयोग गर्ने वस्तु कहाँ राख्ने गरेको छ भनेर बिर्सने, नाम सम्झन समस्या हुने, पढेको कुरा बिर्सने, कुनै योजना बनाउनमा असमर्थ हुने गर्दछ ।
मध्य चरण
अल्जाइमर रोगको मध्य चरणमा वर्षौंसम्म रहिरहन सक्छ । जति जति रोग बढ्दै जान्छ, व्यक्तिलाई उति नै धेरै हेरचाहको आवश्यकता पर्नसक्छ । किनभने अल्जाइमरबाट ग्रसित व्यक्ति प्रायः शब्दलाई लिएर दुविधामा पर्छ र अचम्मको व्यवहार गर्न थाल्छ ।
त्यसबाहेक यो, समस्या भएका व्यक्तिले आˆनो विगतलाई नै बिर्सने, मुडी हुने, घर तथा अफिसको ठेगाना पनि बिर्सने, मौसम तथा विशेष अवसरमा लुगा छान्नमा कठिनाइ हुने, दिसापिसाब रोक्न कठिनाइ महसुस गर्ने, रातको सट्टा दिनमा सुत्ने र रातभर बेचैन रहने तथा व्यवहारमा परिवर्तन देखाउन थाल्छ ।
अन्तिम चरण
यस चरणमा व्यक्ति वरिपरिको वातावरणप्रति प्रतिकि्रया जनाउन, वरिपरिका मानिससित बोलचाल गर्न तथा आˆनो गतिविधिलाई नियन्त्रण गर्न असमर्थ हुने गर्छ । परिणामस्वरूप उनीहरूको स्मरणशक्ति जति जति कम हुँदै जान्छ, उति नै परिवर्तन देखिन थाल्छ ।
र, उनीहरूलाई सधैभरि हेरचाह गर्नु पर्ने, वरिपरिको वातावरणको बारेमा लगातार स्मरण गराइरहनु पर्ने, खान, निल्न तथा बोल्न सिकाइरहनुपर्ने हुन्छ ।
बच्ने उपाय
अल्जाइमर रोगबाट बच्ने निश्चित उपाय छैन । वैज्ञानिकहरू यसको अनुसन्धानमा जुटेका छन् । यद्यपि मुटु रोगको जोखिम, कोलेस्ट्रोल नियन्त्रण, मोटापना नियन्त्रण तथा मधुमेहलाई नियन्त्रण गरेर पनि अल्जाइमरको जोखिम कम गर्न सकिन्छ । त्यसबाहेक, युवा अवस्थादेखि नै नियमित एक्सरसाइज गरेर पनि अल्जाइमरको जोखिमलाई कम गर्न सकिन्छ ।