Diabetes, के हो डायबिटिज ? जोगिन के गर्ने ?
निष्क्रिय जीवनशैली र अव्यवस्थित खानपानका कारण शरीरमा सुगरको मात्रा बढ्नुलाई डायबिटिज भनिन्छ । यसले शरीरका अन्य अंगलाई प्रभावित पारी विभिन्न समस्या निम्त्याउँछ ।
के हो डायबिटिज ?
डायबिटिजलाई टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । टाईप वान इन्सुलिन हर्मोनको अत्यधिक कमीले हुने समस्या हो । टाइप टुमा इन्सुलिनको कमीका साथै त्यसले प्रभावकारी रुपमा काम गर्न नसक्ने हुन्छ । यी दुवै कारणले डायबिटिजको समस्या भइरहेको हुन्छ । अहिले धेरै देखिने गरेको डायबिटिज टाइप टु हो । यो जीवनशैलीका कारण हुने गर्छ । इन्सुलिनले शरीरमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । यो प्याङ्क्रियाज भन्ने ग्रन्थीबाट उत्पादन हुन्छ । टाइप वानको समस्यामा हर्मोन नै उत्पादन हुँदैन भने टाईप टु मा भने हर्मोन उत्पादन भएपनि त्यसले काम गर्न नसक्ने समस्या देखापर्छ । यी दुवै समस्याले रगतमा सुगरको मात्रा बढ्छ ।
टाईप वान वंशााणुगत हो । कतिपयलाई बाल्यावस्थामा देखा पर्छ । कतिपय किशोर र युवाहरूमा पनि यस्तो समस्या देखिन्छ । कतिपयले भने भाइरस इन्फेक्सनका कारण पनि टाइप वान डायबिटिज देखा पर्ने बताउँछन् । उपचारको दृष्टिकोणबाट हेर्दा टाईप वान कठिन हुन्छ । किनकि बिरामीलाई सामान्य अवस्थामा राख्न नियमित रुपमा इन्सुलिन दिनुपर्ने हुन्छ । यसमा बिरामीलाई इन्सुलिनले नै बचाउने हो । दोस्रो प्रकारको डायबिटीज भने मानिसको जीवनशैलीका कारण देखा पर्ने हुन्छ । मोटोपन बढ्यो भने डायबिटिज हुने जोखिम उच्च हुन्छ । किनकि इन्सुलिनले सुगरलाई मानिसको शरीरको कोषभित्र पठाउने काम गर्छ । तर मोटो मानिसको शरीरमा इन्सुलिनले राम्रोसँग काम गर्न नसक्दा रगतमा सुगरको मात्रा बढ्ने हुन्छ । त्यसैले मोटोपन हुनु डायबिटिजको जोखिम बढाउनु हो ।
डायबिटिजको समस्या देखिएमा १० वर्ष र १५ वर्षसम्म पनि कस्तो असर हुन्छ भनेर अध्ययन गरिन्छ । मुख्य रुपमा डायबिटिज भइसकेपछि आँखा, मुटु, खुट्टा, नशा र मिर्गाैलामा आघात पर्न सक्छ । डायबिटिज नियन्त्रणमा आउन सकेन भने दीर्घकालिन रुपमा त्यसले यी अंगलाई निकै असर गर्नसक्ने भएकाले अहिल्यै यसबारे सचेतता अपनाउन जरुरी हुन्छ ।
डायबिटिजका लक्षणहरू
डायबिटिज भएपछि मुख सुक्ने, प्यास लाग्ने, राति पिसाब लाग्ने लगायतका लक्षण देखा पर्छन् । सुत्ने समयमा ज्यादा पिसाब लाग्छ भने मानिसहरू दुब्लाउदै जाने हुन्छ । यस्ता लक्षण देखिएमा सबैभन्दा पहिले डाक्टरमा जानुपर्छ । रगतमा सुगरको मात्रा परीक्षण गर्न‘पर्छ । रगत परीक्षणमा सुगर देखियो भने अरु परिक्षण शुरु गर्नुपर्छ । तर, डायबिटिजले पार्ने असर र देखिने लक्षण सबैमा एकनासको हुँदैन । कतिपयमा मिर्गौलामा खराबी आएपछि मात्रै डायबिटिज देखिन्छ । डाइबिटिजले पारेका असरका कारण रोगको पहिचान भएपछि बल्ल डायबिटिजको लक्षण देखिने पनि हुनसक्छ । डायबिटिजले शरिरका अंगहरूलाई गम्भीर आघात पारेपछि बल्ल त्यसको पहिचान भएका अवस्थाहरू पनि छन् ।
खुट्टामा देखिएको घाउ लामो समय निको नहुँदा डाक्टरले रगत जाँच्न पठाएपछि डायबिटिज भएको पत्ता लागेका धेरै घटनाहरू छन् । डायबिटिज भनेको रगतमा सुगरको मात्रा बढ्नु मात्रै होइन, यसले अरु समस्याहरू पनि निम्त्याउन सक्छ भनेर आम मानिसलाई सचेत गराउन जरुरी छ । कसैलाई नियमित रुपमा खुट्टा झमझमाउँछ भने सुगर चेक गर्नुपर्छ भनेर आम मानिसलाई ज्ञान हुन जरुरी छ । आँखामा समस्या भएमा वा शरीर अचानक दुब्लाउदै गएमा पनि चेक गर्नु आवश्यक हुन्छ ।
सानै उमेरदेखि उच्च रक्तचाप देखिएको छ भनेपनि रगतमा सुगर परीक्षण गर्नुपर्छ । शरीरको तौल घट्ने, प्यास लाग्ने, अस्वाभाविक रुपमा भोक लाग्ने, पिसाब बढी लाग्ने भएमा रगतमा सुगरको मात्रा परीक्षण गर्न आवश्यक हुन्छ । सबै लक्षण सबै मानिसमा हुदैन र कतिपयमा विना लक्षण पनि डायबिटिज हुन सक्छ । हामीले नेपालमा जति मानिसहरू डायबिटिज भएको छ भनेर अनुमान गछौं, त्यति नै संख्यामा डायबिटिज भएको तर त्यसको पहिचान हुन नसकेकाहरू छन् । समयमै नियन्त्रण गर्न सकिएन भने यसले भयावह स्थिति नै ल्याउने खतरा रहन्छ ।
डायबिटिज हुने कारणहरू
सानै उमेरका बालबालिकादेखि नै आवश्यक भन्दा बढी मोटाउने समस्या देखिएको छ । अर्कोतर्फ शाररिक परिश्रम कम छ । बालबालिकाहरू घरको कोठामै टिभी हेर्छन् । बाहिर खेल्दैनन् वा खेल्ने अवस्था पनि छैन । खेतमा उत्पादन भएका अन्नहरू कारखानामा प्रशोधन भएर आइपुग्छन् । मानिसहरू दबाब र तनावमा काम गरिरहेका हुन्छन् । तनावका कारण स्ट्रेस हर्मोनले डायबिटिजको सम्भावना बढाउँछ । मानिसलाई आराम हुँदैन भने सधै दौडधुपमा काम गरिरहेका हुन्छन् । तनावले मोटोपना बढाउँछ भने जसले गर्दा डायबिटिजको सम्भावना हुन्छ । मानिसले तारेको चिल्लो खाने, चुरोट खाने लगायतका कारण समस्या देखिएको छ ।
डायबिटिजबाट जोगिन के गर्ने ?
टाइप २ भएकाले उचाइ अनुसारको तौलमा ध्यान दिनुपर्छ । खानेकुरामा सलाद ज्यादा खाने, सागपात खाने, खानापछि हिड्ने गर्नुपर्छ । डायबिटिज हुनासाथ जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । शारीरिक परिश्रम बढाउनुपर्छ आराम घटाउनुपर्छ । चिकित्सकले सिफारिस गरेमा नियमित औषधि लिनुपर्छ । एकपटक देखिएर नियन्त्रण भएकाहरूमा भने सुगर मात्र नियन्त्रण नगरी युरिक एसिड, लिभर लगायतका नियमित परीक्षण गर्नुपर्छ । डायबिटिज भएपछि सुगर मात्रै नियन्त्रण नभई अरु पक्षबारे पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । नियन्त्रणमा आएपछि पनि उसले नियमित रुपमा स्वास्थ्यमा सचेतना अपनाउनुपर्छ ।
डायबिटिज देखिएको सुरुको ४–५ वर्ष त्यसलाई नियमित नियन्त्रणमा राख्न सकियो भने शरीरका अंगहरूमा गर्ने असरको दर कम हुन्छ । डायबिटिज भएकोमा सबैजसोमा ब्लड प्रेसरको समस्या देखिन्छ । उच्च रक्तचाप देखिएका र ४० वर्ष उमेर पुगिसकेकाहरूले पनि डायबिटिज भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । परिवारमा सुगरको हिस्ट्रि छ भने त्यस्ता व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । डायबिटिज र प्रेसर दुवैले किड्नीमा असर गर्न सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्छ । डायबिटिजलाई मुटुरोगको ठूलो जोखिम पनि मानिन्छ । एकपटक हर्ट एट्याक भएकालाई फेरि हुने जति जोखिम हुन्छ त्यति नै डायबिटिज भएकालाई पनि जोखिम रहन्छ ।
अर्कोतफ हामी नियमित रुपमा गुलियो खाइरहेका हुन्थ्यौं । हाम्रो शरीरका लागि यो आवश्यक छैन । नखाँदा पनि फरक पर्दैन । नेपालमा छिटो र सस्तो हुने भएकाले जंकफुड बढिरहेको छ । यसलाई रोक्नुपर्छ । चुरोट नखानेको दाँजोमा चुरोट खानेलाई डायबिटिजको जोखिम ज्यादा हुन्छ । डायबिटिज भइसकेकाहरूलाई आर्थिक भार पनि निकै छ । यस्ता बिरामीलाई सरकारले पनि सहुलियतमा औषधि दिने लगायतका काम गर्नुपर्छ । डायबिटिज भइसकेपछिका समस्या अनेक छन् । सुगरका कारण हुने अरु शारीरिक समस्याहरूले उपचार खर्च महंगो बनाइदिन्छ । डायबिटिजको संक्रमण भइसकेपछि मानिसको कार्यक्षमतामा पनि ह्रास आउने खतरा रहन्छ । त्यसैले डायबिटिज हुनुभन्दा पहिले हुनै नदिनु बुद्धिमानी हुन्छ ।
-Source :Sidhakuranepal.com
डाक्टरहरू डा. मनिल बज्राचार्य, डा. बुद्ध कार्की, डा. अलर्क देवकोटा ‘रजोरिया’ र डा. दीपक मल्लसँग कुराकानी गरी तयार पारिएको सामग्री ।