Swine Flu & HongKong Fluसप्तरीमा स्वाइन फ्लू र हङकङ फ्लूको भाइरस,सतर्क रहन सर्वसाधारणलाई अपील !
सप्तरीमा स्वाइन फ्लू र हङकङ फ्लूको भाईरस फेला परेको छ। कञ्चनरुप र हनुमाननगर नगरपालिकामा देखिएको रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लू) र ‘एचथ्रिएनटु’ (हङकङ फ्लू) को भाइरस भेटिएको हो। कञ्चनरुपका १८ र हनुमाननगरका ६ जनामा गरिएको परीक्षणका क्रममा कञ्चनरुप ७ बलुवाका ६० वर्षीय हरिलाल साहमा ‘स्वाइन फ्लू’को संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
कञ्चनरूपका ७ का १४ वर्षीय दिवश बस्नेत, वडा नम्बर ३ का १४ वर्षीय किशोर राम र वडा नम्बर ९ का १४ वर्षीय आमोदकुमार रामको अकस्मात मृत्यु भएपछि अस्पतालमा स्वास्थय परीक्षण गर्नेको भिड बढेको छ।
रुघा र ज्वरोकै कारण बिरामीको मृत्यु हुन थालेपछि स्थानीयमा त्रास फैलिएको हो। उनीहरुकोे मृत्युको कारण स्वाइन फ्लू नै भएको यकिन गर्न बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्ला दैवी प्रकोप उद्दार समितिले प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।